काठमाडौँ — गत वर्ष ‘पद्मावत’को विरुद्ध उभिएको करनी सेना अक्षय कुमार अभिनित फिल्म ‘पृथ्वीराज’को विरोधमा उत्रिएका छन् । फिल्मले ऐतिहासिक घटनालाई बढाइचढाई गरेर सुटिङ गरेको भन्दै यो समूह विरोधमा उत्रिएको हो ।
जयपुर नजिकको एक गाउँमा भइरहेको सुटिङ स्थलमा पुगेर समूहले विरोध प्रदर्शन गर्यो। समूहको अध्यक्ष महिपाल सिंह मकरानाले सुटिङ सेटभित्र गएर निर्देशक चन्द्र प्रकाशलाई फिल्म रोक्न लगाए।यद्यपि निर्देशक चन्द्रले स्क्रिप्टमा ऐतिहासिक तथ्यलाई तोडमोड नगरिएको बताए।
तर, करनी सेनाले निर्देशकसँग लिखित प्रमाण नै मागेका छन्। विरोध प्रदर्शन गर्ने दिन अक्षयको सुटिङ भने थिएन। ‘हामीले निर्देशकसँग फिल्मको स्क्रिप्टउपर छलफल गरेका छौं। हामीले ऐतिहासिक घटनाको सत्यतालाई तोडमोड गरे अस्वीकार्य हुने बताएका छौं,’ मकरानाले भारतीय सञ्चारमाध्यमलाई बताए, ‘पृथ्वीराज चौहानलाई फिल्ममा प्रेमीको रुपमा देखाउनु भएन। निर्देशकले चौहानलाई प्रेमी नदेखाएको बताउनुभयो। तर, हामीले प्रमाण मागेका छौं।’
यशराज ब्यानरमा बन्दै गरेको ‘पृथ्वीराज’ राजपुत शासक पृथ्वीराज चौहानको जीवनीमा आधारित फिल्म हो।










