काठमाडौं । चलचित्रको एउटा गीतमा दुई÷चार जना अभिनेता अभिनेत्रीको नृत्य हुने गर्दछ । तर, हास्यप्रधान चलचित्र ‘हिजो आजका कुरा’को गीत ‘जदौ माया जदौ…’मा ४० जना कलाकारले अभिनय एवं नृत्य गरेका छन् । आगामी १२ वैशाखमा देशव्यापी सिनेमा हलमा यो फिल्म प्रदर्शन हुनेछ ।
यो एउटा विवाह समारोहको परिवेश बनाएर यो गीतको छायांकन गरिएको छ । यो लोक स्वादको यो गीतको भिडियो सोमबार रिलिज गरिएको छ । यो गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर छ । आनन्द अधिकारीले लेखेको यो गीतमा दीपक शर्माको संगीत रहेको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।
यो गीतको भिडियो चलचित्र र अतिथि गरेर ४० जना कलाकारको नृत्य तथा अभिनय छ । भिडियोमा भुवन चन्द, बसुन्धरा भुसाल, शम्भुजीत बास्कोटा, मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, नीर शाह, मिथिला शर्मा, गौरी मल्ल, धीरेन शाक्य, रमा थपलिया, दिनेश डिसी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, जयनन्द लामा, शिवहरि पौडेल, केकी अधिकारी, ऋचा शर्मा, साकार पन्त, रिमा विश्वकर्मा, जेविका कार्की, नवीन के भट्टराई, नितेशजंग कुँवर, नम्रता श्रेष्ठ, यमन श्रेष्ठ, रमेश अधिकारी, सविन शाक्य, मन्जु श्रेष्ठ, विनय कुइँकेल, अनुष्का अधिकारी, लुनिभा तुलाधरसहित अन्य कलाकार पनि छन् ।
नेपाली चलचित्रको एउटा गीतमा यति धेरै सेलिब्रेटी कलाकार समेटिएको यो नै पहिलोपटक हुन सक्ने निर्माता सन्तोष पन्तको कथन छ । सुवास काफ्ले प्रोडक्सन म्यानेजर रहेको यो चलचित्रलाई साकार पन्तले निर्देशन गरेका हुन् । यो चलचित्रमा सन्तोष पन्त र साकार पन्त मुख्य निर्माता, वैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र सहनिर्माता छन् ।