केही दिनयता नेपाली चलचित्र क्षेत्रमा ‘नेपोटिज्म’ को विषयमा चर्को रुपमा बहस भैरहेको छ । अभिनेत्री नम्रता सापकोटाले चलचित्र क्षेत्रमा नातावाद व्याप्त रहेको बताएपछि अहिले यही विषयमा तर्क वितर्क भइरहेको छ । नम्रताले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो साझेदार गर्दै चलचित्र क्षेत्रमा व्याप्त नातावादका कारण मेहेनत गरेर अगाडि बढ्न खोज्ने कलाकारहरु डिप्रेसनको शिकार भएको बताएकी थिइन् ।
तर, प्रायः चलचित्रकर्मीहरुले चलचित्र क्षेत्रमा ‘नेपोटिज्म’ नभएर ‘ग्रुपिज्म’ रहेको भनाई राखेका छन् । कतिको भने चलचित्र क्षेत्रमा ‘नेपोटिज्म’ र ‘ग्रुपिज्म’ केही नभएको तर्क छ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि नेपाली चलचित्र क्षेत्रमा नातावादको विषयमा बहस सुरु भएकोमा अभिनेत्री नम्रता खुसी छिन् ।
तर, आफ्नो आवाज दबाउन खोजिएको उनको भनाई छ । आफूले देखेको र भोगेको कुरा राखेपछि आफ्नो सोसल मिडिया ब्लक गर्न समुह नै लागिपरेको उनी बताउँछिन् । एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘म सधैं सत्य के हो त्यो बोल्ने मान्छेमा पर्छु । मैले जे देखेँ त्यो बोलेको हुँ । मेरो व्यक्तिगत विचारमा अरुको विमति पनि हुनसक्छ । तर, सत्य तितो लागे पनि नकार्न सकिन्न ।’
‘नेपोटिज्म’ र ‘ग्रुपिज्म’ मा फरक नभएको पनि उनको बुझाइ छ । ‘नेपोटिज्म’ को बारेमा आज आफूले आवाज उठाए पनि भोली यसबारेमा अरु पनि बोल्ने उनको विश्वास छ । नेपाली चलचित्र क्षेत्रमा नातावाद व्याप्त रहेको अभिनेत्री नम्रताको भनाईमा अर्की अभिनेत्री वर्षा सिवाकोटीले पनि समर्थन जनाएकी छन् । आफूले पनि यी कुरा भोगेको उनको भनाई छ ।