अभिनेत्री आँचल शर्मा यही फागुन २९ गते विवाह बन्धनमा बाँधिँदै छिन् । उनले फागुन २५ गते सङ्गीत, २९ गते वैवाहिक कार्यक्रम र चैत १ गते रिसेप्सन पार्टीको आयोजना गरेकी छिन् । आँचलले आफन्त, चलचित्र कर्मी, पत्रकारलगायतलाई विवाह, सङ्गीत र रिसेप्सन पार्टीका लागि निमन्त्रण कार्ड दिइरहेकी छन् । उनले विवाहमा चलचित्रकर्मी, पत्रकार र आफ न्त सबैलाई बोलाउँदै छिन् । यति बेला आँचललाई विवाहको रौनकले छोपेको छ । केही समय यता प्रेममा रहेकी आँचल प्रेमी उदिप श्रेष्ठसँग वैवाहिक जीवनमा बाँधिँदै छिन् ।

फेसबुकको माध्यमबाट यी दुईको एकअर्कासँग चिनजान भएको थियो । र, फेसबुकबाटै प्रेममा डुबेका थिए । अभिनेत्री आँचल आफूलाई उदिपको केयरिङ गर्ने बानीले कायल बनाएको बताउँछिन् ।

‘नाईं नभन्नू ल ४’ बाट अभिनय करिअर सुरुवात गरेकी आँचलको नाम लामो समय अभिनेता पल शाहसँग जोडियो । उनीहरुले एकसाथ तीन फिल्म र थुप्रै म्यूजिक भिडियोमा काम गरेपछि प्रेम सम्बन्धको चर्चा चलेको थियो । तर, उनीहरुले प्रेम सम्बन्ध कहिल्यै स्वीकार गरेनन् । यी दुईले आफूहरुबीच साथीभन्दा माथिको सम्बन्ध नभएको रेडिमेड जवाफ मात्र फर्काइरहे ।

जीवनको दोस्रो अध्याय सुरु गर्न लागेकी अभिनेत्री आँचल शर्माले विवाहपछि पनि फिल्म अभिनयमा सक्रिय रहने बताउँदै आएकी छन् । उनले गएको महिनादेखि विवाहको तयारीका कारण कुनै फिल्म र म्यूजिक भिडियोमा काम गरेकी छैनन् । हालै उनले ‘झिँगेदाउ’ नामक फिल्मको छायांंकन भ्याएकी थिइन् । विवाहपछि उनले ‘दुई रुपैयाँ’ टिमको ‘डामाडोल’ नामक फिल्म गर्नेछिन् ।

तपाईको प्रतिक्रिया