फिल्म ‘प्रेमगीत ३’ बाट अभिनेताको रुपमा डेब्यू गर्न लागेका मनिष राउतले नयाँ फिल्ममा अभिनेत्री द्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्मासँग अनस्क्रिन रोमान्स गर्ने भएका छन् । तीनै कलाकारसँग बिहिबार निर्माण टिमले कागजी सम्झौता गरेको हो । यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका प्रवेश पौडेलले फिल्मको निर्देशन गर्नेछन् । फिल्मको नाम भने फाइनल भएको छैन ।

प्रवेशले ओस्कार इन्टरनेशनल कलेजबाट निर्देशन बिषय अध्ययन गरेका हुन् । उनका अनुसार, अहिले फाइनल स्क्रिप्टमा काम भइरहेको छ । यूवा मनोविज्ञानमा आधारित हुने फिल्ममा उपयुक्त कलाकार छान्ने क्रममा साम्राज्ञी, आना र मनिषलाई छनौट गरिएको उनले बताए । अब फिल्मका लागि एकजना पुरुष कलाकार र एकजना महिला कलाकारको खोजी भइरहेको छ ।

‘हामीले अडिशनबाट छान्ने प्रक्रियामा छौँ’, निर्देशक पौडेलले भने- ‘कमिङ् एज’ को कथामा हामीले दुई बर्षदेखि काम गरिरहेका थियौँ, अब भने यसले मूर्तरुप लिन लागेको छ । कोरोना महामारी पश्चात सहज वातावरण बनेपछि हामी फ्लोरमा जानेछौँ ।’ ‘डक्टर डेनिम’ को प्रस्तुतीमा बन्ने यस फिल्मका निर्माता छत्र जंग पाण्डे र अनुप पौडेल हुन् । सह-निर्मातामा करन साउद रहेका छन् ।

नेपाली फिल्मकी महंगी अभिनेत्रीको रुपमा चिनिएकी साम्राज्ञीले यो फिल्ममा कति पारिश्रमिक बुझेकी छन् भन्ने निर्माण टिमले खुलाएको छैन । उनी पछिल्लो पटक फिल्म ‘रातो टिका निधारमा’ देखिएकी थिइन् । त्यस्तै, आना ‘द म्यान फ्रम काठमाडौं’ पछि पर्दामा देखिएकी छैनन् । साम्राज्ञी, आना र मनिषलाई एकसाथ स्क्रिनमा हेर्न दर्शकलाई निकै रोचक हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया