अभिनेत्री दिव्या रायमाझी अभिनीत फिल्म ‘राम नाम सत्य’ नयाँ वर्षको छेको पारेर आगामी चैत २७ गतेदेखि प्रदर्शनमा आउँदैछ। यो फिल्मलाई दिव्याको यस वर्षका लागि पहिलो र सम्भवतः अन्तिम रिलिज मानिएको छ। अभिनय यात्राको हिसाबले भने यो उनको तेस्रो फिल्म हो।यसअघि प्रदर्शनमा आएका उनका फिल्म ‘एक्टर : टेक वान’ र ‘पिताम्बर’ ले अपेक्षित व्यापार गर्न नसकेपछि दिव्यालाई यो फिल्मबाट व्यावसायिक सफलता हासिल गर्नुपर्ने दबाब समेत रहेको देखिन्छ। तर, फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा उनी निकै उत्साहित र आशावादी देखिएकी छन्।

दिव्याले यस फिल्ममा आफूले आधुनिक राजकुमारीको भूमिकामा अभिनय गरेको खुलासा गरेकी छन्। उनका अनुसार यसअघिका फिल्मभन्दा यो फिल्ममा आफूलाई फरक ढंगले प्रस्तुत गर्ने अवसर मिलेको छ। उनले भनिन्, “यसअघिका फिल्ममा भन्दा यसमा म भिन्न तरिकाले आएको छु। काम पनि धेरै देखाउन पाएको छु। दर्शकलाई फिल्म र मेरो काम मनपर्छ भन्ने विश्वास छ।”
दिव्याले ‘राम नाम सत्य’ राम्रो बनेको दाबी गर्दै फिल्ममा एक्सन मात्र नभई इमोशन, सस्पेन्स र प्रेमको मिश्रण रहेको बताएकी छन्।
उनले भनिन्, “म आफैंले अभिनय गरेका कारण राम्रो भनेको होइन, फिल्म साँच्चिकै राम्रो बनेको छ। एक्सन त छ नै, तर त्यससँगै इमोशन, सस्पेन्स र प्रेम पनि छ।”

फिल्ममा दिव्याको जोडी अभिनेता सुशील श्रेष्ठसँग बाँधिएको छ। सुशीलसँग काम गर्न निकै सहज भएको अनुभव उनले सुनाएकी छन्। त्यस्तै, विराज भट्टसँग काम गर्दा धेरै कुरा सिक्ने अवसर मिलेको उनको भनाइ छ। दिव्या भन्छिन्, “मेरो लागि यो फिल्म एक किसिमको पाठशाला जस्तै भयो। अग्रज कलाकारहरूसँग काम गर्दा धेरै कुरा सिक्न र बुझ्न पाएँ।”

कोरियोग्राफर माइकल चन्दको निर्देशन रहेको यस फिल्ममा दिव्यासँगै विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार र दिनेश डीसी लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मका ‘धागोले बाटेको’ र ‘हुम्लाको लिमी’ गीतहरू यतिबेला सामाजिक सञ्जालमा चर्चा बटुलिरहेका छन्, जसले फिल्मप्रति दर्शकको उत्सुकता झन् बढाएको छ।

तपाईको प्रतिक्रिया