नेपाल प्रहरीको ‘क्विक रेस्पोन्स टिम’ (क्युआरटी) प्रतिनिधिसभा निर्वाचन २०७४ को दौरानमा गृह मन्त्रालयले ल्याएको अवधारणा हो ।

निर्वाचनमा कुनैपनि घटना भए १० देखि २० मिनेटभित्र प्रहरी पुग्न सक्ने गरी गरी बनाइएको यो अवधारणलाई प्रहरीले देशभरका प्रहरी कार्यालयमा छुटै टिम निर्माण गरेको थियो ।

जसमा छिटो छरितो हुने गरी मोटरसाइकलमा हतियारधारी प्रहरी परिचालन गरिएको थियो । त्यस समय प्रहरीको लागी गृह मन्त्रालय मार्फत झन्डै १३ सय वटा नयाँ मोटरसाइकल उपलब्ध गराइएको थियो ।

निर्वाचन सम्पन्नपछि क्युआरटी अवधारण प्रहरीको लागि उत्कृष्ट साबित ठहरियो ।

केही जिल्ला प्रहरी कार्यालयले यस अवधारणालाई निरन्तरता दिए । तर सीमित मोटरसाइकलको भरमा प्रहरी परिचालन गर्नु समस्या थियो । पछि चाडपर्वको समयमा पनि क्युआरटी अवधारण प्राय प्रहरी कार्यालयले अवलम्बन गरे । सामाजिक सङ्घसंस्थाले उपलब्ध गराएका थप केही मोटरसाइकलको भरमा प्रदेश १ का सुनसरी, मोरङ, झापा र उदयपुर जिल्लामा यो अवधारण निरन्तर चल्यो ।

हाल केही जिल्ला बाहेकले यो अवधारणा सीमित साधन स्रोतको भरमा सञ्चालन भइरहेका छन् ।

प्रहरीका अन्य सवारी साधन भन्दा छिटो घटनास्थल पुगेर रेस्पोन्स गर्ने मोटरसाइकलमा गस्ती गर्ने क्युआरटी अहिले प्रहरी कार्यालयको लागि छरितो युनिट भएको छ ।

समाजमा हुने आपराधिक घटना, हुलहुज्जत, चोरी डकैती, गोली प्रहार तथा सवारी साधनको ‘हिटएन्डरन’ केशमा क्युआरटी टोलीले तत्कालै कारबाही गर्न सक्छ, त्यस कारण प्रहरीको लागि यो अवधारण प्रभावकारिता हुने सुनसरीका प्रहरी उपरीक्षक कमल थापा बताउँछन् ।

‘यदि मध्य बजारको पसलमा लुटपाटको घटना भए पहिलो प्राथमिकता हामी अपराधी पक्राउ गर्न तर्फ ध्यान दिन्छौ, उनीहरू भागेको एरियामा मोटरसाइकल मार्फत पछ्याएर पक्राउ गर्न छिटो र छरितो हुन्छ’ उनले भने ‘त्यस कारण क्युआरटी टिमलाई साधन स्रोतले सम्पन्न बनाउन अति आवश्यक छ’ ।

सुनसरीमा हाल ३१ वटा मोटरसाइकल मार्फत क्युआरटी टिम परिचालित छ । तर यो मोटरसाइकलको संख्या पर्याप्त भने हैन । हाइवेसँग जोडिएका इलाका प्रहरी कार्यालय, तथा चौकीमा कम्तीमा पनि ५–५ वटा मोटरसाइकल भए अपराध न्यूनीकरण तथा सुरक्षा गस्तीमा उल्लेख्य सुधार हुने प्रहरी उपरीक्षक थापाको धारणा छ ।

प्रदेश सरकारद्वारा मोटरसाइकल तथा स्कुटर हस्तान्तरण

आइतबार १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १ नम्बर प्रदेश प्रहरी कार्यालयलाई १७० थान मोटरसाइकल तथा १० थान स्कुटर प्रदान गरेको छ ।

Police प्रदेश प्रहरीलाई प्राप्त भएको मोटरसाइकल तथा स्कुटर जिल्लागत आवश्यकता र औचित्यका आधारमा वितरण गर्ने छ । प्राप्त भएको सवारी साधन जिल्लाको अपराधको अवस्था हेरेर सबै जिल्लालाई बराबरको संख्याले वितरण गर्ने खाका बनाउँदै गरेको प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले अपराध न्युजलाई जानकारी दिए ।

अन्य सवारी साधन भन्दा छरितो हुने भएकाले यसको प्रभावकारिता राम्रो हुनेउ नको धारणा छ ।

‘हामीले विगतमा गरेका काम कारबाहीमा मोटरसाइकलबाट राम्रो उपलब्धि हासिल गरेपछि मोटरसाइकल प्रदेश प्रहरीको पहिलो प्राथमिकता परेको हो’ उनले भने ‘प्रदेश सरकारसँग भएका छलफलमा पनि यसको आबश्यकतको विषयमा कुरा उठाएका थियौ’ ।

स्कुटर भने महिला प्रहरीको लागि उपलब्ध गराइने पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार हरेक प्रहरी कार्यालयमा बनेको ‘क्विक रेस्पोन्स टिम’ (क्युआरटी) अवधारणालाई प्रदेश सरकारबाट प्राप्त भएका यी सवारी साधनले थप ‘एक्टिभ’ बनाउने प्रदेश प्रहरीको योजना समेत रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया