बलिउडकी देशी गर्ल प्रियंका चोपडा अहिले मनोरञ्जनको संसारमा नयाँ उचाइ तय गर्ने योजनामा छिन्। प्रियंकाले अमेजन प्राइम भिडियोसँग २ वर्षका लागि फस्र्ट लुक टेलिभिजन सम्झौता गरेकी छन्। यो सम्झौतापछि उनले विश्व टेलिभिजनको दुनियाँमा विदेशी कन्टेट सुरु गर्दै छिन्।
यसका लागि प्रियंकाले अमेजनसँग २ वर्षका लागि ‘मल्टिमिलियन डलर फस्र्ट लुक टेलिभिजन डिल’ मा हस्ताक्षर गरेकी हुन्। यसको जानकारी प्रियंकाले सोसल मिडियामार्फत् दिएकी छन्। प्रियंकाले इन्स्टाग्राम अकाउन्टमा लेखेकी छन्, ‘कलाकार र निर्माताका रूपमा मैले सधैं भाषा र भूगोलभन्दा टाढा गएर रचनात्मक सामग्री पस्कने कोसिस गरेकी छु। मेरो प्रोडक्सन हाउस पर्पल पेबल पिक्चर्स अमेजनसँग नयाँ काम गर्न उत्साहित छ।’
प्रियंकाले भनिन्, ‘एक कथाकारका रूपमा म नयाँ विचार खोज्ने कोसिस गर्छु यसले मनोरञ्जन मात्रै नदिएर दर्शकको दिमाग उघारिदेओस् र नयाँ विचार पैदा गरोस्। म आफ्नो २० वर्षको करिअर हेर्छु। लगभग ६० फिल्म गरेपछि मलाई अनुभव भइरहेछ कि उद्देश्य पूरा गर्न म सही बाटोमा नै हिँडिरहेको छु।’
प्रियंकाले यसअघि अमेजनका दुई उत्पादनमा काम गरिसकेकी छन्। पहिलो रियलिटी डान्स सो ‘संगीत’ थियो जसमा उनले पति निक जोनससँग मिलेर निर्माण गरेकी थिइन्। दोस्रो प्रोजेक्ट ‘एन्थोनी एन्ड जोए रुसोस सिटाडेल’ थियो। यसमा ‘गेम अफ थ्रोन्स’ र ‘बडिगार्ड’ का रिचर्ड मैडन लिड रोलमा थिए।