काठमाडौं : कैलालीका फोटो पत्रकार झग्गुप्रसाद चौधरीले ‘कोभिड–१९ फोटो प्रतियोगिता’ मा प्रथम भएका छन् । फोटो पसलले १८१ औँ विश्व फोटोग्राफी दिवसका अवसर पारेर बुधबार आयोजना गरेको प्रतियोगितामा फोटो पत्रकार चौधरी प्रथम भएका हुन् ।
कोभिड–१९ को असर र डरत्रासको बीचमा बितेको दैनिकी तथा कोरोनाबाट बच्न अपनाउन सकिने उपाय एवं असरबारे देशभरिबाट आएका फोटोहरुमध्ये उत्कृष्ट बिजेताको लागि छनोट गरिएको थियो । यस्तै, फोटो पत्रकार रविन कार्की दोस्रो र राधिका कँडेल तेस्रो भएका छन् । तृतीय कँडेल राष्ट्रिय समाचार समिति (रासस) पोखरामा कार्यरत छन् ।
देशभरबाट सङ्कलन भएका झण्डै दुई हजार फोटोबाट प्रथम, द्वितीय र तृतीय फोटो छनोट गरिएको हो । कोरोना माहामारीको सङ्क्रमणलाई ध्यान दिँदै भर्चुअल कार्यक्रममार्फत प्रतियोगिताको विजेता घोषणा गरिएको फोटो पसल प्रालिका अध्यक्ष योगेन्द्रजङ्ग बस्नेतले जानकारी दिए ।
फोटो छनोटका लागि वरिष्ठ फोटो पत्रकार विकास रौनियार, नरेश श्रेष्ठ र मधुसुदन पौडेल रहेको तीन सदस्यीय समिति गठन गरिएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु २५ हजार, द्वितीयलाई नगद रु १० हजार तथा तृतीयलाई नगद रु पाँच हजार प्रदान गरिएको थियो ।