एजेन्सी । नयाँ ‘स्मार्ट स्किन’ प्रविधि मार्फत हामीले ल्यापटपको स्क्रिनबाट आफूले माया गर्ने मान्छेलाई छोएको अनुवभ गर्न सक्नेछौँ भने प्रत्यक्ष रुपमा तिनको प्रतिक्रिया समेत हेर्न सक्नेछौँ । सयौँ माइल टाढा भएपनि हामीले त्यसरी छोएको अनुभव गर्न सक्नेछौँ । अहिलेसम्मका प्रविधिहरुले हामीलाई दुनियाँको एउटा कुनामा बसेर अर्को कुनाको मानिससँग अन्र्तक्रिया गर्न मिल्ने बनाइदिएको छ तर हाम्रा डिभाइसहरुले छोएको अनुभव भने दिलाउन सक्दैनन् ।

साथी र परिवारजनबीच शारीरिक छुवाइले भावनात्मक सम्बन्ध स्थापित गर्छ । तर यस किसिमको वास्तविक अनुभूति भर्चुअल रुपमा प्रस्तुत गर्न विज्ञान वर्षौँदेखि लागि परेको छ । यसबीच विभिन्न किसिमका अनौठा इलेक्ट्रोनिक स्किन लगायतका उपकरणहरु विकास भएका हुन् जसले दुवैतर्फबाट छुवाइको अनुभूति भने दिलाउन सकेका छैनन् । जर्नल नेचरमा बुधबार प्रकाशित एक अध्ययनमा नर्थवेस्टर्न युनिभर्सिटीमा बायो–इन्जिनियरिङका प्रोफेसर जोन रोजर्स र उनका टोलीले एउटा नयाँ वायरलेस ब्याट्री फ्रि स्मार्ट स्किनबारे रिपोर्ट गरेका छन् जसले यस किसिमको प्रविधिको दिशा बदल्न सक्ने बताइएको हो ।

एक नरम, लचिलो वस्तुमा जडान गरिएको भाइब्रेटिङ डिस्कको अति तिव्र प्रोग्रामेबल डिस्प्लेको माध्यमबाट यस स्मार्ट स्किनले शरीरका सेन्सरी इन्पुटमा छुवाइको अनुभूति जगाउन सक्नेछ । यति मात्र नभएर त्यसले प्राकृतिक रुपमा त्यसरी छुँदा कस्तो महसुस भइरहेको छ भन्ने पनि प्रस्तुत गर्न सक्ने रोजरको भनाइ छ । उनी भन्छन्, “यसले हामीले हाम्रो औँलाले छालालाई नम्र तरिकाले छुँदा जस्तो महसुस हुन्छ त्यस्तै अनुभव दिलाउँछ ।”

अध्ययनका अनुसार यस किसिमको स्मार्ट छालाको उपयोग सामाजिक संजाल, मनोरञ्जन, भिडियो गेमिङ र भर्चुअल रियालिटीको क्षेत्रमा व्यापक हुनेछ भने शारीरिक रुपमा अशक्त मानिसहरुलाई पनि टेलिमेडिसिनका रुपमा छुवाइको अनुभूति दिलाउन सकिनेछ । त्यसैगरी कार्यालयमा भर्चुअल रुपमा बैठक बसिरहेका कर्मचारीहरुले हात मिलाउन सक्नेछन् र जवाफमा आफ्नो हात पनि समातिएको अनुभूति गर्न पाउनेछन् । जोन्स हप्किन्स युनिभर्सिटीका खोजकर्ता ल्युक असबर्न भन्छन्, “यो खबरमा सबैभन्दा उत्साहपूर्ण कुरा के छ भने हामीले यसमार्फत वायरलेस सेवा उपलब्ध गराउन सक्नेछौँ । त्यसैले म यो प्रविधिले आउँदा वर्षहरुमा कसरी प्रगति गर्नेछ भन्ने कुरा जान्न धेरै उत्साहित छु ।” उनी सो अध्ययनमा भने सहभागी छैनन् ।

ओसबर्नको टोलीले यो भन्दा अगाडि ‘इ–डर्मिस’ नामक एक सेन्सरी फिडब्याक उपकरण निर्माण गरेको थियो जुन प्रोस्थेटिक हातमा फिट हुन सक्छ र नसाहरु जस्तै काम गर्न सक्छ । यसले हातखुट्टा नभएकाहरुलाई दुखाइको अनुभूति दिलाउन सक्छ । रोजर्स भन्छन्, “नयाँ स्मार्ट स्किनमा भने हात खुट्टा नभएकाहरुले कुनैपनि वस्तुलाई समात्न कति बल प्रयोग गर्नुुपर्छ भन्ने बुझ्नेछन् र यसका साथै सो वस्तु कत्तिको तातो वा चिसो छ भन्ने पनि थाहा पाउन सक्छन् । यति मात्र नभएर हामीले यो डिभाइसलाई शरीरका विभिन्न भागमा राखेर वायरलेस रुपमा एकैपटक कन्ट्रोल गर्न सक्नेछौँ । ” यसरी दुई मानिसबीच विश्वासयुक्त सम्बन्ध स्थापित गराउन छुवाइ धेरै महत्वपूर्ण रहेको हुँदा वास्तविक स्पर्सको भविष्य पक्कैपनि रोमाञ्चक रहने बताइएको छ । सिएनएन

तपाईको प्रतिक्रिया