चलचित्र पत्रकार सङ्घ नेपालले आव्हान गरेको कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहितको सोध खोज र वस्तुगत तथ्याङ्कमा आधारित प्रतिवेदन, लेख रचना तथा धारणा सङ्घमा उपलब्ध भएका मध्ये छनौट समितिले मापदण्ड सहित मूल्याङ्कनको आधारमा ४ वटा लेखलाई उत्कृष्ट ठहर गरेको र सो विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ । कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहितको सोध लेखनमा ध्रुव लम्साल उत्कृष्ट भएका छन् ।

यस विषयमा सङ्घमा उपलब्ध भएका मध्ये छनोट समितिले उत्कृष्ट चार लेखलाई चयन गरी शनिबार पुरस्कृत गरेको छ । जसमा उत्कृष्ट हुने पत्रकार ध्रुव लम्साललाई प्रमाणपत्रसहित १५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

सो लेखनमा द्वितीय हुने विष्णु शर्मालाई प्रमाण पत्रसहित १० हजार रुपैयाँ, तृतीय र चतुर्थ हुने क्रमशः मनोज न्यौपाने र रीना मोक्तानलाई प्रमाणपत्रसहित जनही ५-५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

नेपाली चलचित्र क्षेत्रको वर्तमान वस्तुस्थिति र अब कसरी यो क्षेत्र सहज हुन सक्छ भन्ने सम्भावनालाई पनि समावेश गरी चलाइएको यस्तो अभियानले चलचित्र पत्रकारमा लेखन वृत्तिको अभ्यास र प्रोत्साहन हुने सङ्घका अध्यक्ष दिनेश सिटौलाले पुस्कार हस्तान्तरण कार्यक्रममा बताए ।

छनोट समितिमा चलचित्र पत्रकारहरू विदुर गिरी, शान्तिप्रिय, दीपेन्द्र लामा, जीवनकुमार पराजुली र समीर बलामी थिए ।

तपाईको प्रतिक्रिया