नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा परिवारवाद र ग्रुपिज्मको मुद्दा फेरि चर्किएको छ । भारतको पटनामा निर्माता करण जोहरको पुत्ला समेत जलाइएको छ । बलिउडमा करणले सबैभन्दा धेरै परिवारवाद चलाएको आरोप दर्शकको छ ।
यो बिषयमा बलिउड नायिका रविना टन्डनले पनि आफ्नो भनाई सार्वजनिक गरेकी छिन् । उनले, बलिउडमा क्याम्पको खेल खुबै हुने गरेको र आफू पनि परिवारवादको शिकार भएको बताएकी छिन् ।
रविनाले लेखेकी छिन्–‘बलिउडमा गर्ल ग्याङ छ । क्याम्प पनि छ । मानिसहरुको मजाक उडाइन्छ । यहाँ, नायक, उसको प्रेमिका, पत्रकार र नजिकका मानिसहरुको झुटो खबरका कारण मलाई चलचित्रबाट निकालिएको थियो । कैयौ पटक करिअर वर्वाद हुन्छ । तपाइलाई यहाँ टिक्नका लागि संघर्ष गर्न जरुरी छ । कोही यहाँ टिक्न सक्छन् त कतिपयले सक्दैनन् ।’
रविनाले साँचो कुरा गर्दा बलिउडमा झुटो, पागल, साइको घोषणा गर्ने र मिडियाले ठूला ठूला अक्षरमा त्यसलाई लेख्ने पनि उल्लेख गरेकी छिन् । उनले, आफूलाई बलिउडले धेरै कुरा दिएको तर यहाँ हुने गरेको राजनीतिले भने मन अमिले हुने गरेको बताएकी छिन् ।