काठमाडौं। कोरोनाभाइरसका कारण विश्वका कैयौं देश लकडाउन भइसकेका छन् । सामाजिक संजालमा घरमै बस्न सल्लाह दिइएको छ । यसका अलावा सामाजिक संजालमा भाइरस फैलिन नदन जागरुकता फैलाउने र लगातार हात धुन अपिल भइरहेको छ । विश्व स्वास्थ्य संगठनले पनि यसरी जनचेतना फैलाउने काममा सहयोग गर्न सुपरस्टार सेलिब्रेटीहरुलाई आग्रह गरेको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एधानोमले ट्वीट गर्दै केही सेलिब्रेटीहरुलाई जनचेतनामा सघाउन अपिल गरेका छन् । उनले बलिउड अभिनेत्रीहरु प्रियंका चोपडा र दीपिका पादुकोणलाई समेत अभियानमा सहभागी हुन आग्रह गरे । उनले सेलिब्रेटीहरुलाई ‘सेफ ह्याण्ड च्यालेन्ज’ अघि बढाउन अपिल गरेका छन् । उनले ट्वीटमा सुपरस्टारहरुलाई सेफ ह्याण्ड च्यालेन्ज अघि बढाउँदै अन्य ३ जनालाई पनि यो च्यालेन्ज स्वीकार गर्न आग्रह गर्न भनेका छन् ।