लक डाउन अगाडि नेपाली चलचित्रको निर्माणको गति विस्तारै कम हुँदै थियो । धेरै निर्माता चलचित्र नै बनाउन नसक्ने अवस्थामा थिए । चलचित्र निर्माणको ग्राफ घट्नुको कारण के थियो त ? यसमा दुई कारण मुख्य जिम्मेवार थिए । एक त चलचित्रको व्यापार कमजोर हुँदै जानु । जसलेगर्दा, लगानीकर्ताको आकर्षण चलचित्र क्षेत्रमा घट्दै गैरहेको थियो ।

अर्को, कलाकारको पारिश्रमिक चर्किदा निर्माताले लगानी नै गर्न नसक्नु । यसैले पनि धेरै निर्माता विस्थापित हुने क्रममा थिए । लक डाउनपछि त चलचित्र निर्माणको ग्राफ कती तल जान्छ, भनिराख्न पर्दैन । धेरै कलाकार काम नपाएर छटपटीनुपर्ने अवस्था सिर्जित हुँदैछ ।

नाम चलेका धेरै निर्माता चलचित्र बनाउन नसकिने भन्दै गुनासो गरिरहेका थिए । धेरै निर्माताले मिडिया कुराकानीमा कलाकारले महंगो पारिश्रमिक लिदा चलचित्र बनाउन नसकिएको गुनासो गरिरेहका थिए ।
केही नाम चलेका ‘स्टार कलाकार’ले निर्मातामाथि चर्को पारिश्रमिकको वोझ थपिदिएका थिए । यसैले, चलचित्र क्षेत्रमा संकटको अवस्था सिर्जना भैरहेको थियो ।

कलाकार र प्राविधिक लिदा नै निर्माताले करोडको हारहारीमा लगानी गर्नुपरेपछि हालत के हुन्छ होला ? केही बजारमा चलेका भनिएका कलाकारले पारिश्रमिक बढाउने होडबाजी नै गरे । फलानोले लिदा मैले कम किन लिने भन्ने भ्रममा धेरै कलाकार दौडिए । दीपकराज गिरी र उनको टिमबाहेक कुनै पनि कलाकारले निर्मातासँग शेयर बाँडफाँड गरेर नाफाको ग्यारेन्टी दिने हिम्मत राख्न सकेनन् । बजारबाट निर्माताले लगानीको २५ प्रतिशत पनि फिर्ता गर्न नसक्दा सोही चलचित्रका कलाकारको पारिश्रमिक आकाशियो ।

नायक अनमोल केसी, प्रदिप खड्का, पल शाह, विपिन कार्की, दयाहाङ राइदेखि नायिकाहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, पूजा शर्मा, नम्रता श्रेष्ठ लगायतको पारिश्रमिक छोइ नसक्नु नै भयो ।

तर, महंगो पारिश्रमिक लिएका कलाकारले खेलेका चलचित्रले हावा खाए । साम्राज्ञीले १६ लाख पारिश्रमिक लिएको चलचित्र ‘रातो टिका निधारमा’का निर्माता अशोक शर्मा नराम्रोसँग चिप्लिए । यो चलचित्रले शुक्रबार र शनिबार पनि दर्शक बटुल्न नसक्दा साम्राज्ञीको महंगो पारिश्रमिक र स्टारडममाथि नै प्रश्न उठ्यो ।

अनमोल केसीले खेलेको होम प्रोडक्शनको चलचित्र ‘क्याप्टेन’को शुक्रबारको व्यापार खराब रह्यो । प्रदिप खड्काको ‘रोज र लभ स्टेशन’ नराम्रोसँग चिप्लदा पल शाहले ‘वीर विक्रम २’बाट निर्माता बचाउन सकेनन् ।

पूजा शर्माको ‘पोई पर्यो काले’को व्यापार होस् या नम्रता श्रेष्ठको ‘जाइरा’को खराब व्यापार नै किन नहोस्, बजारमा चलेका भनिएका कलाकार किन महंगो पारिश्रमिक मागिरहेका छन् भन्ने प्रश्न उठ्नु स्वभाविक नै थियो ।

नयाँलाई नहेपौं, स्टारले घमण्ड नदेखाऔं
सोमबार सामाजिक संजालमा स्टाटस कोर्दै गर्दा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले लेखेकी छिन्–‘नव–कलाकारहरुलाई कम पारिश्रमिक दिई उनीहरुबाट बढी भन्दा बढी फाइदा लिने क्रम कहिलेसम्म चल्ने हो ?’ साम्राज्ञीको यो प्रश्न जायज छ । आखिर, नयाँ अनुहार हो भन्दैमा उसलाई पारिश्रमिकको शोषण कहिलेसम्म गर्ने ?

नयाँ अनुहारलाई उसले पाउनुपर्ने पारिश्रमिक दिन कुनै पनि निर्माताले कञ्जुस्याँई गर्न हुदैन । किनकी, नेपाली चलचित्रमा नयाँ अनुहार भएकाले उबाट धेरै फाइदा लिने प्रचलन लामो समयदेखि चल्दै आएको छ । नयाँ अनुहारलाई चलचित्रमा काम गराएर उसको उद्धार नै गरिदिएको सोच राख्ने निर्माता–निर्देशक धेरै छन् । यो प्रवृत्ती हट्न आवश्यक छ ।

तर, यसो भन्दै गर्दा दुई–चार वटा चलचित्र चल्दैमा आफूलाई स्टार सोच्ने र आफ्नो योग्यता र स्टारडम भन्दा बढी पारिश्रमिक माग्ने प्रचलन पनि हट्न जरुरी छ । पछिल्लो समयमा यो शैली चलचित्र क्षेत्रमा हाबी हुँदै गएको छ । कलाकारको क्रेज र स्टारडम उसको काम र बक्स अफिस व्यापार भन्दा पनि पारिश्रमिकका आधारमा तय हुन थालेपछि यो होडबाजी चलेको हो । यहीकारणले गर्दा धेरै निर्माता चलचित्र बनाउन नसकेर पलायन हुने अवस्थामा पुगेका छन् ।

यसैले, नयाँ कलाकारलाई पारिश्रमिकमा शोषण गर्ने प्रचलनको बहस गर्दै गर्दा नाम चलेका कलाकारले पारिश्रमिकको बिषयमा निर्मातासँग गर्ने असुहाउँदो बार्गेनिङको बिषयमा पनि चर्चा गर्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया