नेपाली फिल्मले ६ दशक लामो यात्रा पार परिसकेको छ । यो अवधिमा फिल्म क्षेत्र कयैन् आरोह-अवरोहको साक्षी बन्यो । तत्कालिन माओवादीले गरेको जनयुद्धमा यो क्षेत्र धरासायी भएको थियो । शान्ति प्रक्रियापछि फिल्म क्षेत्र केही हदसम्म तंग्रियो । तर, पहिलो संविधान सभाको निर्वाचनपछि मुलुकमा बढेको राजनीतिक अस्थिरताको असर फिल्म क्षेत्रले पनि भोग्यो ।

त्यसपछि २०७२ सालमा गएको महाभूकम्पका कारण लामो समय फिल्म क्षेत्र अस्तव्यस्त बन्यो । यो परिस्थितिलाई पनि पार गरेर उठेको फिल्म क्षेत्रले यतिबेला अर्को विषम परिस्थितिको समाना गर्नुपरेको छ । कोरोना भाइरसको महामारीका कारण फिल्म क्षेत्र ठप्प भएको चार महिनाभन्दा बढी भइसकेको छ । सम्भवतः पहिलो पटक फिल्म क्षेत्रले यति लामो समय विश्राम लिएको हो ।

चार महिना लामो लकडाउन सरकारले अन्त्य गरे पनि फिल्म क्षेत्रमाथि प्रतिबन्ध कायमै छ । फिल्म निर्माण नहुँदा हजारौं प्राविधिकको घरमा चुलो बल्न छाडेको छ । कलाकारहरु कामविहीन भएका छन् । निर्माताहरुले लाखौं क्षति बेहोर्नुपरेको छ । सिनेमा हल बन्द हुँदा हल सञ्चालकको करोडौंको लगानी जोखिममा परेको छ । यतिबेला फिल्म क्षेत्रमा समस्याका चांग मात्र छन् ।

निर्देशक नवल नेपालले भने सामुहिक हातेमालोले यो विषम परिस्थितिबाट फेरि नेपाली फिल्म क्षेत्र तंग्रिने विश्वास व्यक्त गरेका छन् । शुक्रवार फेसबुकमा स्टाटस लेख्दै उनले घाइते रहँदा पनि युद्ध गर्ने कला र आदत फिल्मकर्मीसँग भएकाले यो परिस्थितिलाई जितेर उठ्ने बताएका छन् । उनले यसअघि पनि फिल्म क्षेत्रले विभिन्न कठिन परिस्थितिको सामना गरेको स्मरण गरेका छन् ।

उनले लेखेका छन्, ‘जनयुद्ध सुरु भएयता अत्तालिएको सिने क्षेत्र २०५८ देखि विचलित नै बन्यो । ०६२/०६३ को परिवर्तनपछि तंग्रिन खोजेको सिने क्षेत्र पहिलो संविधान सभाको चुनावपछि विभिन्न राजनैतिक बाछिटाको ओस खेप्न पुग्यो । प्राविधिकहरुको सपना, श्रृजना र पेशा अनेक बहानामा निमोठिँदै गए, सक्नेले लड्दै गयौं । ०७२ को प्राकृतिक विपत्ति (भूकम्प) को जङ्घारलाई पनि तरेर आएको यो क्षेत्र सबैको प्रयासमा फूल्न सफल भयो ।’

कोरोनाका कारण फिल्म क्षेत्रले अप्ठ्यारो स्थितिको सामना गरिरहेको उल्लेख गर्दै निर्देशक नेपालले थपेका छन्, ‘ढिलो चाँडो हामी श्रमजीवि चलचित्रकर्मी, यसमा आवद्ध वितरक, प्रदर्शकसहित पत्रकार र कलाप्रेमी दर्शकहरुको सामुहिक हातेमालोले फेरि तंग्रिने छ । फेरि मौलाउने छ । किनकि, घाइते रहँदा पनि युद्ध गर्ने कला र आदत हामीसँग छ । संकल्प गरौं । हामी उठ्ने छौं ।’

तपाईको प्रतिक्रिया