फिल्म ‘टलकजंग भर्सेस टुल्के’ पछि निर्देशक तथा अभिनेता निश्चल बस्नेत फिल्म ‘दिमाग खराब’ बनाउने तयारीमा थिए । तर, चलचित्र विकास बोर्डबाट निर्माण इजाजत नै नलिइ फिल्मको घोषणा गरेपछि यो नाम अर्कै कम्पनीले दर्ता गर्‍यो । यसपछि निश्चलले ‘लुट २’ निर्देशन गरे । बोर्डमा नाम दर्ता गराएको तीन वर्षसम्म फिल्म नबने निर्माण इजाजत स्वतः रद्द हुने प्रावधान छ ।

‘दिमाग खराब’ तीन वर्षसम्म निर्माण नभएपछि निश्चलले यो नाम आफैंले निर्माण र निर्देशन गर्ने गरि विकास बोर्डमा दर्ता गरे । यसपछि उनी स्क्रिप्ट लेखनमा बसे । केही कलाकारसँग मौखिक सहमति समेत भइसकेको थियो । तर, आफूले लेखेको स्क्रिप्ट आफैंलाई चित्त नबुझेपछि उनी निर्देशनबाट पछाडि हटे । यसपछि यो नाममा फिल्म बनाउन निर्देशक सिमोस सुनुवार कसिए ।

निश्चलले निर्माण र सिमोसले निर्देशन गर्ने गरि उनीहरुबीच सहमति भएको थियो । फिल्ममा निश्चल र अभिनेत्री स्वस्तिमा खड्का प्रमुख भूमिकाका लागि फाइनल भएका थिए । तर, अब यो फिल्म नबन्ने भएको छ । निर्देशक सुनुवार स्वयंले यसको जानकारी दिएका हुन् । उनका अनुसार, फिल्मको कन्सेप्ट एक बलिउड फिल्मसँग मिल्दोजुल्दो भएपछि ‘दिमाग खराब’ नबन्ने भएको हो ।

निर्देशक सुनुवारले फिल्मीखबरसँग भने- ‘फिल्मको स्क्रिप्ट लगभग ‘लक’ भइसकेको थियो । त्यही बेला बलिउड फिल्म ‘मोतीचुर चकनाचुर’ रिलिज भयो । यो फिल्मसँग ‘दिमाग खराब’ को कन्सेप्ट धेरै हदसम्म मिल्न गयो । यसपछि हाम्रो योजना पनि चकनाचुर भयो । फिल्ममा निश्चल विदेशबाट फर्किएको युवक र स्वस्तिमा विदेश जान मरिहत्ते गर्ने युवतीको भूमिकामा देखिँदै थिए ।’

‘दिमाग खराब’ नबन्ने भएपछि निर्देशक बस्नेत यतिबेला आफैं फिल्म निर्देशनको तयारीमा जुटेका छन् । लेखक बुद्धिसागरले तयार पारेको स्क्रिप्टमा उनले नयाँ फिल्म बनाउन लागेका हुन् । फिल्ममा दयाहाङ राई, स्वस्तिमा खड्कालगायतको अभिनय हुनसक्ने चर्चा छ । आउँदो दशैंपछि फिल्मको छायांकन हुने बुझिएको छ । ‘लुट २’ पछि निश्चल फिल्म निर्देशनमा फर्किन लागेका हुन् ।

तपाईको प्रतिक्रिया