यस वर्षको साउन महिना शुरु भएको छ । यो महिना नेपाली चेलीहरुका लागि विशेष महिनाको रुपमा लिइन्छ । के पनि भन्न थालिएको छ भने बाटोमा हिडिरहेका नारीहरुलाई हेरेर नै थाह हुन्छ कि यो साउन महिना हो । हातभरि हरियो चुरा र मेहन्दी लगाएर हरियै लुगा लगाएर एक खालको फेसन जस्तै देखिएको छ यो साउन महिना । सानो–सानो नानीदेखि हजुरआमाको उमेरसम्मका सबैले एकै खालको लगाएको देखिन्छ । भनाई के पनि रहेको छ भने विवाहित महिलाले साउन महिनामा हरियो चुरा हातमा मेहन्दी लगाए लोग्नेको आयु बढ्छ रे । अनि अविवाहिता महिलाले लगाए मनले चिताएको पाइने लोभले यो फेसन बढ्दै गएको पाइन्छ । एकातिर धर्म संस्कृति होला भने अर्को तिर यो फेसन जस्तै पनि बन्दै गएको छ । हरियो चुरासँग श्रीमानको स्वास्थ्यको के र कुन आधारमा सम्बन्ध छ त्यो त थाहा छैन तर हामीहरु यो सबै गरिरहेका छौ ।

साउन महिना प्रकृतिक रुपले नै हरियो हुने भएकाले नारीहरुले यस्तै खालको रङ्गको समायोजन गर्दा तादाम्य मिलेको देखिन्छ । हरियो चुरा, पोते, मेहन्दी लगाउने कहीँ कतै शास्त्रीय मान्यता नभेटीए पनि पछिल्लो समयमा यसको चलन बढ्दै गएको छ । अथवा यसले एउटा फेसनको रुपमा हामी बीचमा जबरजस्त आफ्नो उपस्थिति देखाएको छ । यो महिनालाई शिवजीको महिना भनेर पूजा आजा गरिन्छ । यो एउटा आस्था पनि हो । पछिल्लो समयमा देशलाई धर्म निरपेक्ष भनिए पनि हाम्रो देश हिन्दूहरुको बाहुलियता भएको देश हो । हिन्दू धर्ममा हरेक दिन केही न केही चार्ड पर्व तिथिहरु रहेका हुन्छन् । हामीले साउन महिनाको १ गते साउन महिनाको पहिलो दिन साउने संक्रान्तिको रुपमा मनायौँ ।

साउन महिना फेरि हुन्दू नारीहरुका लागि त्यतिकै महत्वको रहेको छ । शिवजीको आराधनाका रुपमा लिइन्छ यो महिनालाई । हिन्दू संस्कृतिमा श्रावण महिनाको पहिलो दिनलाई साउने संक्रान्तिपर्वको रुपमा लिइन्छ । हिन्दू धर्मावलम्बीहरूले मनाउने चाडहरूमध्ये साउने संक्रान्ति पनि एउटा महत्वपूर्ण चाडपर्वको रुपमा हामीले मनायौं । ज्योतिष शास्त्रानुसार सौर्य तिथिको हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायण हुने हुनाले यसलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो भन्नु हुन्छ ज्यो पं.भरतमणी मरासीनी ।
उहाँका अनुसार सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्व पूर्ण मानिन्छ ।

साउने संक्रान्तिका दिन देखि सूर्य उत्तरी गोलार्दबाट दक्षिणिगोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन छोटो र रातलामो हुँदै जाने विश्वास गरिन्छ । साउन महिनाले नेपालीखास गरी हिन्दू धर्मसँग सम्बन्धित परम्पराका चाडहरुलाई भित्रयाउने भनाइ छ । नेपालभर स्नान, दान, होम, श्राद्धजस्ता विशेषकार्यको सुरुवात यहि दिन देखि गरिन्छ । हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिनहुने भएकोले हिन्दूधर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनीगर्ने प्रचलन छ । साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजागर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ । विवाहीत महिलाहरु साउने संक्रान्ति देखि साउन महिना भर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार ब्रत बसी शिवको पूजा आराधना गर्दछन् । धार्मिक दृष्टिले साउन महिना पवित्र महिना मानिन्छ । त्यसमा पनि साउनको सोमबारको छुट्टै महत्व रहि आएको छ । परम्परागत संस्कृतिलोप हुँदै गएको बताइए पनि नेपाली महिलाहरुले भने साउन महिनाको सोमबारलाई विषेश रुपमा मनाउँदै आएका छन् । कसैले परम्परा जोगाउनको लागि त कसैले फेसनकै रुपमा हरिया चुरा र मेहेन्दी लगाएर साउने सोमबार मनाउने गरेका छन् ।

हिन्दु महिलाहरुले साउन महिनालाई विशेष महत्वका रुपमा लिने गरेका छन् । साउन महिनामा पार्वतीले शिवलाई पाउनका लागि ब्रत बसेको र ब्रतकै कारण पार्वतीले शिवजी पाएको धार्मिक विश्वासमा नेपाली महिलाहरुले श्रीमानको भलाइको कामना गर्दै ब्रत बस्दै आएका छन् । हरेक वर्षको साउनको सोमबार नेपाली हिन्दू महिलाहरु ब्रत बस्ने गर्दछन् । साउन महिनाभर माछा मासु नखाई, हरियो चुरा र मेहेन्दीलगाई ब्रत बस्दा अविवाहित महिलाहरुले राम्रो वर र विवाहितहरुले आफ्नो पतिको आयु लामो हुने तथा परिवारमा सुख शान्ति र अटल सौभाग्य प्राप्तहुने जनविश्वास रहेको छ ।

साउन महिनाको हरेक सोमबार विहानैदेखि महिलाहरुको काठमाडौंको पशुपतिनाथ मन्दिर तथा देशका अन्य शिवमन्दिरहरुमा पनि महिलाहरु श्रद्धा भक्तीपूर्वक पूजा अर्चना गर्ने गर्दछन् । साउन महिनामा चारैतिर हरियालीसँगै ब्रतालु महिलाहरु हरिया चुरामा सजिन्छन् । यसैले पनि यति बेला राजधानीका शहर बजारमा मेहेन्दी र हरिया चुरा लगाउनेहरुको संख्याबाक्लो छ । र पसलेलाई पनि चुरा बेच्न तथा मेहेन्दी लगाइदिन भ्याईनभ्याई छ ।

हिजोआज हरियो चुरा, हरियै रंगका कपडा तथा मेहन्दीहरुको व्यापार बढेको छ । काठमाडौंको विशेषतः न्यूरोड, असन, पुतलीसडक, सुनधारा, पशुपतिनाथ मन्दिर आसपासका पसलहरुमा हरियो चुरा र मेहन्दी लगाउने युवतीहरुको भीड नै लाग्ने गर्दछ । यसरी पसलहरुमा भीड लाग्नुको मुख्य कारण भनेको अरुको सिको गर्नु हो । धर्म कर्ममा विश्वास भन्दा पनि फेसनकै आधारमा युवतीहरु पछि लागेकाले पनि यस्को व्यापार बढेको देखिन्छ ।

पछिल्लो समयमा फेसनले गर्दा चाडवाड र संस्कृतिहरु जोगिरहे पनि वास्तवमा आफ्नो संस्कृतिलाई जीवन्त बचाइ राख्नुपर्छ भन्नेहरुको पनि कमी छैन । हाम्रा सांस्कृतिक धरोहरहरुलाई जोगाइ राख्न के युवा के युवती वा वृद्ध वृद्धाहरु नै किन नहुन, सबै लागि परे हाम्रो देश सधैंभरि सांस्कृतिक र धार्मिक सम्पदामा धनी भइरहने छ ।

तपाईको प्रतिक्रिया