काठमाडौँ — अभिनेता विपिन कार्की अरुबेला फिल्ममै व्यस्त हुन्छन् । व्यस्त सेड्यूलबाट परिवारका लागि समय निकाल्न उनलाई हम्मेहम्मे पर्थ्यो । तर, सरकारले सबैलाई क्वारेन्टाइनमा बस्ने निर्देशन दिएसँगै विपिनले पनि परिवारका लागि समय पाएका छन् ।
गत मंसिरमा उनी छोरीकी बुबाबने। तर, फिल्मकै कारण छोरीसँग पनि समय बिताउन पाइरहेका थिएनन्। क्वारेन्टाइनमा बस्दा अहिले विपिन आफ्नो धेरै समय परिवारसँग नै बिताइरहेका छन्।
‘धेरै त परिवारसँग समय बिताइरहेको छु। बेबीलाई समय दिन पाएको छु। अरुबेला फिल्ममै व्यस्त भइन्थ्यो,’ उनले सुनाए। क्वारेन्टाइनको समयमा कलाकारले आफ्नो समय विभिन्न फिल्म अनि किताब पढेर सदुपयोग गर्नुपर्ने उनको धारणा छ। ‘अब हामीले यो समयमा धेरै फिल्म अनि किताब पढ्न सक्छौं,’ उनले भने।
अभिनेता दीपकराज गिरी ‘छक्कापञ्जा’का पटकथाकार पनि हुन्। क्वारेन्टाइनको समय उनी ‘छक्का पञ्जा ४’को स्क्रिप्ट सकाउने तयारीमा छन्। ‘के-के गर्ने यकिन योजना त छैन तर म ‘छक्का पञ्जा ४’को स्क्रप्टि बनाउन व्यस्तु हुन्छु,’ उनले सुनाए।
दीपकले बिहान र बेलुका भने सामाजिक सञ्जालका लागि समय छुट्टाएका छन्।
सञ्जालमार्फत दर्शकलाई जनचेतना फैलाउने किसिमको भुमिका निभाउने योजनामा छन्। बिहान घर नजिकैको चौरमा मर्निङ वाकमा पुग्छन्।
क्वारेन्टाइनको यो खाली समयमा फिल्मकर्मीले आफूलाई सिर्जनशील बनाउनु पर्ने दीपक बताउँछन्। ‘सिर्जनशीलकाम गर्नेहरुले आफ्नो काममा ध्यान दिनुपर्यो। कतिको फिल्म टेबलमा रोकिएको छ, कति फिल्मको छायांकन रोकिएको छ। ‘टेबलमा फिल्म रोकिएकाहरुले अब त्यसलाई थप कसरी राम्रो बनाउन सकिन्छ त्यतातिर ध्यान दिनुपर्यो,’ दीपकले भने,’कतिले हतारमा फिल्मको छायांकन थालेको हुन्छ। हतारमा छायांकन थालेकोले अब यो समयमा कसरी बाँकी छायांकन राम्रो बनाउने हो त्यतातिर कसरत गर्नुपर्यो। अनि कतिको प्रदर्शन मिति धकेलिएको छ। उनीहरु अब फिल्मलाई कुन मितिमा ल्याउने, कसरी दर्शक आकर्षित गर्ने भन्नेतिर सोच्नुपर्यो।’
कलाकारले योतिबेला आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्ने दीपक बताउँछन्। समाजसँग नजिक हुन पाउँदैनन् कलाकार। त्यसैले यो समयमा ‘सोसल रिलेसन’मा ध्यान दिन सक्ने उनले बताए।
काम नहुँदा र सेल्फ क्वारेन्टाइनमा बस्दाको गतिविधिमा खासै फरक पाउँदिनन् अभिनेत्री सुरक्षा पन्त। तर यो खाली समयमा आफैलाई नियाल्नुको मज्जा बेग्लै रहेको उनी बताउँछिन्। ‘हामी केही न केही गरिरहेका हुन्छौं घरमा। बुझ्ने सिक्ने काम। तर आफैंलाई आइसोलेसनमा राखेर हेर्दा अर्कै अनुभव हुन्छ। अहिले समयमा सुत्ने र उठ्ने समय पाएको छु,’ उनी सुनाउँछिन्। त्यससँगै योगाको समय पनि बढेको सुरक्षा सुनाउँछिन्। पढ्न अल्छी लागेका किताबलाई पल्टाउने समय पाएकी छिन् सुरक्षाले।
‘घरमा कति काम हुँदो रहेछ भन्ने थाहा भएको छ। फुर्सद नै नहुने। खानपिनमा पनि बढी ध्यान जाँदो रहेछ यस्तो बेला,’ सुरक्षा सुनाउँछिन्,‘आफ्नो क्षमता बढाउने समय पाएको छु। म पेन्टिङ गर्न रुचाउने मान्छे। तर पछिल्लो पटक बिर्सिनै सकेको थिएँ। अहिले फेरी सुरु गरेकी छु।’ अल्छि लागेको समयमा नजिकैको डाँडामा ट्रेकिङमा जाँन्छिन्, विशेष त अहिले सरसफाईमा ध्यान जाने गरेको सुरक्षा बताउँछिन्।
अभिनेत्री केकी अधिकारी कलाकारले यो समयलाई धेरै फिल्महरु हेरेर सदुपयोग गर्नसक्ने सल्लाह दिन्छिन्। ‘एक्टिङ सम्बन्धि किताब पढेर अनि युट्युबबाट एक्टिङ सिकेर यो समय सदुपयोग गर्न सक्छौं,केकी भन्छिन्’ सकारात्मक रहने कोसिस गर्नुपर्यो।’ अहिले उनी एक्टर प्रिपियर्स भन्ने पुस्तक पढ्दै छिन्।