विराटनगर : उच्च प्रविद्यि र उचित व्यवस्थापनको अभावमा परम्परागत ढङगले सञ्चालन भईरहेका चलचित्र घरहरु क्रमशः संकटमा पर्दै गईरहेका छन । प्रदेश नं. १ को राजधानी विराटनगरमा कुनै समय आधा दर्जनभन्दा बढी चलचित्र घरहरु सञ्चालनमा रहेका थिए । तर नयाँ र उच्च प्रविद्यियुक्त सुविधा सम्पन्न सिनेमा हलहरुको स्थापनासँगै पछिल्लो समय सञ्चालनमा रहिरहेका चलचित्र घरहरु संकटमा पर्दै गएका छन । यसको ज्वलन्त उदाहरणको रुपमा विराटनगरको हिमालय टाकिज रहेको छ ।

औद्योगिक नगरी र प्रदेश नं. १ को राजधानी समेत रहेको विराटनगरमा कुनै समय हिमालय टाकिज, अरुण सिनेमा हल, जलजला सिनेमा हल र ईन्द्र सिनेमा हल लगायतका सिनेमा हलहरु चर्चामा थिए । चलचित्र हेर्न मात्रै दर्शकहरुको भीड थामिनसक्नु हुन्थ्यो । घण्टौ लाईन लागेर होस वा ब्लाकमा चलचित्रको टिकट खरिद गरेर होस चलचित्र भने हेरिन्थ्यो । तर बदलिँदो युगमा आधुनिक विज्ञान र प्रविद्यिको विकास र विस्तारसँगै विराटनगरको ईतिहाससँग जोडिएका र परम्परागत रुपमा सञ्चालित ती हलहरु क्रमशः सङकटमा पर्दै गएका छन ।

वि.सं. २०२५ सालमा लिखमिचन सेठियाद्धारा हिमालय टाकिज प्रा.लि को नामले स्थापना भएको हिमालय सिनेमा हलको अस्तित्व पनि आझेलमा पर्दै गएको छ । विकास र परिवर्तनको क्रममा नयाँ सुविधा सम्पन्न उच्च प्रविद्यियुक्त हलहरुको स्थापना र टेक्नोलोजीको विकाससँगै हलको अस्तित्व ओझेलमा पर्दै गईरहेको हो । विराटनगरको महेन्द्र चौक र ट्राफिक चौक जोडने हिमालय रोडमा अवस्थित रहेको उक्त सिनेमा हल विराटनगरको ऐतिहासिक सिनेमा हलको रुपमा प्रख्यात छ । तर हाल यस सिनेमा हलमा दर्शकहरुले चलचित्र हेर्न रुँचाउनै छाडेका छन । हलको व्यापार पनि एक्कासी घटेको छ । जम्मा ८ सय ३६ सिट क्षमता भएको हिमालय सिनेमा हलले मुख्यतः अंग्रेजी, नेपाली, हिन्दी र भोजपुरी चलचित्रहरु प्रर्दशन गर्दै आएको छ । हलले आईतबार देखि शुक्रबारसम्म दैनिक १२, ३ र ६ बजेको शो मा नयाँ रिलिज भएका विभिन्न चलचित्रहरु प्रर्दशन गर्दै आएको छ भने शनिबार बिहान ८ बजे पनि ५० प्रतिशत छुटमा चलचित्र प्रर्दशन गर्दै आईरहेको छ । तर आजको आधुनिक युगमा ईन्टरनेट र युट्युब जस्ता विज्ञान र प्रविद्यिको कारणले पनि हल बन्द हुने अवस्थामा आईपुगेको हिमालय टाकिजका व्यवस्थापक मनिस कुमार मण्डल बताउनुहुन्छ ।
 
हाल विराटनगरमा सञ्चालनमा आएका नयाँ सिनेमा हलहरुले दर्शकहरुलाई आरामदायी र सुतेर पनि चलचित्र हेर्न मिल्ने रिक्लाईनर सिट, डेप्थ क्यु प्रविद्यियुक्त स्क्रिन र हाई क्वालिटीका डोल्बी एटमस साउण्ड सिस्टम लगायतका सेवा सुविद्याहरु प्रदान गरिरहेका छन । कारण स्वरुप हिमालय हलले अन्य सिनेमा हलहरुको तुलनामा सस्तो टिकट दरमा चलचित्र प्रर्दशनी गर्दै आएको भएता पनि चलचित्र हेर्ने बिषयमा दर्शकहरुको प्रमुख रोजाई विराटनगरमा हालसालै सञ्चालनमा आएका सिटी सिनेमा, सेन्ट्रल मल्टिप्लेक्स र क्यु.एफ.एक्स सिनेमा बन्न पुगेको छ । विराटनगरका स्थानीयहरुले वर्तमान समयमा चलचित्र हेर्ने बिषयमा टिकट दर सस्तो र महङगो भन्दा पनि हलले प्रदान गर्ने सेवा सुविद्या उत्कृष्ट र गुणस्तरयुक्त हुनुपर्ने बताउँछन । उनीहरुले हिमालय हलको अवस्था जीर्ण बनेको भन्दै आफुले त्यहाँ चलचित्र हेर्न मन नपराएको जिकिर गर्छन । 

यस्तो अवस्थामा विराटनगरलाई सिनेमा हबको रुपमा विकसित गर्न तथा परम्परागत रुपमा चलिआएका र ईतिहासको पानासँग जोडिएका चलचित्र घरहरुको स्तरोन्नति र विकास गर्नुपनि अत्यन्तै आवश्यक देखिन्छ ।

तपाईको प्रतिक्रिया