कोरोनाका कारण जारी लकडाउनको समयमा सबैभन्दा धेरै कमाई गर्ने नेपाली कलाकार को होला ? जो कोहीले यसको जवाफ फ्याट्ट दिन सक्छन्- पल शाह । लकडाउन खुकुलो भएपछि उनले म्यूजिक भिडियोबाट लाखौं छापे । फिल्म र म्यूजिक भिडियोमा राम्रो माग भएका उनले लकडाउन भएयता दुई दर्जन बढी भिडियोमा अभिनय गरेका छन्, जुन यूट्युबमा रुचाइएका पनि छन् ।

कोरोनाको संक्रमणबाट बच्न लकडाउन भएपछि फिल्म निर्माण र प्रदर्शन रोकिएको छ । जसले गर्दा उनी अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा आउन सकेन भने फिल्म ‘दुई नम्बरी’ को छायांकन अधुरैमा रोकियो । फिल्मबाट फुर्सद भएपछि पैसाको लोभमा आँखा चिम्लिएर म्यूजिक भिडियोमा काम गर्ने गरेका उनले बन्दाबन्दीकै समयमा दुई फिल्म पनि साइन गरे ।

कोरोना भाइरसको महामारी अन्त्य भएपछि छायांकनमा जाने फिल्म ‘हुतुतु’ मा उनी प्रमुख भूमिकामा अनुबन्ध भएका छन् । फिल्ममा उनीसँगै हरिवंश आचार्य, राजाराम पौडेल, प्रदीप, खड्का, नाजिर हुसेन, सलोन बस्नेत, गौरव पहारीलगायतका कलाकारको पनि अभिनय रहनेछ । यो फिल्मलाई लिएर उनी निकै उत्साहित छन् । फिल्मलाई सन्तोष सेनले निर्देशन गर्दैछन् ।

‘हुतुतु’ पछि उनले मंगलवार रमेश एम.के पौडेलले निर्देशन गर्ने फिल्म ‘रेड वाइन’ साइन गरे । यसमा उनले अभिनेत्री साम्राज्ञी आरएल शाहसँग रोमान्स गर्दैछन् । यो फिल्मको छायांकन पनि कोरोना महामारीपछि सुरु हुनेछ । त्यस्तै, उनले लकडाउनभन्दा अगावै निर्देशक दीवाकर भट्टराईको एक फिल्म साइन गरेका थिए । योसँगै अब पलको पाइपलाइनमा चार फिल्म छन् ।

‘दुई नम्बरी’ को छायांकन पूरा नभएका कारण उनले यो फिल्मलाई पहिलो प्राथमिकता दिनु पर्नेछ । यसपछि ‘हुतुतु’, ‘रेड वाइन’ र दीवाकरको फिल्ममध्ये एकलाई समय छुट्याउनु पर्ने हुन्छ । तर, चारै फिल्म कोरोना महामारीपछि छायांकनमा जाने तयारीमा रहेका कारण उनलाई सेड्युल मिलाउन ठूलै सकस पर्ने देखिन्छ । सेड्युल मिल्न नसकेको अवस्थामा यीमध्ये केही फिल्म छाड्नु पर्ने पनि हुनसक्छ । पललाई तनाव छ ।

तपाईको प्रतिक्रिया