काठमाडौँ : पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रीको तयारी विवरण प्रस्तुत गरेको छ । बुधवार पत्रकार सम्मेलनमार्फत् कोषले तयारीे विवरण प्रस्तुत गरेको हो । महाशिवरात्रीको दिन पशुपति क्षेत्रमा नेपाल स्काउटसहित पाँच हजार स्वयंसेवक परिचालन गरिने भएको छ भने तिन तहमा ६ हजार सुरक्षाकर्मिहरुको ब्यबस्था गरिएको छ ।

साथै पशुपति क्षेत्रमा महाशिवरात्रीको दिन गाँजा-भाङ, जाँड रक्सी जस्ता नशालु पदार्थ सेवान गर्नसमेत प्रतिबन्ध लगाइएको छ। ‘पशुपति क्षेत्रभित्र मांस, मदिरा तथा लागुपदार्थ निषेधित क्षेत्रमा गाँजा-भाङ, जाँड-रक्सी सेवन नगर्न अनुरोध छ’, समितिले भनेको छ। त्यस्तै पशुपति क्षेत्रभित्र प्लाष्टिकको प्रयोग समेत गर्नमा रोक लगाइएको छ।

आउँदो शुक्रबार महाशिवरात्रीका दिन एयरपोर्ट, गौशाला, चाबहिलको रिङरोडमा भीड हुने भएकोले सवारीसाधनका लागि एकतर्फीको व्यवस्था गरिएको जनाइएको छ।

‘त्यसको लागि तिलगंगा क्षेत्र, पशुपति क्षेत्र विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत तथा ट्राफिक प्रहरी प्रधान गौशाला, सिफल चौर, गुहेश्वरी पारी गरी पाँच स्थानमा पार्किङको व्यवस्था मिलाइएको कुरा ’कोषका सदस्य सचिव डा.प्रदिप ढकालले जानकारी गराएका छन् ।।

दर्शनार्थीहरूका लागि मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, जयबागेश्वरी-इँट्टा पादा भएर भुवनेशुवरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट एक लाइन, बत्तिसपुतली-गौशाला तथा एयरपोर्ट-तिलगंगा भएर पिङ्गलास्थान-सुमार्गी भवन अगाडि भएर चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट एक/एक गरी बाहिरी रूपमा लाइन रहनेछन्। आवश्यकता अनुसार तिलगंगा राममन्दिर तर्फबाट पनि राख्न सकिने कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवाडाले जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया