असी वर्षभन्दा बढी उमेरका व्यक्तिमा कोरोनभाइरस सङ्क्रमण भए उनीहरू बढी जोखिम समूहमा पर्ने बताइन्छ। यी शताब्दी पुरुषलाई अहिले घरमै नातिले हेर्दै आएका छन्। छिमेकमा पर्ने राजधानी आदिस अबाबामा पहिल्यै निर्धारण नगरिएको जाँचका क्रममा अबा तिलाहुनमा कोरोनाभाइरस फेला पर्‍यो।

बीबीसीको न्यूजडे कार्यक्रमलाई डा. हिलुफ अबातेले बताएअनुसार लक्षण देखिनुभन्दा पहिल्यै अबा तिलाहुनलाई अस्पताल भर्ना गरिएको थियो। तसर्थ चिकित्सकहरूले उनको राम्ररी उपचार गर्न सके अनि नजिकबाट उनको अवस्थालाई नियाल्न सके। डा. हिलुफका अनुसार एका कोतेबे अस्पतालको कोरोनाभाइरस वार्डमा राखिएको चार दिनभित्र अबा तिलाहुनको स्वास्थ्य अवस्था खस्कियो र भाइरसले उनलाई कमजोर बनाइदियो। त्यसपछि उनलाई अक्सिजन दिन थालियो।

चौधदिने अस्पताल बसाइका क्रममा एक साताभन्दा बढी समय अक्सिजन दिएर उनको उपचार गरियो। कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि कडा उपायहरू अवलम्बन गरेको इथियोपियामा ५,००० भन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने ८१ जनाको ज्यान गएको छ।हुन त एका कोतेबे अस्पतालले अबा तिलाहुन ११४ वर्षका भएको पुष्टि गर्न सक्दैन, तर उपचारमा संलग्न चिकित्सक टोलीका अनुसार उनी १०० वर्षभन्दा माथिका पक्का हुन्। चिकित्सकहरू उनको उमेर १०९ हुनसक्ने बताउँछन्।

देशमा अस्थिरता हुँदा जवानीमा उनी दक्षिणी इथियोपियाबाट आदिस अबाबा बसाइँ सरे।आफ्नो जीवनकालमा उनी सन् १९३५ देखि १९४१ सम्म इटलीद्वारा देशमाथि कब्जा गरिएको, सन् १९७४ मा शासक हाइली गेब्रेसेलासीबालाई सत्ताच्युत गरिएको र सन् १९९१ मा मार्क्सवादी डेर्ग शासन ढलेको जस्ता विविध घटनाको साक्षी बने।

अहिले उनले कोभिड-१९ महामारी पनि खेपे। इथियोपियन अर्थोडक्स चर्चमा उनले वर्षौँदेखि एक भिक्षुको रूपमा सामान्य जीवन बिताए। अबाको अर्थ बुवा हुन्छ। तर जवानीमा अबा तिलाहुनले बिजुलीको काम गने र रङ्ग लगाउने मिस्त्री तथा सहायकका रूपमा काम गरेको उनका २४ वर्षीय नाति बिनयाम तिलाहुनले बीबीसीलाई बताए।वयोवृद्ध भएर पनि उनका हजुबुवाले राम्रो गरिरहेका थिए र उनी स्वस्थ देखिन्थे। तर भाइरस लागेपछि स्वर कमजोर बनाइदिएको नातिले बताए।

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि इथियोपिया सरकारले एप्रिलमा देशमा सङ्कटकाल घोषणा गर्‍यो। विद्यालय तथा खेलकुद स्थलहरू बन्द गराइयो भने ठूला जमघट तथा खेलकुद कार्यक्रममा प्रतिबन्ध लगाइयो र सार्वजनिक यातायातमा कटौती गरियो। तर व्यापार-व्यवसाय चाहिँ खुला राखिएको छ।बीबीसी

तपाईको प्रतिक्रिया