काठमाडौँस्थित लाजिम्पाटको पबी जवेलर्सबाट गहन चोरी गरी फरार दुई जनालाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली मोरङबाट पक्राउ गरेको छ ।

१८ फागुनमा रातको समयमा सटर फोडेर उक्त जवेलर्सबाट एक किलो एक सय ५० ग्राम सुन, ८ किलो ५ सय ६० ग्राम चाँदी र नगदसमेत गरी ८५ लाख ६ सय ४२ रुपैयाँ बराबरको चोरी भएको थियो ।

महाशाखाको टोलीले दुई जनालाई मोरङको उर्लाबारी र एक जनालाई काठमाडौँबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरका सुमित भन्ने गङ्गाबहादुर तामाङ, महोत्तरीको बुद्धबहादुर माझी र उदयपुरकै विक्रम भनिने जङ्गबहादुर रायमाझी छन् ।

महाशाखाको (पिलर २) को विशेष टोलीले सुमित र बुद्धलाई मोरङको उर्लाबारीबाट गत २१ असारमा पक्राउ गरी काठमाडौँ लगेको हो । उनीहरू घटना घटाएर आफन्तकहाँ लुकिछिपी बस्दै आएको सूचनाको आधारमा महाशाखाको टोली पछ्याउँदै मोरङ आएको थियो ।

विक्रमलाई भने दरबारमार्गबाट पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए । घटनामा संलग्न दुई जना भारतीय मूलका अभियुक्त फरार छन् ।

प्रहरीका अनुसार उनीहरूले पसलभित्र रहेको सिसी टिभीको डीभीआर समेत बोकेर लगेका थिए । दुई वटा समूहले जेलमा भएको चिनजानपछि पुनः भेला भएर अन्तिम पटक ठुलो काम गर्ने भन्दै चोरी गरेको पाइएको छ ।

एसएसपी थापाका अनुसार कागज, बोतल उठाउने व्यक्तिको हुलियामा सुन, चाँदी पसलको रेकी गरी उनीहरूले चोरी गर्ने गरेका थिए ।

: Source :- Aparadhanews

तपाईको प्रतिक्रिया