विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले दुई हप्ता लामो ‘लकडाउन’ गरेपछि अहिलेकी हटकेक अभिनेत्री साम्राज्ञी आरएल शाह गएको दश दिनदेखि घरभित्रै छन् । सामाजिक सञ्जालको माध्यमबाट आफ्ना शुभचिन्तकलाई विशेष सावधानी अपनाएर घरमै सुरक्षित रुपमा बस्न आग्रह गर्दै आएकी उनको दैनिकी भने फिल्म हेरेर वितिरहेको छ ।

इन्स्टाग्राममा आफूले घरमा गरेका विभिन्न क्रियाकलापका तस्विर तथा भिडियो क्लिपहरु शेयर गर्दै आएकी साम्राज्ञीले बुधवार आफ्ना प्रशंसकहरुको केही जिज्ञासा मेटाइन् । एक फ्यानले नयाँ फिल्मको बारेमा सोधेको प्रश्नमा उनले अहिले आफूले कुनै फिल्म साइन नगरेको र अब वर्षमा एउटा मात्र फिल्म गर्ने बताएकी छन् । अब वर्षमा दुई/तीनवटा फिल्म नगर्ने पनि उनले बताइन् ।

उनले भनेकी छन्, ‘अब वर्षमा दुई/तीनवटा फिल्म गर्दिनँ । राम्रो स्क्रिप्टबाट अफर आयो भने वर्षमा एउटा गर्छु । नभए गर्दिनँ । अब राम्रो फिल्ममा मात्र काम गर्छु ।’ कलाकारले गरेको मिहिनेतअनुसार परिणाम नमिलेको उनको भनाई छ । अहिले नेपाली फिल्मको अवस्था राम्रो नभएको पनि उनी बताउँछिन् । कोरोनापछि नेपाली फिल्मको अवस्था सुध्रने उनको विश्वास छ ।

अभिनेत्री साम्राज्ञी अगाडि थप्छिन्, ‘२ वर्ष अगाडिसम्म नेपाली फिल्मको अवस्था राम्रो थियो । अघिल्लो वर्ष ७० प्रतिशत फिल्मको छायांकन भएकोमा यस वर्ष ३० प्रतिशत पनि भएको छैन । अहिले फिल्म इन्डस्ट्रीका लागि राम्रो समय चलिरहेको छैन । कोरोनापछि सुधार आउनेछ भन्ने आश छ ।’ उनले अब आफू फिल्म गर्न पहिलाको जस्तो क्रेजी नभएको पनि बताएकी छन् ।

फिल्म ‘ड्रिम्स’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी साम्राज्ञीको पछिल्ला कुनै फिल्म बक्सअफिसमा सफल छैनन् । यस वर्ष प्रदर्शनमा आएका दुई फिल्म ‘मारुनी’ र ‘रातो टिका निधारमा’ बाट उनलाई ठूलो आश थियो । तर, यी दुई फिल्मले पनि हलमा घुँडा टेकेपछि साम्राज्ञीको फिल्म अभिनयबाट मन मर्दै गएको छ । उनी अब फिल्म नै नगर्ने मनस्थितिमा समेत पुगिसकेकी छन् ।

तपाईको प्रतिक्रिया