राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, संसद्का सभामुख, उपप्रधानमन्त्री, मन्त्री, संसद्का विपक्षी दलका नेता, उपसभामुख, संवैधानिक निकायका प्रमुखलगायतले रातो पासपोर्ट (कुटनीतिक राहदानी) प्रयोग गर्ने गरेका छन् । नेपाली कलाकारहरुलाई भने सरकारबाट यो सुविधा प्राप्त छैन । उनीहरु हरियो रंगको पासपोर्टमा विदेश भ्रमण गर्ने गरेका छन् ।

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले अब कलाकारलाई पनि रातो रंगको पासपोर्ट प्रदान गर्ने आश्वासन दिएका छन् । शुक्रवार चलचित्र विकास बोर्डको निरीक्षणका क्रममा उनले मुर्धन्य कलाकारहरुलाई रातो पासपोर्ट प्रदान गर्न सकिने बताएका हुन् । यसका लागि अध्ययन गरेर सोही अनुरुपको कार्यक्रम ल्याउन उनले बोर्डलाई निर्देशन पनि दिएका छन् ।

अरु क्षेत्रका व्यक्ति झैँ फिल्म क्षेत्रका व्यक्तिहरुले पनि विदेश जाँदा सोही अनुरुपको पहुँच पाउनु पर्ने मन्त्री खतिवडाको भनाई छ । उनले भने- ‘अरु व्यवसायिक क्षेत्रका व्यक्तिहरुले विदेश जाँदा जुन किसिमको पहुँच पाउनुहुन्छ, कतिले रातो पासपोर्ट माग्नुहुन्छ, कतिले भिआइपी कक्षको प्रयोग गर्न पाउनुहुन्छ । त्यो एउटा मर्यादाक्रम र हाम्रा श्रोतका सीमा हेरेर गर्न सकिने कुरा हो ।’

मन्त्री खतिवडाले सीमित स्रोत साधानका कारण सबै कलाकारलाई रातो पासपोर्टको सुविधा उपलब्ध गराउन असम्भव रहेको पनि बताए । अत्यन्त मुर्धन्य कलाकारहरुलाई सम्मान स्वरुप उक्त सुविधा उपलब्ध गराउन सकिने उनको भनाई छ । उनले कोरोना भाइरसबाट प्रभावितका रूपमा अन्य उद्योग व्यवसायले पाएजस्तै सहुलियत फिल्म क्षेत्रले पनि पाउने आश्वासन दिएका छन् ।

तपाईको प्रतिक्रिया