आजकल सवारी साधनको निकै महत्व हुने गर्दछ, सवारी साधन बिना कामकाजी ब्यक्तिलाई निकै कठिनाई हुने गर्दछ । सवारी साधनको सुख शुद्ध रूपमा शनि र शुक्रमा निर्भर हुन्छ । शनिको कृपा नभएका राशिका ब्यक्तिले सवारी खरिद गरेमा यसले अनावश्यक तनाव बढाउँछ । सवारी साधनको सुखमा शुक्रको योगदान हुने भएकाले शुक्र सही भएको बेलामा मात्र यसको खरिद गर्न सकिन्छ ।

राशि अनुसारको सवारी साधनको समस्या निराकरण गर्ने उपाय निम्नानुसार छन् :

मेष लग्न– मेष लग्नका ब्यक्तिलाई सवारीको योग र सुख दुबै हुने गर्दछ । यी लग्नका ब्यक्तिलाई नीलो रंगको सवारी लाभदायक हुन्छ । सवारी साधनका कारण कुनै सास्ती बेहोर्नु भएको छ भने मेष लग्नका ब्यक्तिले सवारीमा हनुमानको चित्र वा प्रतिमा राखेमा यो फलदायी हुनेछ ।

वृष लग्न– अधिकाशं वृष लग्नका ब्यक्ति सवारी साधनको खराबी र यसको गडबडीका कारण तनाव झेल्नु पर्ने हुन्छ । यी लग्नका ब्यक्तिले सेतो रंगको सवारी साधनको खरिद गरेमा यसले लाभ दिन्छ । सवारीमा शिवजी चित्र वा प्रतिमा लगाएमा लाभदायक हुनेछ ।

मिथुन लग्न– मिथुन लग्नका ब्यक्तिले एक पटक खरिद गरेको सवारी साधन फेर्नु अघि निकै विचार गर्नुपर्छ । किनेको सवारी प्रयोगमा आउन्जेल यसको प्रयोग गर्नुपर्छ । यी लग्नका ब्यक्तिलाई क्रिम वा हरियो रंगको सवारी उत्तम हुन्छ । सवारीमा हुने समस्या निराकरणका लागि गणेशको स्थापना गर्नु पर्दछ ।

कर्कट लग्न– कर्कट लग्नका ब्यक्तिलाई राम्रो सवारीको उपयोग गर्ने योग हुन्छ । यी लग्नका ब्यक्तिलाई सेतो वा रातो रंगको सवारी अनुकूल रहन्छ । सवारीमा आउने समस्या निराकरणका लागि हनुमानको स्थापना उत्तम हुन्छ । यी लग्नका ब्यक्तिले चाबीमा समेत हनुमानको चित्र राख्नु उत्तम हुन्छ ।

सिंह लग्न– सिंह लग्नका ब्यक्तिलाई सवारीको समस्या भइरहन्छ । यी लग्नका ब्यक्तिले खैरो वा मधुरो रंगका सवारी साधनले लाभ दिन्छ । सवारीमा हुने समस्या निराकरणका लागि गायत्री मन्त्र लेखेर सवारीमा लगाउनु पर्दछ । सवारी चलाउँदा गायत्री मन्त्रको जाप गरे पनि लाभदायक रहन्छ ।

कन्या लग्न- कन्या लग्नका ब्यक्तिलाई प्रायः सवारी साधनको सुख योग रहन्छ । यी लग्नका ब्यक्तिलाई सेतो वा नीलो रंगको सवारी लाभदायक हुन्छ । सवारीमा आउने समस्या निराकरणका लागि भगवान कृष्णको प्रतिमा वा चित्र सवारीमा राखेमा यसले लाभ दिन्छ ।

तुला लग्न– तुला लग्नका ब्यक्तिलाई सवारीको योग निकै लाभदायक हुन्छ । यी लग्नका ब्यक्तिलाई कालो वा निलो रंगको सवारी साधन फाप्ने गर्दछ । सवारीमा समस्या आएको खण्डमा सवारीको अगाडि साना स्वस्तिक चिन्हको प्रारुप राख्नाले लाभ दिन्छ ।

वृश्चिक लग्न– वृश्चिक लग्नका ब्यक्तिलाई सवारी साधनको सुख औसत मात्र हुन्छ । यी लग्नका ब्यक्तिलाई सेतो रंगको सवारी निकै फाप्ने गर्दछ । सवारीमा आउने समस्या निराकरणका लागि वहानमा शिवजी चित्र वा प्रतिमा राख्नुपर्दछ ।

धनु लग्न– धनु लग्नका ब्यक्तिलाई विवाहपछि मात्र बाहानको सुख योग राम्रो हुन्छ । यी लग्नका ब्यक्तिलाई रातो वा सिल्भर रंगको सवारी निकै फाइदाजनक हुने गर्दछ । सवारीमा हनुमान चालिसा राख्नाले सवारीको समस्याबाट लाभ मिल्ने गर्दछ ।

मकर लग्न– मकर लग्नका ब्यक्तिले सवारी खरिद गर्नु पूर्व निकै सावधानी अपनाउनु पर्छ । रातो वा नीलो रंगको सवारी खरिद गरेमा मकर लग्नका ब्यक्तिलाई फाप्ने गर्दछ । सवारीमा श्रीकृष्णको विग्रह वा प्रतिमा राख्नाले सवारीको समस्या निराकरण हुनेछ ।

कुम्भ लग्न– अधिकाशं कुम्भ लग्नका ब्यक्तिलाई आफ्नोभन्दा पनि अरुको सवारी लाभदायक रहन्छ । विवाहपछि मात्र यी लग्नका ब्यक्तिले सवारी खरिद गर्नु उत्तम हुन्छ । यी लग्नका ब्यक्तिलाई नीलो, सेतो वा खैरो रंगको बहान फाप्ने हुन्छ । सवारी साधनमा आउने समस्या निराकरणका लागि शिवजीको चित्र लगाउँनु पर्दछ ।

मीन लग्न– मीन लग्नका ब्यक्तिले सेकेण्ड हैन्ड सवारी साधन खरिद गर्नु हुँदैन । अन्यथा यसले निकै समस्या निम्त्याउने गर्दछ । सुनौलो, पहेलो वा सेतो रंगको सवारीले फाप्ने गर्दछ । सवारीमा समस्या आएमा हनुमानजीको चित्र राखेमा यसले समस्या हटाउने गर्दछ ।

तपाईको प्रतिक्रिया