काठमाडौं। अभिनेता अनमोल केसीले आफूलाई ठगीको आरोप लागेको सुन्दा स्तब्ध भएको बताएका छन्।
केही साता अघि अनमोलविरुद्ध प्रहरीमा ठगीको उजुरी परेको थियो। चलचित्र ‘धूपौरे’मा अभिनय गर्न कागजी सम्झौता गरी ५ लाख रुपैयाँ लिएको र अन्त्यमा चलचित्र नखेलि त्यो पैसा पनि फिर्ता नगरेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो। निर्माताद्वय रुपेन्द्र खड्गी र जयन श्रेष्ठले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गराएका थिए।
उजुरी दर्ता भएको केही दिन अनमोलको कुनै प्रतिक्रिया आएको थिएन्। अहिले भने उनले मुख खोलेका हुन्।
उनले फेसबुकमा स्टाटस् लेख्दै भनेका छन् ‘म चलचित्र ‘ए मेरो हजुर ४’को सुटिङको शिलशिलामा ब्यस्त भई काठमाडौं बाहिर भएको बेलामा म माथी ५ लाख रुपैयाँ ठगीको आरोप लागेको सुन्दा स्तब्ध भएको छु।’
उनले स्क्रिप्ट चित्त नबुझेर आफूले चलचित्र छाडेको र पैसा फिर्ता गर्न खोज्दा निर्माण टिमले नमानेको बताएका छन्। अनमोलले आफूले चलचित्र साइन गर्दा विवेकले भ्याएसम्म स्क्रिप्टलाई प्राथमिकता दिने बताउँदै ‘धूपौरो’ साइन गर्दा आफूले यसको वानलाइन स्टोरी मात्र सुनेको बताएका छन्। तर, स्क्रिप्ट तयार भएर आउँदा आफूले सुनेको वानलाइन भन्दा धेरै फरक भएको बताउँदै निर्माता निर्देशकलाई स्क्रिप्टमा थप काम गर्न आग्रह गर्दा त्यही स्क्रिप्टमा सुटिङमा जान आफूलाई कर गरेको अनमोलको भनाई छ।
उनले प्रश्न गरेका छन्, ‘थप मेहनत गरेर अझै राम्रो सिनेमा बनाऊ भन्नु के मेरो गल्ती हो र?’ तर, निर्माण टिमले स्क्रिप्टमा मेहनत गर्ने कुरा नमान्दा मत बाझिएपछि आफूले चलचित्र छाड्न बाध्य भएको अनमोल बताउँछन्। आफूले एडभान्स लिएको पैसा जुनसुकै समयमा फिर्ता दिन तयार रहेको बताएका छन्।
चलचित्रको स्क्रिप्टमा मेहनत गरौं भन्दा निर्माताहरुले इगोका रुपमा लिएको र आफू बाहिर भएको मौका छोपी चरित्रहत्या गर्न खाजेको आरोप समेत अनमोलले लगाएका छन्।