डा.शेरबहादुर पुन, क्लिनिकल रिसर्च युनिट संयोजक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु,

मासुबाट विभिन्न किसिमका रोग सर्न सक्छन्। ती रोगमध्ये ‘इकोलाइ’, ‘सालमोनेला’, ‘परजीवी (फित्ते जुका)’, ‘टोक्सोप्लाज्मोसिस’, ‘जियार्डियासिस’, ‘नोरोभाइरस’जस्ता रोग सर्ने जोखिम हुन्छ।

इकोलाइ
इकोलाइ ब्याक्टेरिया (जीवाणु) नेपालमा देखिने संक्रमणमध्ये प्रमुख हो। सामान्यतः यो ब्याक्टेरिया व्यक्ति र जनावरको पेटमा हुन्छ। इकोलाइको सबै प्रजातिले व्यक्तिको स्वास्थ्यमा हानि नपु¥याउने भए पनि कतिपय अवस्थामा भने हानि पु-याउँछ। यसको संक्रमणका कारण पखाला लाग्ने, पिसाबको संक्रमण हुने र मिर्गौलालाई हानि गर्नेजस्तो जोखिम हुन्छ।

अध्ययनअनुसार नेपालमा पिसाबको संक्रमण गराउने प्रमुख कारण मध्ये इकोलाइ हुने गरेको छ। व्यक्तिमा पखाला गराउने विभिन्न संक्रमणमध्येमा इकोलाइ पर्छ। इकोलाइ ब्याक्टेरिया संक्रमित मासु राम्रोसँग नपकाई खाँदा स्वस्थ व्यक्तिमा ब्याक्टेरिया सरी संक्रमण हुन्छ। जसले व्यक्तिको स्वास्थ्यमा नकारात्मक असर पुगी ज्यानै जाने जोखिम हुन्छ।

सालमोनेला
राम्रोसँग नपाकेको मासुलगायतका खाद्यपदार्थ खानाने व्यक्तिमा ‘सालमोनेला’ ब्याक्टेरिया सरी संक्रमणको जोखिम हुन्छ। संक्रमित मासु खाँदा यस्तो जोखिम हुन्छ। ज्वरो आउने, रगत मिसिएको पखाला लाग्ने, पेट दुख्ने, बान्ता हुनेजस्ता यसका लक्षण देखिन्छन्। यस्तो संक्रमण भएको अवस्थामा सालमोनेला ‘टाइफी’ र ‘पाराटाइफी’ले म्यादि ज्वरो आउने तथा टाइफाइट गराउँछ। नेपालमा टाइफाइडको समस्या लिएर वर्षेनी सयौँ बिरामी अस्पताल पुग्ने गरेका छन्। टाइफाइडका कारण ज्यानै जान सक्छ।

परजीवी (फित्ते जुका)
नेपालमा परजीवीको बारेमा धेरै चर्चा हुने गरे तापनि समस्या भने कम छैन। विशेषगरी सुंगुरको मासुबाट सर्ने ‘टिनिया’ नामको फित्ते जुकाले व्यक्तिको टाउकामा असर गरेको पाइन्छ। संक्रमित मासुका कारण टाउकामा हुने यस्तो समस्यालाई ‘न्युरोसिस्तिसर्कोसिस’को नामले चिनिन्छ। अध्ययनअनुसार नेपालमा छारे रोगजस्तो लक्षण लिएर अस्पतालमा भर्ना भएकामध्ये १६ प्रतिशत व्यक्तिमा न्युरोसिस्तिसर्कोसिसको निदान हुने गरेको छ। यस्तो समस्याबाट बच्नका लागि सुंगुर–बंगुरको मासु राम्रोसँग पकाएर खानुपर्छ।

टोक्सोप्लाज्मोसिस
राम्रोसँग नपाकेको मासु खाँदा सर्ने प्रमुख ब्याक्टेरिया (परजीवी) रोगमध्ये एक हो, ‘टोक्सोप्लाज्मोसिस’। ‘टोक्सोप्लाज्मा गोन्जी’ नामक परजीवीको कारणले यस्तो रोगको संक्रमण हुन्छ।

विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको व्यक्तिमा यो रोगले छिटो आक्रमण गर्ने जोखिम हुन्छ। गर्भवती महिलामा यो रोगको संक्रमण भएको अवस्थामा गर्भपतनको जोखिम हुन्छ। त्यति मात्रै हैन संक्रमित आमाबाट जन्मिएको बच्चा शारीरिक अपांगता हुने सम्भावना त्यत्तिकै हुन्छ। त्यसैले गर्भवती महिला विशेष सचेत हुनुपर्छ।

ज्वरो आउने, थकित महसुस हुने, टाउको तथा शरीर दुख्ने टोक्सोप्लाज्मोसिस रोगका सुरुआति लक्षण हुन्। संक्रमणले बढी च्याप्दै जाँदा यस्ता लक्षण कडा भई व्यक्ति बेहोस हुनेसमेत जोखिम हुन्छ। सुँगुर, खसीलगायतका मासुमा टोक्सोप्लाज्मोसिस रोगको संक्रमण बढी हुन सक्ने भएकाले मासु सफा गरी राम्रोसँग पकाएर खानुपर्छ। मासु राम्रोसँग पकाएर खानाले यस्तो संक्रमणबाट बच्न सकिन्छ।

जियार्डियासिस
‘जियार्डियासिस व्यक्तिमा पखाला गराउने सूक्ष्म परजीवी हो। नेपालमा यो ब्याक्टेरिया संक्रमण देखिँदै आएको छ। जियार्डियासिस ब्याक्टेरिया दिसामा हुने भए पनि राम्ररी नपाकेको मासु खाँदा पनि सर्ने जोखिम हुन्छ।

यो ब्याक्टेरियाको संक्रमणको प्रमुख लक्षण झाडापखाला हो। संक्रमण भएको एकदेखि तीन हप्तामा यसको लक्षण देखिन्छ। व्यक्तिगत सरसफाइ तथा मासु राम्रोसँग पकाएर खाएको अवस्थामा यो रोगको संक्रमणबाट बच्न सकिन्छ।

नोरोभाइरस
विकसित देशहरुमा बढी रिपोर्ट हुने खानपानबाट सर्ने एउटा प्रमुख भाइरस हो, ‘नोरोभाइरस’। नेपालमा भने यो भाइरसको खासै खोज तथा अनुसन्धान गरेको पाइँदैन। एक अनुसन्धानअनुसार बालबालिकामा पखाला गराउने कारणमध्ये झण्डै १२.५ प्रतिशत नोरोभाइरस कारक भएको देखिएको छ। अध्ययन अनुसार सुँगुरको मासुमा यो भाइरस भएको पत्ता लागेको छ।

पखाला लाग्ने, पेट दुख्ने, बान्ता हुने, हल्का ज्वरो आउने नोरोभाइरसका प्रमुख लक्षण हुन्। यो भाइरसको संक्रमण भएको १२ देखि ४८ घण्टामा लक्षण देखिन सुरु हुन्छन्। सफा गरी राम्रोसँग मासु पकाएर खाएमा यस्तो समस्याबाट बच्न सकिन्छ।

बर्डफ्लुको संक्रमण
संक्रमित पक्षीको मासुबाट बर्डफ्लु सर्न सक्ने भएकाले कुखुराको मासु राम्ररी पकाएर मात्रै खानुपर्छ। बर्डफ्लु संक्रमित खुखुराले हाछ्युँ गर्दा तथा खोक्दा त्यसको छिटा मानिसको मुखमा परेको अवस्थामा समेत व्यक्तिमा बर्डफ्लु सर्न सक्छ।

त्यति मात्रै हैन विभिन्न किसिमको फ्लुको जोखिम हुन्छ। कुखुराको संक्रमित मासुबाट व्यक्तिमा ‘एच फाइभ एन वान (एच ५ एन १)’फ्लुको संक्रमणको जोखिम हुन्छ। गत वर्षको अन्त्यमा इन्फ्लुएन्जा ए अन्तर्गतको ‘एच फाइभ एन वान’संक्रमणका कारण नेपालमा समेत एकजना व्यक्तिको ज्यान गइसकेको छ। ‘एच सेभेन एन नाइन’ भन्ने बर्डफ्लु समेतको सम्भावना हुन्छ।

बर्डफ्लु संक्रमित व्यक्तिमध्ये करिब ६० प्रतिशत व्यक्तिको मृत्यु हुन सक्छ। त्यसैले कुखुराको मासु खाँदा स्वस्थ मासु छ वा छैन भन्ने कुराको विशेष ख्याल गर्नुपर्छ। त्यति मात्रै हैन स्वाइन फ्लु तथा हङकङ फ्लुको पनि जोखिम त्यत्तिकै हुन्छ। यसमा सचेत हुन आवश्यक छ।

मासुबाट सर्ने विभिन्न किसिमका रोगको संक्रमणबाट बच्नका लागि स्वस्थ मासु नै खानुपर्छ। मासुलाई सफा गरेर राम्रोसँग पकाएर खाएमा पनि मासुजन्य रोगको संक्रमणबाट बच्न सकिन्छ।
प्रस्तुति: उपेन्द्र खड्का

तपाईको प्रतिक्रिया