काठमाडौं । अभिनेत्री मनिषा कोइरालालाई अहिले भारतीय मिडिया र सामाजिक सञ्जालमा आक्रमणको तारो बनाइएको छ । नेपाली राष्ट्रियताको पक्षमा मनिषाले गरेको एउटा ट्विटलाई लिएर भारतीयहरू निम्नस्तरको गालीगलौजमा उत्रेका छन् ।

भारतीय मिडियाको आरोप छ– मनिषाले भारतको नुन खाएर चीनको पक्षपोषण गरिन् । एबीपी न्युजले ठाडै भन्यो– खाती नेपाली और गाना गाती चाइनाकी ? उनले चीनकै उक्साहटमा यो ट्विट गरेको भन्नेसम्मको आरोप समाचारमा लगाइएको छ ।

हास्यकलाकार दीपकराज गिरीचाहिँ भारतीय मिडियाको यो प्रोपोगाण्डालाई हास्यास्पद मान्छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले मनिषाको राष्ट्रप्रेम स्वभाविक र सही समयमा प्रकट भएको बताए ।

दीपकराज भन्छन्, ‘मनिषा कोइराला पहिलो नेपाली कलाकार हुन् । जसले त्यो स्थानमा पुगेर गर्वसाथ आफूलाई नेपाली भनेरै चिनाइन् । उनकै हाराहारीमा चर्चा पाएका केही कलाकार आफूलाई नेपाली भन्न रुचाउँदैनन् । तर, मनिषालाई भारतमा पनि नेपाली सुन्दरी भन्ने गरिन्थ्यो । उनी नेपाली छोरी भएकाले नेपालको पक्षमा बोल्नु कुनै अनौठो कुरा होइन ।’

मनिषाले गरेको ट्विटलाई भारतीय मिडियाले ‘ट्विस्ट’ गरेको दीपकराजले बताए । नेपालमा हुने जुनसुकै राष्ट्रवादी संघर्षमा चीनको हात देख्ने भारत सरकार र त्यहाँका मिडियाको सोचाइ नै मुर्खतापूर्ण रहेको उनको टिप्पणी छ ।

उनी भन्छन्, ‘मनिषाले कहाँनेर चीनको समर्थन गरेकी छन् ? नेपाल र चीन मिलेर भारतमाथि धावा बोल्नुपर्छ भनेर लेखेकी छन् र ? उनले त नेपालको सरकारले आफ्नो सीमा रक्षाका लागि लिएको पहलप्रति खुसी व्यक्त मात्रै गरेकी हुन् । यति गर्दा उनीहरूले अनर्गल प्रचार किन गर्ने ?’

अहिलेको समयमा हरेक सच्चा नागरिकले देशको पक्षमा लेख्नु र बोल्नुपर्ने दीपकराजले बताए । मनिषाजस्तो हाइप्रोफाइल अभिनेत्रीले लेखेका कुराले झन् ठूलो महत्त्व राख्ने उनको भनाइ छ ।

‘मनिषाले लेख्दा उनको आवाज बलिउड र भारतभरि फैलियो । तर, मिडियाले उनको ट्विटमा नचाहिँदा मरमसला थपेर अतिरञ्जित बनाइरहेका छन् । भारतीय मिडियाको यो चरित्र हामीले पहिल्यैदेखि देख्दै आएका हौं,’ गिरीले भने ।

एउटा देशको नागरिकले अर्को देशमा काम गर्नु र करिअर बनाउनु अनौठो कुरा नभएको उनी बताउँछन् । तर अर्को देशमा काम गदैमा राष्ट्रभक्ति कम नहुने उनको भनाइ छ ।

‘भारतमा उनले काम गरिन् र पैसा कमाइन् । तर, त्यसको ट्याक्स पनि भारतलाई नै तिरिन् । जति भारतमा कमाएकी छन्, त्यसबापतको ट्याक्स पनि नेपाललाई नभएर भारतलाई नै तिरेकी छन्,’ दीपकराजले भने ।

उनी थप्छन्, ‘भारतको नुन खाइन् भन्नु नै आपत्तिजनक कुरा हो । उनलाई यत्तिकै माया लागेर भारतीयहरूले त्यो स्थानमा पुर्‍याएका होइनन् । आफ्नो अभिनय र प्रतिभाको बलमा पुगेकी हुन् । उनले पनि भारतीय चलचित्र उद्योगलाई योगदान दिएकी छन् । काम गरेपछि पारिश्रमिक कसले पाउँदैन ?’

तपाईको प्रतिक्रिया