नेपाली फिल्म क्षेत्र ठप्प भएको पाँच महिना भइसकेको छ । सरकारले कोरोना रोकथामका लागि घोषणा गरेको लकडाउन अन्त्य भए पनि यो क्षेत्र पुनः सञ्चालनमा आएको छैन । संक्रमितको संख्या बढिरहेको अवस्थामा पुनः लकडाउन हुनसक्ने चर्चा चलिरहेको छ । संक्रमणले भयावह रुप लिइरहेको अवस्थामा सरकारले तत्काल फिल्म क्षेत्र खेल्न अनुमति दिने सम्भावना न्यून छ ।

फिल्मकर्मीहरु भने आजको भोली चलायमान हुने क्षेत्र नभएकाले निर्देशिका बनाएर फिल्म क्षेत्र सञ्चालनको अनुमति दिनुपर्ने माग गरिरहेका छन् । तर, फिल्मसँग सम्बद्ध संघ संस्थाहरुबीच फिल्म क्षेत्र खुल्ला भएपछि फिल्म निर्माण र प्रदर्शनको वातावरण कसरी मिलाउने भन्ने विषयमा छलफल हुन सकेको छैन । न त चलचित्र विकास बोर्ड नै यो विषयमा गम्भीर देखिएको छ ।

सरकारले फिल्म क्षेत्र खुल्ला गरेपछि फिल्म निर्माणको गति बढाउनु पहिलो चुनौती हो । किनकि, कोरोनाको भयले तत्काल हलमा दर्शक नआउन नसक्छन् । यसका लागि फिल्म निर्माणको गति बढाएर फिल्म क्षेत्रलाई चलायमान बनाउनु पर्ने हुन्छ । तर, कलाकार, प्राविधिक र उपकरण व्यवसायीहरु मुल्य घटाउन तयार भए मात्र यो सम्भव रहेको निर्माता-निर्देशकहरुको भनाई छ ।

‘क्याप्टेन’ फेम्ड निर्देशक दीवाकर भट्टराई पनि कलाकार र प्राविधिकले पारिश्रमिक घटाएर निर्मातालाई फिल्म निर्माणका लागि सहज वातावरण बनाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘यो अवस्थामा ठूलो लगानीमा फिल्म बनाउनु जोखिमपूर्ण हुन्छ । फिल्मको लागत बढ्न नदिन कलाकार, प्राविधिकसँगै क्यामेरालगायतका उपकरण उपलब्ध गराउने कम्पनीले केही छुट गर्नुपर्छ ।’

फिल्ममा ठूलो लगानी गर्ने वातावरण नभए पनि कम्प्रमाइज गर्न नहुने उनको तर्क छ । ‘लगानी बढाउनु हुन्न भनेर फिल्मलाई आवश्यक पर्ने कुरामा कञ्जुसाइँ गर्न भने मिल्दैन । सबै मिलेर पारिश्रमिकलगायतका पाटोमा सहयोग गर्न सक्यौं भने सानो लगानीमा पनि राम्रो फिल्म बन्छ,’ उनी सुनिए । नयाँ फिल्मको तयारीमा रहेका उनी अहिले श्रीमतीसँग चितवन घुमघाममा छन् ।

सरकारले छायांकन अनुमति दिएपछि उनी ‘तिमीसँगै हुन मन छ’ फिल्मको छायांकन थाल्ने योजनामा छन् । उनले भने- ‘सरकारले छायांकन अनुमति दिएर पनि नहुने अवस्था छ । घर, रेस्टुरेन्टलगायतका ठाउँमा फिल्मको छायांकन गर्नुपर्छ । कोरोनाको भयले ती ठाउँमा छायांकनका लागि अनुमति नै पाउन गाह्रो छ ।’ उनी लोकेशन बुझ्न केही दिनमा चितवनबाट पोखरामा प्रस्थान गर्दैछन्

तपाईको प्रतिक्रिया