नेपालीहरुको महान चाड मध्ये एक हो, विजया दशमी अर्थात दशैं । जब दशैं आउँछ तब नेपाली फिल्म ‘मुग्लान’ मा समावेश गीत सर्वाधिक घन्किने गरेको छ । यो गीतले हरेक नेपालीलाई दशैं सम्झाउँछ, दशैं आएको अनुभूति गराउँछ । जब दशैं नजिकिँदै जान्छ तब घर-गाउँ, शहर-बजार जताततै यही गीतमात्र बज्ने गरेको छ । यो गीतलाई विस्थापित गर्ने अहिलेसम्म अरु दशैं गीत समेत बन्न सकेका छैनन् ।

यसपाली पनि घटस्थापनादेखि नै यो गीत सर्वाधिक घन्किँदै आएको छ । त्यसो त हरेक वर्ष दशैंलाई लक्षित गरेर नयाँ गीत सार्वजनिक हुने गरेका छन् । तर, कमै दर्शकको जिब्रोमा झुण्डिएका छन् । विभिन्न समयमा नेपाली फिल्ममा कथाको मागअनुसार दशैं गीत समावेश गरिएको छ । यो प्याकेजमा हामी तपाईँहरुलाई दशैंको बारेमा गाइएका पाँच सदाबहार फिल्म गीत प्रस्तुत गर्दैछौँ ।

१. ‘दशैं आयो…’
दशैंको बारेमा गाइएको सबैभन्दा लोकप्रिय गीतमा ‘दशैं आयो..’ नै पर्छ । स्वर्गीय शिव रेग्मी निर्देशित फिल्म ‘मुग्लान’ मा समावेश यस गीतमा परदेश गएको छोरा घर आएको, छोराको बाटो हेर्ने आमाको वर्णन, जमरा र रातो टीका, गाउँघरमा पिङ खेलेका कुरा गरिएको छ । दीलिप रायमाझी, सुशील क्षेत्री, विपना थापा, झरना थापा यो गीतमा देखिएका छन् ।

गीतमा उदित नारायण झा, दीपा नारायण झा, नारायण लामा र जुना प्रसाईंको संयुक्त गायन छ । सुरेश अधिकारीको संगीत रहेको गीतका सर्जक लोकनाथ सापकोटा हुन् । अमुल कार्कीको गीतमा एरेञ्ज छ । धन कमाउन परदेश गएका युवाहरुको कथा भन्ने फिल्ममा यो गीत कथावाचनको रुपमा राखिएको छ । फिल्ममा यो गीत आउँदा जो कोहीको मन भारी हुन्छ ।

२. ‘रातो टीका निधारमा टलक्क टल्कियो…’
दशैं आएको अनुभूति गराउने अर्को गीत हो, ‘रातो टीका निधारमा टलक्क टल्कियो’ । यो दुई दशक अगाडि प्रदर्शनमा आएको फिल्म ‘अल्लारे’ को गीत हो । फिल्मलाई अशोक शर्माले निर्देशन गरेका थिए । अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर गीतमा प्रस्तुत छन् । सहदेव ढुंगानाको शब्द रहेको गीतमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर छ । शम्भुजित बाँस्कोटाले गीतमा संगीत भरेका छन् ।

उक्त गीतको रिमेक भर्सन पनि सार्वजनिक भइसकेको छ । गएको असोज १० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘रातो टीका निधारमा’ मा रि-एरेञ्ज गरेर समावेश गरिएको यो गीतमा प्रमोद खरेल र मेलिना राईको स्वर छ । गीतको भिडियोमा फिल्मका अभिनेता अंकित शर्मा र अभिनेत्री साम्रात्री आरएल शाह फिचर्ड छन् । रि-एरेञ्ज गरिएको गीतलाई पनि दर्शकले निकै रुचाएका छन् ।

३. ‘रातो टीका दशैंको जमरा…’
दशैंमा बज्ने सदाबहार गीतमध्येको एक हो, ‘रातो टीका दशैंको जमरा’ । यो गीत डेढ दशक अगाडिको सुपरहिट फिल्म ‘मनमन्दिर’ मा समावेश छ । युवराज लामा निर्देशित फिल्मको यस गीतमा अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंह देखिएका छन् । रोमान्टिक भावको यो गीतले पनि दशैं आएको अनुभूति गराउँछ । गीतमा राजेश हमाल निरुताको दिलको कोठामा डेरा सर्ने कुरा गर्दैछन् ।

४. ‘यसपाली पनि परदेशमै वित्ने भो दशैं तिहार…’
परदेशीको पीडा बोल्ने यो गीत फिल्म ‘देशदेखि विदेशसम्म’ को हो । दशैंबारे गाइएको यो सदाबहार गीतमा विदेशमा बसेका नेपालीहरुले दशैं मनाएको र दशैंमा नेपाल सम्झेका पलहरुलाई उनिएको छ । गीतमा रामकृष्ण ढकालको स्वर छ । निकै मार्मिक यस गीतमा अभिनेता निखिल उप्रेतीलगायतका कलाकारहरुको अभिनय छ । फिल्मका निर्देशक भने नरेन्द्र थापा हुन् ।

५. ‘लै बरी लै लै…’
दुई दशक अगाडिको तुलसी घिमिरे निर्देशित सुपरहिट फिल्म ‘लहना’ मा समावेश गीत हो यो । दशैं आएको सम्झाउने यो गीतमा दशैंको वातावरण चित्रण गरिएको छ । गीतमा अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधान फिचर्ड छन् । गीतको शब्द तुलसी घिमिरेले लेखेका हुन् भने संगीत सचिन सिंहको छ । युट्युबमा राखिएको यो गीतमा गायक र गायिकाको नाम भने उल्लेख छैन ।

तपाईको प्रतिक्रिया