काठमाडौं । यस वर्षको महाशिवरात्रिको पूर्वसन्ध्यामा मंगलबार शोभायात्रा गरिएको छ । नेपाल भ्रमण वर्षसँग जोडेर महाशिवरात्रिलाई भव्य रूपमा मनाउने योजनाअनुसार मंगलबार शोभा यात्रा गरिएको हो ।

महाशिवरात्रिमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित शोभायात्रा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले मंगलबार बिहान पशुपतिनाथ मन्दिरको पश्चिम गेटबाट सुरु गरेको शोभायात्रा वनकाली, तिलगंगा, तीनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला हुँदै हंसमण्डपसम्म पुगेको थियो ।

यात्रामा नेपाल चलचित्र कलाकार संघ, साधुसन्त, महन्त, सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ब्यान्ड टोलीको पनि सहभागिता थियो । यसैगरी कोषका पदाधिकारी र कर्मचारी, नेपाल वेद विद्याश्रमका शिक्षक, विद्यार्थी र महाशिवरात्रि मूल समारोह समारोह समितिलगायतको सहभागिता थियो ।

महाशिवरात्री भव्य रुपमा मनाउन यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूलसमारोह समिति गठन गरिएको छ । महाशिवरात्रीको विशेष तयारीका लागि विभिन्न ११ वटा उपसमिति गठन गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया