धनगढी– सुदूरपश्चिमका अधिकांश जिल्लामा अहिले आँगन खन्ने होडबाजी नै चलेको छ। सामाजिक सञ्जालमा एकाएक घरको दायाँपट्टी आँगन खन्दा कोइला निस्कने र त्यो कोइला लगाए कोरोना नलाग्ने हल्लासँगै अधिकांश स्थानीय त्यसलाई पछ्याइरहेका छन्।

बुधबार मध्यराति धेरैलाई फोन गर्दै ‘घरको मूल ढोका अगाडिको आँगन उज्यालो नहुँदै आजै खन्नुहोस्। त्यहाँ कालो अँगार जस्तो वस्तु भेटिनेछ। त्यसको घर परिवार सबैका निधारमा तिलक लगाउनुहोस् कोरोना भेद हुन्छ अर्थात लाग्दैन्।’ भन्ने भ्रम फैलाइएको थियो। फोन गरेको नम्बर भने नदेखिने गरेको उनीहरुको भनाइ छ।

त्यसलाई धेरैले सामाजिक सञ्जालमा पोष्ट गरेपछि सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा स्थानीय आँगन खनेर कोइला निकाल्दै निधारमा लगाइरहेका छन्।

बझाङ, बाजुरा, अछाम, डोटी र कैलालीमा यसको बढी प्रचार भएको छ। यी जिल्लामा शुक्रबार बिहानैदेखि धेरै स्थानीयले आँगन खनेको र कोइला निस्केको बताए। बझाङ खप्तड छान्ना गाउँपालिकाका डिल्लीराज जोशीले भने, ‘गाउँभरी आFगन खन्दा कोइला निस्कने र लगाए कोरोना नलाग्ने हल्ला छ, मलाई विश्वास लागेन तर खन्दा कोइला चाँही सबैकोमा आयो।’

उनले मूल ढोकाको दायाँपट्टी आगनमा खन्न भनेको स्थानीयले त्यही अनुसार खनेर कोइला भेटाएको बताए।

बाजुरा जिल्लामा पनि हावा झै यो कुरा फैलिएको र सबैले आँगन खन्दै कोइला भेटाएर टीका लगाइरहेको त्रिवेणी नगरपालिकाका राम बहादुर ऐडीले बताए  उनले भने, ‘यो कुरा कहाँबाट आयो थाहा छैन तर अशिक्षितदेखि शिक्षितसम्म सबैले यसलाई पछ्याएका छन्।’

सुदूरपश्चिमको विकसित जिल्ला कैलाली त्यसैमा पनि हाल प्रदेशको राजधानी रहेको धनगढीमा समेत यो हल्ला फैलिएकाे छ। धनगढीका टोल टोलमा स्थानीयहरु आँगन खनेर कोइला भेटाई निधारमा लगाउने गरिरहेका छन्। धनगढी उपमहानगरपालिका–५ हसनपुरका रामप्रसाद जोशीले भने, ‘चारैतिर हल्ला आयो। के रहेछ भनेर विचार गर्दा साँच्चै कोइला भेटियो।’

धनगढीमा बस्दै आएका तीर्थराज भट्टलाई बिहीबार मध्य राति फोन आयो र उनले फोन उठाए।

फोनमा सन्देश थियो, ‘घरको मूल ढोका अगाडिको आँगन उज्यालो नहुँदै आजै खन्नुहोस्। त्यहाँ कालो अँगार जस्तो वस्तु भेटिने छ। त्यसको घरपरिवार सबैका निधारमा तिलक लगाउनुहोस् कोरोना भेद हुन्छ अर्थात लाग्दैन्।’

त्याे फोन सन्देश उनलाई मात्रै होइन धेरै छिमेकीलाई पनि आएको रहेछ। चार बजे बिहानै गाउँटोलका सबै स्थानीय आँगन खन्न लागे। त्यस्तै सन्देशसहितको फोन धनगढी निवासी सीताराम भट्टलाई पनि आएको जानकारी उनले सामाजिक सञ्जालमार्फत गराएका छन्।

धनगढीकै प्रकाशराज भट्टलाई पनि बिहानै पाँचै बजे फोन आयाे। उनले फोन उठाउँदा अरुलाई जस्तै सन्देश आफूलाई पनि आएकाे बताए।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा अहिले आँगन खनेर कोइला निधारमा लगाउने प्रकृया जारी नै रहेको छ।

यता जिल्ला प्रहरी कार्यालय कैलालीले कोइलाको टीका लगाएर कोरोनाको संक्रमणबाट जोगिने भन्दै भ्रम फैलाउनेको खोजी सुरु भएको जनाएको छ।

भ्रम फैलाउने व्यक्तिको खोजी भइरहेको बताउँदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘यस्ता भ्रम र झुट्टा कुराको पछाडि नलागी सरकारले आह्वान गरेको लकडाउनलाई साथ दिन आवश्यक छ। अनावश्यक हल्लाको पछाडि दौडिनुभन्दा भ्रम फैलाउने व्यक्तिको पहिचानमा सहयोग गरौँ।’

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पनि कोइलाको हल्ला पछाडि नलाग्न जिल्लावासीलाई आग्रह गरे।

तपाईको प्रतिक्रिया