काठमाडौं। मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७६’ का लागि सातवटा पुस्तक छनोट गरेको छ।

गुठीलाई प्राप्त १५१ पुस्तकमध्ये सातवटा पुस्तक छनोटमा परेका हुन्।

प्राप्त भएका पुस्तकहरूमध्येबाट बढीमा १० पुस्तकको सूची तयार पार्न समिति गठन गरिएको थियो।

समितिले सात पुस्तक छनोट गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए। जसमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रब्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १-३), चन्द्रप्रकाश बानियाँको महारानी, ललित विष्टको मोहपथ र शारदा शर्माको यात्रामा रहेका छन्।

छनोटमा परेको यी सात पुस्तकमध्ये एउटा २०७६ सालको मदन पुरस्कार प्रदान गरिनेछ। २०७५ सालको मदन पुरस्कार योगेश राजद्वारा लिखित ‘रणहार’ लाई प्रदान गरिएको थियो।

वि.स. २०१२ सालमा स्थापना भएको मदन पुरस्कार गुठीले पहिलोपटक २०१३ सालमा सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली र बलराम जोशीले उक्त पुरस्कार पाएका थिए।

चार लाख राशिको उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आइएको छ।

तपाईको प्रतिक्रिया