काठमाडौं। राजेश हमाल नेपाली चलचित्र क्षेत्रमा लागेको तीन दशक बढी भयो।
एक समय थियो हमालबिना चलचित्र अधूरा मानिन्थे।
उनी वर्षमै दर्जन बढी चलचित्रमा अभिनय गर्दै आएका थिए। तर, पछिल्लो केही वर्ष यता उनी चलचित्रमा देखिएका छैनन्।
नेपाली चलचित्र क्षेत्रलाई दिएको योगदानका आधारमा उनलाई विभिन्न सम्मान दिइएको छ। त्यही मध्येको एक हो- महानायक।
महानायकको उपाधि पाएसँगै उनी सधैँ विवादमा तानिने गरेका छन्।
चलचित्र प्राविधिक संघले हमाललाई ‘महानायक’ को उपाधि दिएको थियो।
उनले नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै पहिलोपटक आफूहरूले संस्थागतरूपमा ‘महानायक’ को उपाधि दिएको संघका अध्यक्ष पुष्कर लामा दाबी गर्छन्।
“पहिलोपटक नै हामीले उहाँलाई महानायकको उपाधि दिएका हौं। पछि अरूले पनि दिए होलान्। उहाँको योगदानका आधारमा उक्त उपाधि दिएका थियौं”, अध्यक्ष लामाले भने।
चलचित्र प्राविधिक संघले दिनुभन्दा झण्डै तीन वर्ष अगाडि रङ्ग पत्रकार प्रकाश सुवेदीले कान्तिपुर टेलिभिजनमा सञ्चालन गर्ने कार्यक्रम रजतपटबाट हमाललाई महानायकको रूपमा घोषणा गरेका थिए।
रजतपटको ५०औं भाग पूरा गरेको अवसर पारेर हमाललाई महानायकको उपाधिबाट सम्मान गरेको सुवेदीले बताए।
“विशेष कार्यक्रमको आयोजना गरेका थियौं। त्यसमा महजोडीको हातबाट रजतपट सम्मानसहित महानायकको उपाधिबाट सम्मानित गरिएको थियो”, सुवेदीले भने।
आजभन्दा १४ वर्ष अगाडि उक्त उपाधिबाट सम्मानित गर्नका लागि विभिन्न १० वटा बुँदा तोकिएको थियो।
जसमा लगातार १० वर्षसम्म चलचित्र क्षेत्रमा सक्रिय रहेको, सर्वाधिक सफल चलचित्रमा अभिनय गरेको (त्यो समय आफ्नो लगानी सुरक्षित गरेको चलचित्रलाई पनि सफल चलचित्र मानिन्थ्यो), कुनै पनि गुटमा नरहेर तटस्थ अवस्था काम गर्दै आएकोलगायतका मापदण्ड तोकिएको थियो।
त्यही आधारमा हमाललाई महानायकको सम्मान दिइएको सुवेदीको भनाइ छ। आफूहरूले दिएको तीन वर्षपछि चलचित्र प्राविधिक संघले नेफ्टा अवार्ड समारोहमा उक्त उपाधिबाट सम्मान गरेको सुवेदी बताउँछन्।
हमालले महानायक उपाधि पाएसँगै सधैँ तनावमा रहे। हरेक वर्ष यो विषयले चर्चा पाउने गरेको छ।
आखिर उनलाई के-को आधारमा महानायकको उपाधि दिइयो ? यो प्रश्नको स्पष्ट जवाफ कोहीसँग पनि छैन।
आधिकारिकरूपमा उपाधि दिएको दाबी गर्ने संस्था चलचित्र प्राविधिक संघले हमालले चलचित्र क्षेत्रमा पु¥याएका योगदानका आधारमा दिएको बताउँदैं आएको छ।
यदि त्यसो हो भने उनीसँगै चलचित्र क्षेत्रमा अनवरतरूपमा काम गर्दै आएका भुवन केसी, शिव श्रेष्ठलगायतका अभिनेताले योगदान नै पु¥याएका छैनन् त? यो प्रश्न चलचित्र क्षेत्रका अग्रज कलाकारहरूले उठाउने गरेका छन्।
निर्देशक मनोज पण्डित पनि हमाललाई के–को आधारमा महानायकको उपाधि दिइयो भन्ने आफूलाई जानकारी नभएको बताउँछन्।
“त्यो बेला केही व्यक्ति तथा पक्षले आफ्नो स्वार्थका लागि हमाललाई प्रयोग गरेको थिए। उहाँलाई परिचालन गरेर आफ्नो स्वार्थका लागि महानायकको उपाधि दिइएको थियो,” निर्देशक पण्डितले भने।
एक शताब्दीका लागि ‘महानायक’ हुन् अमिताभ
बलिउडमा अमिताभ बच्चनलाई महानायक (सुपरस्टार) को उपाधि प्रदान गरिएको थियो।
एक एजेन्सीले बलिउडका अभिनेताहरूबीच प्रतिस्पर्धा गराएर ‘महानायक’ को ? भन्ने विषयमा पब्लिक भोटिङमार्फत् दिइएको थियो।
अमिताभलाई एक शताब्दी तोकेर उक्त उपाधि दिइएको हो। तर, हमाललाई दिइएको उपाधि कति समयका लागि हो वा सधैँभरिका लागि नै महानायक बनाइएको हो भन्ने खुलेको छैन।
यद्यपि उपाधि दिएको आधारलाई हेर्दा नेपालमा अब अर्को महानायकको जन्म हुने छैन।
चलचित्र निर्देशक तथा नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला पनि हमाललाई कसले र कसरी महानायकको उपाधि दिइयो भन्नेमा जानकारी नरहेको बताउँछन्।
“केही वर्षअगाडि कुनै संस्था तथा व्यक्तिले उक्त उपाधि दिएको भन्ने आएको थियो। तर, के का आधारमा दियो मलाई थाहा भएन,” निरौलाले भने।
साभार :देखापढी