अभिनेत्री पूजा शर्माले पर्दामा जति पनि अभिनेतासँग काम गरेकी छन्, प्रायःसँग राम्रो सम्बन्ध छैन । अभिनेता आर्यन सिग्देलदेखि प्रदीप खड्कासम्म उनको सम्बन्ध सन्तुलित छैन । फिल्म ‘मधुमास’ मा उनले आर्यनसँग रोमान्स गरेकी थिइन् । गएको वर्ष फिल्म ‘कायरा’ हेर्न हल जाँदा ठूलो आवाजमा हाँसेर दर्शकलाई समेत डिस्टर्भ गरेको खबर बाहिरिएपछि उनीसँग आर्यन रुष्ट छन् ।
दर्शकको मनमा बस्न सफल फिल्म ‘प्रेमगीत’ जोडी प्रदीपसँग त झन् उनको बोलचाल नै छैन । फिल्म ‘म यस्तो गीत गाउँछु’ मा जोडी बाँधिएको अभिनेता पल शाहसँग पनि उनको सम्बन्ध बिग्रिएको चर्चा चलेको थियो । तर, यो कुरालाई गलत सावित गर्दै दुईले फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा काम गरेका छन् । पूजाको जोडी सबैभन्दा रुचाइयो भनेको अभिनेता आकाश श्रेष्ठसँग हो ।
‘रामकहानी’ मा दुईबीच पहिलो पटक सहकार्य भएको थियो । यो फिल्ममा उनीहरुको जोडीलाई निकै रुचाइएको थिए । यसपछि उनीहरुलाई लिएर फिल्म बनाउन चाहने निर्माताहरुको लाइन लामो छ । गएको कात्तिकमा आकाश र पूजा अभिनीत फिल्म ‘पोइ पर्यो काले’ प्रदर्शनमा आएको थियो । अब यी दुईको दुई फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना विर्सना’ प्रदर्शन हुन बाँकी छ ।
फिल्म ‘रामकहानी’ पछि उनीहरुले लगातार एकपछि अर्को फिल्ममा काम गरिरहेका छन् । जसकारण बजारमा यी दुई प्रेम सम्बन्धमा रहेको चर्चा छ । तर, यो कुरा दुवैले खण्डन गर्दै आएका छन् । पूजा र आकाश एकअर्कालाई मिल्ने साथी मात्र बताउने गर्दछन् । तर, ‘सम्झना विर्सना’ को छायांकन सकेर काठमाडौं फर्किने क्रममा उनीहरुबीच मनमुटाव भएको खबर चुहिएको छ ।
शनिवार राजधानीमा आयोजना भएको पाँचौ ‘कामना अवार्ड’ मा अभिनेत्री पूजा एक्लै पुग्नुले पनि बजारमा चलेको हल्लामा सत्यता रहेको कतिपयले अनुमान लगाए । किनकि, यसअघि पूजा र आकाश प्रायः सार्वजनिक कार्यक्रममा एकसाथ जाने गर्दथे । तर, ‘कामना अवार्ड’ मा उनी एक्लै पुगेकी थिइन् । उनी कार्यक्रममा पुगेको झण्डै एक घण्टापछि अभिनेता पल शाह आएका थिए ।
‘कामना अवार्ड’ मा पल र पूजाले आउँदो फागुन २३ गतेबाट प्रदर्शनमा आउन लागेको यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘म यस्तो गीत गाउँछु २’ को ‘तिम्रो घरको वरिपरि’ बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । दुईले नृत्य गर्दा कार्यक्रम हल तालीले गुञ्जिएको थियो । तर, पुजा र आकाश एकसाथ नदेखिँदा भने उनीहरुबीच सम्बन्ध बिग्रिएको चर्चामा मलजल मिलेको छ ।



































