काठमाडौं : आज १४ फेब्रुअरी। आजको दिन प्रणय दिवसको रूपमा संसारभर मनाइँदैछ। नायिका छुल्ठिम गुरुङ प्रेमलाई जिन्दगीको महत्वपूर्ण तत्वको रूपमा बुझ्छिन्। भन्छिन्, ‘प्रेम यही नै हो भनेर व्याख्या गर्न त सकिँदैन। तर जीवनको अभिन्न तत्त्व हो। प्रेमबिनाको जीवन कल्पना गर्न पनि सकिन्न तर प्रेम मात्रै भएर पनि जिन्दगी चल्दैन।’

टिनएजमै गायक धीरज राईसँग प्रेमविवाह गरेकी छुल्ठिमलाई पहिलो पटक प्रेमको महसुस भने हिन्दी फिल्म हेर्ने क्रममा भएको थियो। बलिउडका रोमान्टिक फिल्म हेर्दा नायिकाको ठाउँमा आफैंलाई राखेर हेर्थिन्। वीरगन्जमा हुर्किएकी उनका लागि बुवा सुपरम्यान थिए। भन्छिन्, ‘मैले सबैभन्दा पहिले बुवालाई प्रेम गरे। हिरो लाग्थ्यो बुवा मलाई। मलाई माया गर्नेहरूमा पनि मैले बुवाको क्वालिटी खोज्छु।’

छुल्ठिम पहिलो प्रेम सम्झँदै भन्छिन्, ‘पहिलो डेट त म धीरजजी सँगै गरेकी थिएँ। जम्मा चार पटकको भेटपछि टिनएजमै बिहे गरियो। सायद कच्चा उमेरमै गरेको बिहे भएर होला, लामो समय लैजान सकिएन।’ छुल्ठिम अहिले सिंगल नै छिन्। विवाहको धङधङ्गीबाट भर्खरै मात्रै बाहिर निस्किएकाले पनि होला, तत्कालै कसैसँग सम्बन्ध गाँसिहाल्ने हतारो छैन उनलाई। जबसम्म प्रेममा विश्वाससँगै एकअर्काको कामको सम्मान हुँदैन, तबसम्म प्रेमको मिठास नमिल्ने उनको तर्क छ।

पोखराका नवीन लम्साल, पूर्वप्रेमिकाको खुब ख्याल गर्ने बानी अहिलेसम्म सम्झिरहन्छन्। ओस्कार इन्टरनेसनल कलेजबाट फिल्म स्टडीमा स्नातक सकाएका उनको ‘चिसो एस्टे«’ फिल्मको भर्खरै मात्रै छायांकन सकियो। यसअघि उनले कारखाना, राहदानी र ओपन विन्डो फिल्ममा पनि अभिनय गरिसकेका छन्। आफ्नो विगतलाई नवीनले ब्युटिफुल मोमेन्टको रूपमा सम्झिन्छन्। ‘टिनएज लभ लामो समय टिकाउनै गाह्रो,’ उनले प्रष्ट्याए। उनी फिल्मी क्षेत्रमा प्रवेश गरेको सुरुआतको समय थियो। एक एअर होस्टेससँग सम्बन्ध गाँसियो। सायद दुवैमा सम्बन्ध अघि बढाउने परिपक्वता आइसकेको थिएन। त्यसैले सहमतिमै छुट्टिए। नवीन भन्छन्, ‘हरेकको जीवनमा पहिलो प्रेमको महत्त्व बढी हुन्छ। छुट्टिने दिन हामी खुब रोएका थियौ। बोली नफुटेर आँसुमात्रै झरिरहने साँच्ची अजीव हुने रहेछ यो माया।’ उनकी प्रेमिका परिवारसँग अमेरिका उडिन् भने उनी करियरमै दौडिरहे। छुटेर गएको पाँच वर्ष भयो तर हरेक जन्मदिनमा पहिलो ‘विस’ उनै पूर्वप्रेमिकाले गर्छिन् रे। नवीनलाई अहिले प्रेमका प्रपोज नआएका हैनन् तर प्रेमदेखि पूरै बेखबर बनिदिए। कहिले एक्लै लामो यात्रामा निस्कन्थे त कहिले साथीहरूसँग रमाइलो गरेरै पाँच वर्ष बित्यो। भन्छन्, ‘अब बल्ल कोही आवश्यक छ भन्ने लागिराछ। हेरौं समयले कहिले जुराउँछ।’

भ्यालेन्टाइन डे को दिन खासै केही विशेष योजना नबनाएका नवीन प्रेमलाई जिन्दगीको रंगीन पक्षको रूपमा बुझेका छन्। प्रेमको अनुभव नै अजीवको। जति भेटे पनि धीत नमर्ने, गफ गरे पनि कुरा नसकिने। बेग्लै उन्माद, बेग्लै छटपटी। प्रेम महिला र पुरुषका बीचमा मात्रै हुन्छ भन्ने लाग्दैन उनलाई। परिवार, साथीभाइ, आफन्त सबैसँग प्रेम बाँड्न सकिन्छ।

सेड्स द ब्युटी सैलुनकी मेकअप आर्टिस्ट सिर्जना कार्कीले २० वर्षअघि काठमाडौंका सत्यन श्रेष्ठसँग प्रेम विवाह गरिन्। उनीहरूका दुई सन्तान छन्। पुतलीसडकमा जब सत्यनले पहिलो पटक सिर्जनालाई देखे। भित्रैदेखि मन पराए। सिर्जनाको युवा मनले पनि सत्यनलाई रोजिसकेको थियो। लजालु स्वभावका सत्यन सिर्जनाका लागि दिलको राजा बने। दुई दशकको वैवाहिक जीवनमा नमिठो पल खासै नआएको बताउने सिर्जना प्रेमलाई विश्वासले जित्नु पर्नेमा जोड दिन्छिन्। कतिपय ससाना कुराहरू बेवास्ता गर्न पनि सिक्नुपर्छ। राजधानी दैनिकमा फोटो पत्रकारका रूपमा कार्यरत सत्यन सिर्जनाको काम गर्ने शैली, मायालु बानीको खुलेर प्रशंसा गर्छन्। भन्छन्, ‘उनले मेरो जीवनको लय नै बदली दिइन्।’

०००

तपाईको प्रतिक्रिया