भन्छन्, समय आफूबाट भाग्नुको मतलब बल्ल बुझेँ
अभिनेता इरफान खानको नयाँ फिल्म ‘अंग्रेजी मिडियम’ १३ मार्चबाट प्रदर्शनमा आउँदैछ । दर्शकमाझ यो फिल्मको व्यग्र प्रतिक्षा छ । यो फिल्मबाट इरफान २ वर्षपछि ठूलो पर्दामा देखिन लागेका हुन् । दुई वर्ष लण्डनमा न्यूरो एन्डोक्राइन ट्यूमरको उपचार गराएपछि उनी अभिनयमा फर्किएका हुन् । हालै उनले एक अन्तर्वार्तामा आफ्नो स्वास्थ्यको बारेमा खुलेर बोलेका छन् ।
एक न्यूजपेपरलाई दिएको अन्तर्वार्तामा उनले फिल्मलाई लिएर आफूमा कुनै चिन्ता नभएको बताएका छन् । उनी भन्छन्, ‘मेरो सबै चिन्ता यो बिरामीबाट थाकिसकेका छन् । मलाई सन्तुष्टि छ कि हामीले एक राम्रो फिल्म बनाएका छौं । म यस फिल्मलाई लिएर चिन्तित छैन, म मात्र खुसी छु ।’ यो फिल्ममा करीना कपूर, राधिका मदान, दीपक डोबरियालको पनि प्रमुख भूमिका छ ।
अभिनेता इरफान अगाडि भन्छन्, ‘बिरामी हुनुभन्दा पहिले म यति व्यस्त थिएँ कि आफ्ना बच्चाहरू हुर्कँदै गरेको पनि देखिनँ । मसँग सधैं समयको अभाव हुन्थ्यो । अब मैले बुझेँ कि समयको कमी हुनु र समय आफूबाट भाग्नुको मतलब के हो । म मेरा लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’ ट्यूमरबाट ग्रसित हुँदा आफूले राम्रा र नराम्रा दुवै दिन विताएको उनी बताउँछन् ।
श्रीमती सुतापा सिकदरबारे पनि उनले भने, ‘म सुतापाबारे के भनूँ ? उनी मेरा लागि सातै दिन २४ सै घण्टा उपलब्ध भइन् । मेरो हेरविचार गरिन् र उनका कारण मलाई अत्याधिक सजिलो भयो । म अहिलेसम्म यहाँ छु, यसको ठूलो कारण उनी हुन् र यदी मैले बाँच्ने मौका पाएँ भने म उनको लागि बाँच्न चाहन्छु ।’ उनी अभिनीत ‘अंग्रेजी मिडियम’ को ट्रेलर दर्शकले निकै रुचाएका छन् ।