केही वर्षयता हिट फिल्मको सिक्वेलले बक्सअफिसमा धूम मच्चाइरहेको अवस्था छ । ‘ए मेरो हजुर’, ‘नाईं नभन्नू ल’, ‘छक्का पञ्जा’ सिरिज यसका उदाहरण हुन् । सिक्वेलप्रति दर्शकले विश्वास गर्न थालेका कारण निर्माताहरु नयाँ नाममा फिल्म बनाउने जोखिम उठाउन छाडेका छन् । सिक्वेल फिल्म निर्माणको लहडमा अभिनेता, निर्देशक तथा निर्माता रोज राणा पनि मिसिएका छन् ।
उनी दशक अगाडिको सुपरहिट फिल्म ‘खलनायक’ को दोस्रो श्रृंखला निर्माण गर्न तम्सिएका छन् । फिल्ममा निर्देशक हेरफेर गरिएको छ । यसको पहिलो पार्टलाई ऋषि न्यौपानेले निर्देशन गरेका थिए । सिक्वेलको क्याप्टेनसिप ‘रणवीर’ फेम्ड निर्देशक गोविन्द सिंह भण्डारीले सम्हाल्दैछन् । मौनता श्रेष्ठले फिल्मको कथा लेखिरहेका छन् । भदौबाट फ्लोरमा जाने तयारीमा निर्माण टिम छ ।
‘खलनायक’ मा राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती र झरना थापाको अभिनय थियो । यसको सिक्वेल निर्माण हुने खबर बाहिरिएपछि फिल्ममा पुरानै कलाकार दोहोरिन्छन् वा नयाँ हुन्छन् भन्ने चासो दर्शकमा छ । निर्माता राणाका अनुसार, फिल्मका लागि अहिलेसम्म कुनै कलाकार छनौट भएका छैनन् । उनले फिल्ममा नयाँ र पुराना कलाकारको समिश्रण हुने बताएका छन् ।
‘खलनायक २’ मा विराज भट्ट, निखिल उप्रेती, राजेश हमाल र झरना थापामा को दोहोरिने सम्भावना प्रवल छ ? बजारमा चलेको चर्चालाई आधार मान्ने हो भने निर्माता रोजले फिल्ममा विराजलाई दोहोर्याउन खोजेका छन् । उनीहरुबीच आत्मीय सम्बन्ध भएको र आधा दर्जन फिल्ममा सहकार्य भएकाले पुनः एकपटक रोज र विराजको टिमअप हुने सम्भावना बलियो रहेको बताइएको छ ।
फिल्मीखबरलाई गोप्य स्रोतले दिएको जानकारी अनुसार, रोज र विराजबीच ‘खलनायक २’ लाई लिएर केही पटक छलफल समेत भइसकेको छ । यस विषयमा रोज भन्छन्, ‘विराजसँग मेरो राम्रो सम्बन्ध छ । हामीबीच ५/६ वटा फिल्ममा सहकार्य भइसकेको छ । विराजसँग मेरो भेटघाट भइरहन्छ । तर, ‘खलनायक २’ मा उहाँ हुनुहुन्छ वा हुनुहुन्न अहिले नै कुनै निश्चित भएको छैन ।’
उनले फिल्ममा विराजसँगै निखिल उप्रेती हुने सम्भावना पनि प्रवल रहेको बताए । उनका अनुसार, यही साउन १५ भित्र कलाकार छनौट गरिनेछ । ‘खलनायक २’ मा अहिलेका एक चल्तीका अभिनेता लिने सोचमा रोज छन् । फिल्ममा निर्माता रोज आफैं खलनायकको भूमिकामा प्रस्तुत हुँदैछन् । यसका लागि केही महिनायता उनी शरीर सुगठित बनाउन मेहेनत गरिरहेका छन् ।