काठमाडौं । गाईजात्रा सुरु हुनुभन्दा दुई साता अघिबाटै विगतमा नेपाली हास्यव्यंग्य कलाकारहरूको व्यस्तता बढ्थ्यो । तर, यसपटक हास्यव्यंग्य कलाकारहरूलाई विगतको जस्तो चटारो छैन । कोरोना संक्रमण महामारीका कारण सरकारले यसपटक १५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन नपाउने निर्देशन दिएको छ । सोही कारण यसपालि गाईजात्रामा ठूला हलमा टिकट काटेर दर्शकलाई देखाउन गाईजात्रा स्टेज कार्यक्रम नहुने भएको छ ।

विगतका गाईजात्रामा स्टेज कार्यक्रम गर्दै आएको तीतो सत्य, जिरे खुर्सानी, मेरी बास्सै, सक्किगो नि त जस्ता समूहले कोरोनाकै कारण यसपटक गाईजात्रा नगर्ने भएका छन् । तर, केही कलाकारले भने यसपटक डिजिटल माध्यमबाट भर्चुअल गाईजात्रा कार्यक्रम सुरु गरेका छन् ।

यसै विगतझंै यसपटक पनि विभिन्न कलाकारलाई स्टुडियोमा भेला गराएर हास्य अभिनेता मनोज गजुरेलले बिहीबारबाटै यो वर्षको गाईजात्रा महोत्सव सुरु गरेका छन् । उनले यो गाईजात्रा महोत्सवलाई स्टुडियोमा छायांकन गराएर आफ्नो युट्युब च्यानल गजुरियलमार्फत प्रदर्शन सुरु गरेका छन् । आफ्नो यो गाईजात्रा महोत्सव गजुरियल च्यानलबाट लगातार सात दिनसम्म आउने मनोज गजुरेलले बताएका छन् ।

विगतको जस्तो स्टेजमा दर्शकलाई भेला गरेर गाईजात्रा कार्यक्रम गर्न यसपटक कोरोना संक्रमणका कारण सम्भव भएन

उनले पहिलो दिन बिहीबार अग्रज हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यको विशेष प्रहसन र वार्तालाप प्रस्तुत गरे । पहिलो दिनको शृंखलामा गायक यमन श्रेष्ठले गीत, कवि शैलेन्द्र सिम्खडाले कविता प्रस्तुत गरे । पहिलो दिनको शृंखलामा हास्य अभिनेता मनोज गजुरेलले डब्लूएचओका डाइरेक्टर जनरल डा. मेड्रोस बनेर प्रहसन प्रस्तुत गरे ।

यस्तै, उनको गाईजात्रा महोत्सवको दोस्रो दिन बिहीबारको शृंखलामा गायक पशुपति शर्माले आफ्नो व्यंग्य गीत प्रस्तुत गरे भने कमेडी च्यम्पिएनका सुमन कोइरालाले प्रहसन, चट्याङ मास्टरले व्यंग्य कविता र राजा राजेन्द्रले प्रहसन प्रस्तुत गरे । यस्तै, तेस्रो दिन शनिबारको प्रस्तुतिमा मनोज गजुरेल आफूसहित सुबोध गौतम, भरतमणिले प्रहसन प्रस्तुत गरे । कवि लक्ष्मण गाम्नामेले व्यंग्य कविता प्रस्तुत गरे । अभिनेत्री केकी अधिकारीले सञ्चालन गर्ने यो महोत्सव अझै चार दिन भर्जुअल रूपमा आफ्नो च्यानलबाट नियमित आउने हास्य अभिनेता मनोज गजुरेलले बताएका छन् ।

हास्य अभिनेता गजुरेलको भनाइमा विगतको जस्तो स्टेजमा दर्शकलाई भेला गरेर गाईजात्रा कार्यक्रम गर्न यसपटक कोरोना संक्रमणका कारण सम्भव भएन । त्यसैले दर्शकको घर घरमै डिजिटल मध्यमबाट आफूहरूले भर्चुअल रूपमा गाईजात्रा महोत्सव पु-याएको पनि गजुरेलले बताए । यसो हुँदा दर्शकले गाईजात्रा महोत्सवको मजा पनि दिन पाउने र यो कार्यक्रमका लागि कोरोनाको जोखिम पनि मोल्नुनपर्ने उनले बताए ।

कलाकार गजुरेलले भर्चुअल गाईजात्रा महोत्सव गरिरहेको बेला अरू हास्यव्यंग्य कलाकारहरूले पनि डिजिटल माध्यमबाटै गाईजात्रा कार्यक्रम यतिबेला प्रस्तुत गरिरहेका छन् ।

हास्यव्यंग्य कलाकार शिवशंकर रिजाल– जोगिन्दर पानवाला)ले पनि ‘लकडाउन २०७७ गाईजात्रा’ कार्यक्रम ल्याएका छन् । उनले पनि यसपटक आफ्नो प्रस्तुति डिजिटल माध्यमबाट सार्वजनिक गरेका छन् । आफ्नो यो १७औं हास्यव्यंग्य गाईजात्रा कार्यक्रम भएको उनले बताएका छन् । यो प्रस्तुतिमा शिवशंकरले गाईजात्राको पीडा व्यक्त गरेका छन् । यस्तै, अभिनेत्री रोशनी केसीले गोजीमा दाम छैन…गीतबाट कोरोना संक्रमणपछि अहिलेको आर्थिक मन्दी अवस्थालाई व्यंग्य गरेकी छन् ।

यस्तै, रोशनीले जनताको मर्म नबुझ्ने नेता केही पनि काम छैन भनेर यो गीतबाट नेताहरूलाई व्यंग्य गरेकी छन् ।
‘स्टेजबाट गाईगात्रा कार्यक्रम गर्न सम्भव नभएपछि हामीले डिजिटल रूपमै गाईजात्रा कार्यक्रम प्रस्तुत गरेका हौं,’ शिवशंकरले राजधानीसँग भने, ‘कोरोना संक्रमण र लकडाउन अवधिको सेरोफेरो र हाल घटेका राजनीतिक विषयवस्तुसम्बन्धी घटनाहरूलाई समावेश गरी यो गाईजात्रा प्रस्तुति ल्याएको छु ।’

ओएसआर डिजिटलबाट प्रस्तुत गरिएको उनको यो गाईजात्रा कार्यक्रममा अभिनेत्री रोशनी केसीसहित गायिका राधिका हमाल, कलाकारहरू शशि थापा, कुमार गजुरेल, शिवराम कार्की, धीरेन्द्र सिंह, शंकर कार्कीको हास्य प्रस्तुति समेटिएको छ । यो गाईजात्रा कार्यक्रममा अहिलेको राजनीतिक विकृति र विसंगति, भारतले नेपालको भूमि अतिक्रमण गरेका, पश्चिम रुकुममा छुवाछूतको नाममा भएको हत्याजस्ता विभिन्न विषयवस्तुमाथि व्यंग्य गरिएको छ ।

यस्तै, हास्य अभिनेता रवि डंगोलसहित विभिन्न कलाकारले यसपटक गाईजात्रा प्रस्तुतिका रूपमा कविता, प्रहसनजस्ता कार्यक्रम डिजिटल मध्यामबाट प्रस्तुत गरेका छन् । कोरोना संक्रमणका कारण गाईजात्रा स्टेज कार्यक्रम प्रस्तुत गर्न नसके पनि युट्युब च्यानलबाट हास्यव्यंग्य कलाकारहरूले दर्शकलाई गाईजात्रा प्रस्तुति दिनेक्रम अहिले जारी छ ।

तपाईको प्रतिक्रिया