नेपाली फिल्म क्षेत्र ७ महिनादेखि विश्राममा छ । कोरोनाको महामारीबाट बच्न सरकारले लकडाउन गरेपछि देशभरका सिनेमा हल बन्द भए । प्रदर्शनको तयारीमा रहेका फिल्म र छायांकनरत फिल्म अनिश्चितकालका लागि रोकिएका छन् । जसले गर्दा यस क्षेत्रमा आश्रित हजारौं श्रमजीविको रोजीरोटी गुमेको छ भने निर्मातादेखि हल सञ्चालकसम्मको करोडौंको लगानी जोखिममा परेको छ ।

देशभर कोरोना संक्रमितको संख्या बढेपछि राजधानीलगायत विभिन्न ठाउँमा एक महिना लामो निषेधाज्ञा लागू गरियो । अहिले निषेधाज्ञा आशिंक रुपमा खुलेको छ । सरकारले यातायातदेखि हवार्ड उडानसम्मलाई सञ्चालन अनुमति दिएको छ । तर, फिल्म क्षेत्रमा लगाइएको प्रतिबन्ध कायमै छ । अब भने सरकार कोरोनाका कारण बन्द रहेका क्षेत्रहरु खुल्ला गर्ने तयारीमा जुटेको छ ।

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटीको निर्देशक समितिले मंगलवार बन्द रहेका क्षेत्रहरु सञ्चालन गर्ने सम्बन्धमा प्रस्ताव ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । प्राप्त जानकारी अनुसार, सरकारले फिल्म क्षेत्रलाई सञ्चालनमा ल्याउनका लागि मापदण्ड बनाएको छ । सोही मापदण्डको सीमाभित्र रहेर नेपाली फिल्मकर्मीहरुले फिल्म निर्माण र प्रदर्शन गर्नुपर्नेछ ।

सरकारले ७ महिनादेखि बन्द रहेको फिल्म क्षेत्र खोल्ने तयारी गरेपछि फिल्मकर्मीमा खुसीयाली छाएको छ । थुप्रै निर्माताहरु नयाँ फिल्म निर्माणको तयारीमा जुटेका छन् । तर, निर्माण भइसकेका फिल्मका निर्मातालाई भने हर्ष न विस्मात छ । उनीहरु सिनेमा हल सञ्चालनमा आए पनि फिल्म प्रदर्शन गर्न तयार छैनन् । करोडौंको लगानीमा जुवा खेल्न नसक्ने उनीहरुको भनाई छ ।

कोरोनाका कारण प्रदर्शन रोकिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापा वितरक र हल सञ्चालकले एमजी दिएको अवस्थामा मात्र फिल्म प्रदर्शन गर्न सकिने बताउँछन् । उनी भन्छन्, ‘अहिले सर्वत्र कोरोनाको सन्त्रास छ । स्वास्थ्यलाई जोखिममा राखेर दर्शक फिल्म हेर्न आउँछन् भन्ने लाग्दैन । यो अवस्थामा करोडौंको फिल्म रिलिज गर्न सकिन्न ।’

पुराना फिल्म रिलिज गरेर हलमा दर्शक नआउने बताउँदै सुदर्शनले भने- ‘अब फिल्म क्षेत्रलाई चलायमान बनाउने बेला आएको छ । यसका लागि वितरक र हल सञ्चालकले मिलेर एमजी दिएको अवस्थामा फिल्म प्रदर्शन गर्न सकिन्छ । नभए, करोडौंमा बनेको फिल्म सिनेमा हल खुल्ने वितिक्कै प्रदर्शन गर्न सकिन्न ।’ उनी स्थिति सामान्य भएपछि मात्र फिल्म प्रदर्शन गर्ने सोचमा छन् ।

निर्देशक थापाको भनाईमा निर्माता सन्तोष सेन पनि सहमत छन् । वितरक र हल सञ्चालकले एमजी दिन तयार भए आफू फिल्म ‘प्रेमगीत ३’ प्रदर्शन गर्न तयार रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘देशभर सयौं हल छन् । ती हलहरुले १ वा २ लाख दिने हो र वितरकले एमजी दिने हो भने म फिल्म प्रदर्शन गर्न तयार छु । आफैंले रिक्स मोलेर चाहिँ फिल्म रिलिज गर्दिनँ । बरु, कुर्छु ।’

चलचित्र विकास बोर्डले प्रचारमा २/४ प्रतिशत सहयोग गरेको भरमा फिल्म प्रदर्शनका लागि जोखिम मोल्न नसकिने उनको भनाई छ । सामाजिक दूरी कायम गरेर फिल्म प्रदर्शन गर्न असम्भव रहेको उल्लेख गर्दै उनले भने- ‘वितरक र हल सञ्चालकले एमजी दिन तयार हुँदैनन् भने स्थिति सामान्य भएपछि मात्र फिल्म प्रदर्शन गर्नेछौं । हल खोल्ने वितिक्कै फिल्म प्रदर्शन गर्न सकिन्न ।’

‘चपली हाइट ३’ का निर्माता अर्जुन कुमार पनि अहिलेको अवस्थामा फिल्म रिलिज गर्न नसकिने बताउँछन् । आफूले पैसा कमाउन फिल्म बनाएको बताउँदै उनले भने- ‘अहिले स्वास्थ्यभन्दा ठूलो फिल्म होइन । अहिले फिल्म चलाएर हेर्न को जान्छ ? हामीले दर्शकको स्वास्थ्यलाई पनि ध्यान गर्नुपर्छ । हलिउड र बलिउडलाई फिल्म प्रदर्शन गर्न हतार भएको छैन, हामीलाई किन हतार ?’

उनले आफू तत्काल फिल्म क्षेत्र खोल्नु पर्छ भन्ने पक्षमा नभएको पनि बताएका छन् । अहिले हल खोल्नुको औचित्य नभएको उनको तर्क छ । ‘नेपाली फिल्मले हल चल्दैन । यसका लागि विदेश फिल्म नै चल्नुपर्छ,’ उनी भन्छन्, ‘केही व्यक्ति फेसबुकमा दर्शकलाई मनोरञ्जन चाहिन्छ भनेर कुर्लिएको भरमा म चाहिँ फिल्म रिलिज गर्दिनँ । स्थिति सामान्य भएपछि मात्र फिल्म रिलिज गर्छु ।’

कोरोनाका कारण प्रदर्शन रोकिएको फिल्म ‘हिजो आजका कुरा’ का निर्देशक तथा निर्माता साकार पन्त पनि अहिले फिल्म प्रदर्शन गर्नु भनेको आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्नु रहेको बताउँछन् । आफू पर्ख र हेरको अवस्थामा रहेको बताउँदै उनले भने- ‘संक्रमण नियन्त्रणमा आएको छैन । यो अवस्थामा दर्शक हलमा आउँदैनन् र हलमा आएर फिल्म हेर्न आग्रह गर्न पनि सकिन्न ।’

कोरोना महामारीको समयमा हलमा दर्शक आउने वातावरण नबनाउनु नै राम्रो हुने उनको सुझाव छ । ‘लक्का जवान, नीरफूल, जारी’ लगायतका फिल्मका निर्माता पनि सिनेमा हल सञ्चालनमा आउन साथ फिल्म प्रदर्शन गर्न तयार छैनन् । दर्शकलाई हलसम्म ल्याउने ल्याकत भएका आशातित फिल्म नै प्रदर्शन गर्न निर्माताहरु तयार नहुँदा फिल्म क्षेत्रमा थप अन्योल सृजना भएको छ ।

तपाईको प्रतिक्रिया