चीनको वुहानमा कोरोना भाइरसको महामारी फैलिएपछि बन्द गरिएको नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी उक्त भाइरसकै कारण शनिबार खुल्दैछ । चीनले सहयोग प्रदान गरेको कोरोना परीक्षणका लागि आवश्यक सामग्री तातोपानीबाटै शनिबार नेपाल भित्रने भएको छ ।
बिहीबार वा शुक्रबार नै ती सामग्री आइपुग्ने भनिए पनि प्राविधिक कारणवश शनिबार (१५ चैत) आउने जानकारी प्राप्त भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले दिएका हुन् ।
यसैक्रममा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा कार्यरत कर्मचारीले सात दिन बराबरको तलबको हुन आउने रकम ६ लाख ५८ हजार आठ सय नौ र शिक्षकबाट तीन दिन बराबरको तलबको हुन आउने रकम ११ लाख ४४ हजार एक सय एकतीस जम्मा गर्ने प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालालाई उद्धृत गर्दै राससले जनाएको छ ।