चलचित्र क्षेत्र अब चलायमान बनाउन आवश्यक छ । सरकारले विस्तारै विभिन्न क्षेत्रहरुलाई खोल्ने अनुमति दिएपनि चलचित्र क्षेत्रलाई भने अझै कुनै प्रकारको निर्देशिका तयार गरेको छैन । यसैले, पनि चलचित्रकर्मीले न त चलचित्रको छायांकन नै सुरु गर्न सकेका छन् न त हल नै खोल्न सकेका छन् ।

हल संचालकहरुले सरकारलाई निर्देशिका तयार पारेर हल खोल्ने वातावरण बनाइदिन आग्रह त गरेका छन् तर अहिलेसम्म यो बिषयमा सरकारले कुनै ठोस कदम चालेको छैन । ट्याक्सी, सार्वजनिक सवारी साधन, रेष्टुरेन्ट लगायत भिडभाड हुने विभिन्न माध्यमहरु संचालनमा आइसकेका छन् । यसैले पनि चलचित्रकर्मीहरुले सरकारलाई दबाब दिन नपुगेको हो कि भनेर प्रश्न सोझाइरहेका छन् ।

तर, विभिन्न प्रकारका बहस र गसिपमा रमाइरहेका चलचित्रकर्मीहरुलाई चलचित्र कसरी चलाउने र हल कसरी खोल्ने भन्ने बिषयमा बहस गर्ने फुर्सद भने मिलेको छैन । सरकारले हल खोल्ने अनुमति दिएपनि चलचित्र कसरी रिलिज गर्ने भन्ने बहस कतै भएको छैन । यो बिषयमा न त निर्माता संघ न त चलचित्र संघले नै छलफल सुरु गरेका छन् ।

चलचित्र निर्माण गरेर रिलिजका लागि तयार भएका निर्माताले हल खोलेपनि शत प्रतिशत रुपमा दर्शक आउने वातावरण नबनेसम्म चलचित्र रिलिज नगर्ने बताइसकेका छन् । बलिउड चलचित्र पनि दशैं अगाडि रिलिज हुने संभावना छैन । निर्माण भएर रिलिजका लागि तयार भएका दर्जन बलिउड चलचित्र डिजिटल माध्यमबाट रिलिज हुने तय भैसकेको छ । यसैले, नेपाली हलमा बलिउड चलचित्रले मात्र माग नधान्ने निश्चित छ । यस्तो अवस्थामा नेपाली चलचित्र नै रिलिज हुनुपर्छ ।

तर, नेपाली चलचित्र रिलिजका लागि निर्माण भैसकेका निर्माता अहिले नै तयार छैनन् । यस्तो अवस्थामा चलचित्र कसरी रिलिज गर्ने, प्रदर्शक र निर्माता दुबैलाई घाटा नहुने गरि रिलिजको वातावरण तयार गर्ने बिषयमा बहस गर्न आवश्यक छ ।

आफू तयार भैसकेपछि सरकारलाई दबाब दिदा अझै सजिलो हुन्छ ।

तपाईको प्रतिक्रिया