मेरो एकजना मिल्ने अमेरिकन साथी ट्यामीले भनेकी थिई “यदि कफीको सट्टा मेरो कफी मेकरले वाइन ब्रिउ गर्थ्यो भने म मर्निङ पर्सन भनेर चिनिन्थे होला ।” उसले यसो भनेपछि म केही बेर ‘नाइस जोक’ भन्दै मज्जाले हाँसेँ ।

“म सिरियसली भन्दै छु” ट्यामी वाइन मनपर्ने कुरामा जोड दिँदै थिई । हुन पनि ट्यामीका घरका भित्ताभरि वाइनको चित्रकला झल्किन्छ । उसका घरभरि विभिन्न जात, ठाउँ र सालका रङ्गीचङ्गी वाइन सजिएका थिए । ट्यामी वाइन पिउनको लागि नै जन्मेकी हो । ट्यामी र ऊ जस्तै अन्य वाइनका पारखीहरूले पार्टीमा जमेर वाइन पिएर नयाँ वर्षको स्वागत गरे । मैले पनि अलिकता पिएँ ।

नयाँ वर्षको पार्टी सकेर घर फर्किँदै गर्दा ट्यामीमा कुरामा घोत्लिरहेँ म । वाइन त मलाई पनि मन पर्छ तर अहिले पनि खुलेर वाइन पिउँछु भन्न वा चाहे जति पिउन सक्दिनँ । किन ? कसैको रोकटोकले होइन । म स्वतन्त्र छु आफूले चाहेको गर्न । तर वाइन बदनाम छ मेरो जीवनमा ।

खुसी र रमाइलोमा पिउने वाइन कसरी बदनाम हुन्छ ? केही अनुभव र केही घटना मिलेर भयो बदनाम वाइन ! झ्वाट्टै घटनातिर लान सकिनँ मैले यो स्मृति कथालाई । म सुरुवात गर्छु त्यहाँबाट जहाँबाट मैले नृत्यकला चिनेँ । मेरो जन्मस्थान चितवन…

मलाई कहिलेदेखि नाच्न मन लाग्यो, ठ्याक्कै याद छैन । तर जब पहिलो पल्ट टिभी खोलेर नाचेको बुवाले थाहा पाउनुभयो, खिस्स हाँस्दै मम्मीलाई भन्नु भएको थियो, ”छोरीले हिरोनी बन्ने छाटकाँट देखाइ है भावना ।”

बराल परिवारमा नाच्ने कोही पनि जन्मेको थिएन । भगवान्को भजन बाहेक अरू गीतमा छोरीहरू नाचेको निको मान्दैनथे । भारत कि प्रख्यात अभिनेत्री कंगना रनाउतले चलचित्र ‘क्विन’मा भनेको एउटा डाइलग सम्झन्छु ‘केटीहरूलाई डकार्ने स्वीकृति पनि थिएन, तर मैले डकारेँ पनि, नाचेँ पनि ।’ समाजका पालना गर्ने नियमहरू तोडेर उल्टो बाटो हिडिँसकेकी थिएँ म ।

‘नाच्यो भने हिरोइन भइन्छ । राम्री त म छँदै छु भन्नेमा सीमित थियो मेरो ध्यान । म खूब नाच्थेँ, राम्रो नाच्थेँ र केही गरी नाच्न छाड्नेवाला थिइनँ । म नाचेको हेरेर ममी मख्ख पर्नुहुन्थ्यो । उस्तै परे आफै पनि मसँगै तीजको गीतमा नाच्ने पाराले सररर घुमेर लडौँला झैँ गर्नुहुन्थ्यो ।

बुबाको कोक फ्याक्ट्रीमा जागिर थियो । तलब थोरै भए पनि रहर ठूलो थियो । ठूलोबुवासँग भनेको सुन्थेँ, “जति पैसा लागे लागोस् मेरा छोराछोरीहरूलाई गोन्द्रायङमै सबैभन्दा पढेका बच्चाहरू भनेर चिनाउनेछु ।” चार जना छोरीहरू पछि एउटा कान्छो छोरो । सामान्य खानलाउन पुग्ने थियो ।

सामान्य जीवन चले पनि मेरा इच्छा असामान्य थिए र जसले जे सोचे पनि मेरा ममीबुवाले सधैँ मेरो हौसला बढाउनु हुन्थ्यो । मसित थियो आँट । म केही गरी रोकिनेवाला थिइनँ । नृत्य प्रतियोगिताहरूमा भाग लिन्थेँ र सधैँ पहिलो पुरस्कार जित्थेँ । नृत्य कार्यक्रममा जान नयाँ लुगा चहिन्थ्यो, मेकअप चहिन्थ्यो त्यसमा पनि मलाई सधैँ राम्री भएर हिँड्नुपर्ने । जब म प्रमाण पत्र र ट्रफी बोकेर घर फर्किँन्थे बुवाले ‘प्रमाण पत्र धमिराले खान्छ छोरी’ भन्दै सेतो औषधी जस्तो केही (सायद चुना) दलेर दराजमा सजाउनु हुन्थ्यो ।

स्कुल पढ्दाताका मैले चितवनमा हुने कुनै नृत्य प्रतियोगिता छोडिनँ र जति चुना दले पनि धमिराले मेरा एउटै प्रमाणपत्र छोडेनन् । म प्रतियोगितामा भाग लिन पुग्दा अन्य सहभागीहरू मुख बटार्थे, “अब यसैले जित्ने भई ।” अनि प्रमाणपत्र बोकेर घर पुग्दा म धमिरासँग मुख बटार्थेँ, “ल यो पनि खाएर मोर !”

चितवन रहुन्जेल न सहभागीहरूको इर्ष्याको समाधान भेटियो न माटाको घरमा बस्ने धमिराहरूको ।

एक दिन म नारायणी कलामन्दिरको आयोजनामा हुन लागेको नृत्य प्रतियोगिताको लागि मेकअप गर्दैथेँ । केही सहभागीहरू झुरुप्प परेर मलाई कर्के आँखाले हेर्दै खासखुस गर्दै थिए ।

“फेरि त्यही लुगा लाएर आइछे । खाते त हो कत्ति न हिरोइन हुँ झैँ गर्छे ।” अप्सराको कुरा सुनेर सबै गललल हाँसेपछि मेरो मन दुख्यो । आँखाबाट आँसु बर्रबर्र झर्न थाले र मेकअप लत्पतियो । हल बिस्तारै भरिँदै थियो, कार्यक्रम सुरु हुन लागेको थियो । म रुँदै हलमा बसेका ममीबुवातिर हान्निएँ । त्यो कार्यक्रमको सञ्चालक मेरा प्रिय अङ्कल शिव रेग्मी हुनुहुन्थ्यो । उहाँ पनि स्टेजबाट ओर्लेर म रुँदै उभिएको ठाउँमा आउनुभयो ।

“के भयो, किन रोएको ?” शिव अङ्कलले सोध्नुभयो ।

“खातेले त्यही एउटै लुगा लगाएर नाच्न आई भनी त्यस्ले ।”

“कल्ले भन्यो त्यस्तो ?”

“अप्सराले ।”

“ल हिँड त, मेरो ’भही’लाई कल्ले त्यस्तो भन्यो, त्यस्को म सातो लिन्छु ।” शिव अङ्कलले मलाई ‘भही’ (भविष्यकी हिरोइन) भनेर बोलाउनु हुन्थ्यो । उहाँले मेरो हात समाएर ब्याक स्टेजमा लानुभयो । बुबाममी पनि पछिपछि आउनु भयो । मेकअप रूममा पुगेपछि अप्सरालाई खोजेर अङ्कलले गाली गर्नुभयो । तर आफू त्यसरी फिल्मी स्टाइलमा दौडिँदै हलमा पुगेको कुरा शिव अङ्कलले सुनाएपछि लाजले अनुहार छोपेर फेरि फिल्मी स्टाइल मै भाग्न पुगेँछु । बुवाले त्यो कुरा दोस्रो दिन सुनाउनु भयो । म थिएँ नै त्यस्तै । म बिनिता कम कुनै चलचित्रको पात्र बढी थिएँ । चित्त दुखेर आँसु झार्दा प्रख्यात नायिका निरुता सिंहभन्दा राम्रो देखिन्छु होला भन्दै ऐना हेर्थेँ । खुसी भएर नाच्दा म भारतीय चलचित्र कि नायिका माधुरी दीक्षित जस्तै देखिन्छु कि भन्दै ऐना हेर्थेँ ।

अप्सराले ‘खाते’ भनेको घटनाको भोलिपल्ट बिहानै बुवा रक्सौल निस्किनु भएछ । राती घर फर्किँदा थाहा पाएँ, उहाँ मेरा लागि झिल्झिले लेहङ्गा चोली किन्न जानुभएको रहेछ ।

“मेरी छोरीलाई खाते भन्ने ? रक्सौल गएर पाँचवटा लेहङ्गा चोली ल्याइदिन्छु ।”

चितवनबाट रक्सौल यति टाढा छ कि त्यहाँ पुग्दापुग्दै बुबाको रिस मर्यो होला । कि त बुबासित पैसा पुगेन । मैले त एउटा झिल्झिले लेहङ्गा चोली हातमा परेपछि पो थाहा पाएँ, बुबाको चित्त दुखाइ ।

“अप्सरा डाढले मर्ने भै”, म नाचेँ । तर कुरा सोचे विपरीत भयो – झिल्झिले लेहङ्गा देखेपछि मेरा दिदी बहिनीहरू पो रुन थाले ।

त्यसपछिका केही वर्ष त्यसरी नै बिते । म सधैँ स्टेज सो गर्दै हिँड्ने । बुवा सधैँ झिल्झिले लेहङ्गा किन्न रक्सौल हिँड्ने ।

एकदिन बुवाले मलाई नेपाल टेलिभिजनबाट प्रसारण हुने कोभन्दा को कम बालकार्यक्रममा भाग लिन काठमाडौँ जाऊँ भन्नुभयो । त्यो प्रोग्राम म टिभीमा खुब हेर्थेँ । म मख्ख परेँ । लाग्यो, जित्छु । एक बजेभित्र सिंहदरबार छिर्नु पर्ने । हामी बिहानै निस्कियौँ चितवनबाट । बुवाको रातीको ड्युटी सकेर बिहानै हिँडेका थियौँ । बसमा बुबा आँखा चिम्लेर बस्नुभएको थियो । बुबाको घाँटी बाङ्गो, आँखा कस्तो कस्तो देखेँ ! मैले बोलाउँदा पनि बोल्नुभएन । फेरि बोलाएँ । अहँ, बोल्नु भएन ।

म त बुबा रिसाउनु भएछ मसँग भनेर रुन पो थालेँ । बुबाको जीउ अप्ठ्यारो गरेर ढल्केपछि पल्लो सिटको अङ्कलले बुबालाई झक्झकाउनु भयो र खलासीलाई कराउनुभयो, ‘ह्याँ मान्छे मुर्छा पर्यो, पानी ल्याऊ ।’ म झन् डाँको छाडेर रुन थालेँ । धन्न, पानी छ्यापेपछि बुवा झस्किनु भयो । म बुवालाई च्याप्दै काखमा बसेर रोएँ । बुबालाई हनहनी ज्वरो आएको रहेछ । ‘जरो आको छ’, बुबालाई दबाइ दिए ।

‘यस्तो बिसञ्चो भएको बेला नि हिँड्ने हो बुढा !’ खलासीको गाली सुनेपछि बुवाले मुसुक्क हाँस्दै भन्नुभयो, “छोरीलाई ‘कोभन्दा को कम’मा लान लाको । अर्को हप्ता शुक्रबार टिभीमा आउँछ । यसैले जित्छे, हेर्नुहोला है ।”

बुबाको त्यो अनुहार अहिले सम्झिँदा पनि रुन मन लाग्छ । छोराछोरीका लागि चाहिनेभन्दा बढी मरिमेट्ने । मैले त्यो प्रतियोगिता पनि जितेँ । बुवाको ज्वरो हरायो । अनि हामीले काठमाडौँमा बस्ने अङ्कल आन्टीहरूसँग मिलेर मासुभात पार्टी गर्‍यौँ ।

बुवाले त हामी छोराछोरीहरूको लागि आफ्नो नामको पुख्र्यौली सम्पत्ति बेच्दै हाम्रो इच्छाहरू पूरा गर्न थाल्नु भएछ । पाँच जना छोरा छोरी र एउटाको जागिर । म अली ठूली भएपछि बल्ल बुझेँ, किन हजुरमाले ममीलाई प्रत्येक दिन धारे हात लाउँदै सराप्थिन् ।

“मैले दुख्ख गरेर जोगाको सम्पत्ति मोजमस्ती गरेर सक्काई भगुवाईले”, उफ्रिन्थिन् हजुरमा घरको आँगनमा । म जन्मेपछि ‘लहरै तिनोटै छोरी जन्माई’ भन्दै सुत्केरीलाई राम्रो खान नदिएपछि ममी एक महिने बालखालाई च्यापेर मामाघर जानुभयो रे । त्यस बेलादेखि हजुरमाले ममीलाई ’भगुवाई‘ भन्न थाल्नुभएछ ।

छोरो पाउने आशामा जब चौथो छोरी जन्मिई, त्यसपछि ‘भगुवाई’ शब्द सँगसँगै अगुल्टोले पनि हान्न थालिछन् बुढीमाउले । पाँचौँ सन्तान छोरो जन्मेपछि बल्ल हजुरमा खुसी हुँदै ‘लौ नाति जन्मियो भन्दै भाइलाई पछ्यौरामा बेरेर आँगनमा नाच्नुभएको अझै सम्झनामा आउँछ । सधैँ बिहान ममीलाई सराप्दै उठ्नुहुन्थ्यो हजुरमा ।

“एक एक वटालाई भिडाएर पठाइदे ए, बाम्देव तेरा छोरीहरूलाई । किन पढाएर सम्पत्ति सक्छस् ?” हजुरमा जङ्गिन्थिन् । ममी रुनुहुन्थ्यो, बुबा अँध्यारो अनुहार लगाउनुहुन्थ्यो । हजुरमा साह्रै कडा । हजुरबा र हजुरमा उहिल्यै छुटिएर बसेको रे । बुबाको के लाग्थ्यो र बरा ! चुप लागेर बस्नुहुन्थ्यो ।

मैले एसएलसी सकेँ । कलेज जाने बेला हुँदा आफू हुर्केको अनुभव हुने रहेछ । त्यसमाथि सपनाको भारी ! मसँगै हुर्किँएको सपनाले यति ठूलो रुप लियो कि चितवनमा अटाउन सकेन । ममीबुवाले काठमाडौँ नपठाई सुखै पाउनुभएन ।

अनि सुरु भयो मेरो जिन्दगीको अर्को च्याप्टर ।

कत्ति पनि रमाइला थिएनन् काठमाडौँका सुरुवाती दिनहरू । म माहिली दिदीसँग काठमाडौँ आएँ । तर दिदीले पढ्दा पढ्दै भिनाजु भेटिन्, म एक्लै भएँ । बागबजारको एउटा गल्लीको अँध्यारो कोठामा बस्थेँ । चितवनको खुला फाँटमा नाङ्गो खुट्टा दौडिँदै हुर्किएकी म बागबजारको सानो गल्लीमा हिँड्दा घरले अँचेट्थे । एक झल्को घामको किरणको लोभ लाग्थ्यो । पुस माघको चिसोमा घाम ताप्न कि त घरबेटीको आँखा छलेर बार्दलीमा पुग्नु पर्ने कि त कलेजको चौरमा । कहिले दुवै असम्भव हुन्थ्यो । चिसोले हात खुट्टा सुनिन्थे ।

झ्यालबिनाको डेरामा बस्दा बस्दै भविष्य पनि अँध्यारो लाग्न थालेको थियो । पद्मकन्या क्याम्पसमा आइएमा भर्ना भएकी थिएँ । एक वर्ष जति त अन्यौल मै बित्यो । कत्थक नृत्य मेजर विषय भएकाले कलेजमा नाच्ने काम नै बढी गरियो । घर सम्झिँन्थेँ, ममीबुबा सम्झिन्थेँ ।

“घर आइज त्यसरी नबस्, तँलाई गाह्रो हुन्छ”, बुबाममीले नभनेको दिन हुँदैन थियो । तर म कहाँ टेर्थेँ र ! मैले जागिर भेटेँ, ब्राइटन एजुकेशन कन्सल्टेन्सी बागबजारमा । रिसेप्सनिस्ट कामबाट डेराको सोह्र सय भाडा तिर्ने भएँ । नपुगेको पैसा ममीको सारीको गाठोँमा बाँधिएको पोकोबाट आइपुग्थ्यो । मैले पैसा माग्न कम भएपछि ममीले पनि सारी लगाउन छोडिदिनु भयो । अहिले बेला बेलामा ममीलाई जिस्काउँछु, “सारी लगाउन आमा, जति पैसा कमाए पनि तिम्रो त्यो सारीमा बाँधिएको पैसाको पोकोको कस्तो लोभ लाग्छ ।”

बिस्तारै म्युजिक भिडियोमा काम पाउँदै गएँ । नृत्य सँगसँगै अभिनयप्रति पनि झुकाव बढ्न थाल्यो । भिडियो निर्देशकहरूले सोध्थे, “तिमीले अभिनय राम्रो गर्छौ, चलचित्र खेल्ने कि ?” म खुसी हुन्थेँ । भूषण दाहाल, आलोक नेम्बाङ, सुरजसिंह ठकुरी, संगीता श्रेष्ठ, प्रसन्न पौडेल जस्ता निर्देशकहरूसँग काम गरेका अनुभवहरू अविस्मरणीय रहे । म म्युजिक भिडियो, मोडलिङ र पढाइसँगै चलचित्रमा खेल्न सङ्घर्ष गर्न थालेँ ।

२०६५ सालमा प्लस टु सकेपछि एउटा मोडलिङ एजेन्सीमा काम पाएँ । त्यो मोडलिङ एजेन्सीका म्यामहरूको शासन कडा थियो । ‘मार्केटिङ म्यानेजरको’ काम भने पनि उनीहरूलाई खाजा पकाइदिनु पर्ने, झोला बोक्दिनु पर्ने, भाडा माझिदिनु पर्ने, आफिसको भुइँ पुछ्नु पर्ने ! झुक्किएर थाल कचौरा खस्यो भने तलबमा कटाइदिन्छु भनेर हप्की लाउँथे । त्यहाँ हामी दुइजना स्टाफ थियौँ । एकअर्कालाई मिठो गरी प्यारी भन्दै सम्बोधन गर्थ्यौं ।

म्याडमको शासनबाट आजित भएर ‘ह्या प्यारी, छोडिदिऊँ यो काम’ भनेर सल्लाह गरे पनि काम छोड्न सकिएन । हामी रिसाएको थाहा पाएर म्याडमहरूले आफ्नो जडौरी लुगा जुत्ताहरू दिन्थे । सधैँ लुगा जुत्ताको खाँचो पर्ने भएर होला, गुनासो पनि गर्न सकिएन र स्विकार्नुको विकल्प पनि खोज्न सकिएन । घरबाट पैसा मगाउन छाडेकी थिएँ । बुझ्ने भएकी थिएँ, मेरा बा पैसावाला छैनन् ।

मलाई पैसा पुग्छ । अब राम्रो जागिर पाएपछि बरु तपाईंहरुलाई पैसा पठाउँछु भन्दै बुवाममीलाई थमथमाइरहेँ । तर मेरो कमाइको पैसाले कोठा भाडा सोह्र सय र मुस्किलले बीस दिनलाई खान पुग्थ्यो । म्युजिक भिडियोहरू पाउँदा जसोतसो बाँचेकी थिएँ ।

नेपाली चलचित्रमा काम गर्ने रहर र म्याडमहरूको शासन एउटै रफ्तारमा बढ्दै थियो । एक दिन उनीहरूले खाएको भाँडा माझ्न एक घण्टा ढिलो भयो भनेर मलाई हप्काउँदै गाली गरे, “सोमत नभाकी केटी… गु पुच्छ्ने टालो ।”

मेहनत गरेर काम गर्न गएकी थिएँ । आफ्नो इमान र आत्मसम्मान बेचेकी थिइनँ । त्यो दिन रुँदै पुतलीसडकबाट आफ्नो नयाँ डेरा लाजिम्पाट पुगेँ, बुवा र ममीलाई सम्झेर रोएँ । ममी भन्नुहुन्थ्यो, ”तिमीहरूलाई म भाँडा माझेर, भात पकाएर बस कहिल्यै भन्दिनँ । तिमीहरू ठूलो ठाँउमा पुग्नुपर्छ । मेरा आमाबाउले बाह्र बर्षमा बिहा गराइदिएर मलाई धोका दिए । तर तिमीहरूलाई हामीले कहिल्यै धोका दिँदैनौँ ।” आमाबुबा सम्झेर त्यो दिन साह्रै रोएँ । चार वर्ष काम गरेको त्यो आफिस छाड्ने आँट आयो । त्यो अफिस छोडेपछिका दिनहरूमा मलाई पैसाको कमी कहिल्यै भएन ।

चितवनकै दाइ तथा चलचित्र निर्देशक सुरेश दर्पण पोख्रेलले मलाई सम्झिए । निर्देशक अनिल तन्डुकार र गायक अनिल सिंहको म्युजिक भिडियोमा रोलको अफर सुनेर म अचम्भित भएँ । बिस्तारै म्युजिक भिडियोमा काम पाउँदै गएँ । नृत्य सँगसँगै अभिनयप्रति पनि झुकाव बढ्न थाल्यो ।

२०६७ साल तिरको कुरा हो, म मोडलिङमा स्थापित भइसकेकी थिएँ र चलचित्रको अफर आउन थालेको थियो । तर अडिसन दिँदा, कामको कुरा बिग्रिन्थ्यो । चिनेजानेका डाइरेक्टरहरूको ‘रिफर’ले पनि चलचित्र पाउन नसकेपछि मलाई नाच्ने रहर हराउँदै गएको थियो ।

त्यति बेला भेटिएका प्रायःजसो फिल्म निर्माताहरूको कुरा बुझ्न सुरुमा गाह्रो भयो । कहिले अडिसन, कहिले स्क्रिन टेस्ट गर्ने तर काम नदिने । धेरैजसोले रेस्टुराँमा कुरा गर्न बोलाउने अनि खाजा र वाइन खान जोड गर्थे । वाइन नखाऊँ, फिल्म नपाउने डर, वाइन खाऊँ उनीहरूले फाइदा उठाउने डर ! यति धेरै निर्माताले वाइन खुवाउने रहर गरे कि निर्माताहरूसँगै मेरो जीवनमा वाइन पनि बदनाम भयो । वाइन फोबिया भयो मलाई । वाइनको बोतल देख्ने बित्तिक्कै रिस उठ्ने । झर्किन मन लाग्ने । आँखा रातो रातो हुने । त्यही वाइनको बोतल्ले ‘खानुस् न वाइन खानुस्’ भन्नेको टाउको मा बजाइदिऊँ जस्तो हुने ।

अहिले भए त मजाले टाउकोमा बजाइन्थ्यो पनि होला, तर त्यतिबेला सकिएन । म मुसुक्क हाँस्थेँ र वाइन नखाने विभिन्न बहानाहरू बनाउँथेँ । कहिले भन्थेँ, “एन्टी बायोटिकमा छु”, कहिले “अल्कोहल एलर्जी छ”, कहिले “सोमबारको ब्रत”, कहिले “मंगलवारको ब्रत ।” बाबै, केके मात्र बहाना बनाइन ।

म जस्तो ब्रत नबस्नेको झूठ सुनेर भगवान् पनि कति रिसाए भने कहिल्यै चलचित्रमा छनौट नै भइनँ ।

झूठ बोल्दा आफैँलाई दिक्क लाग्थ्यो । कतिचोटि त खान कर हुन्थ्यो र वाइन गिलास समात्दा मनमनै ‘पशुपतिनाथ… पशुपतिनाथ’ जपिरहन्थे । बुवाममीले थाहा पाए भने के भन्लान् ? छर छिमेकले थाहा पाए भने के भन्छन् ? सोच्दै सातोपुत्लो उड्थ्यो ।

त्यति बेला न मैले आफ्नो साथीहरूसँग बसेर वाइन पिउन सकेँ, न आफ्नो परिवारसँग । कहिलेकाहीँ धिक्कार लाग्थ्यो आफैंलाई, कहिले भगवानलाई सोध्थेँ, “कुन घिनलाग्दो रेस मा दौडाउन खोज्दैछौ मलाई ? केहीबेरको धिक्कारपछि फेरि मभित्र लुकेको सकारात्मक विचारले जित्थ्यो । लाग्थ्यो, कलाकारितालाई सम्मान गर्ने राम्रा मान्छे पनि भेटिनेछन् एक दिन । अनि सम्हालिन्थेँ आफै र फेरि दौडिन्थेँ जीवनसंघर्षकै रेसमा ।

अर्को दिन फेरि भेटिन्थे दिमाखमा विषादी ठोसेर चिल्ला भई हिँड्ने फिल्म निर्माता र निर्देशक । नायिकाको कुरा मात्र बढी गर्ने । उनीहरूसित भेट्दा जबर्जस्ती हाँस्नु पर्ने, हो मा हो मिलाउनु पर्ने ! ओहो ! कुरै नगरौँ…., बिडम्बना ! चलचित्रमा तीन वटा नायक र एउटी नायिका छ भने उनीहरूलाई नायिका खोज्ने चिन्ता हुन्थ्यो । फिल्म सुरु हुने अन्तिम दिन फिक्स गर्थे नायक ।

नायिका हुन कतिसम्म गर्न सक्छे भनेर पत्ता लगाउन दुईचारवटा वाक्यहरू घृणित तरिकाले घुमाएर भनेका छन्–

“हेर्नुस् न बिनिता जी यो चलचित्र खेल्न फलानोले जे पनि गर्न सक्छु भनेकी छ !”

“उसले त मलाई नगरकोट बोलाएकी थिई ।”

उनले त….!

एकदिन को कुरा हो अडिसन मा आउनुस् भन्दै एकजना नामै नसुनेको निर्देशकले फोन गरेर सानेपामा भेट्न बोलाए ।

एक्लै जना डर लाग्यो । बेलुका पाँच बजे भट्ने कुरा थियो । ढिलो हुन्छ भनेर मैले प्यारीलाई लिएर गएँ । अडिसन कुनै अफिसमा होला भन्ने सोचेको त गल्लीभित्र खण्डहर जस्तो स्कुलमा पो रहेछ ।

जाडोको महिना । अँध्यारो बढ्दै थियो । भित्र पुगेपछि त हामी दुबैजना तर्सियाैं।

त्यहाँको दृश्य उत्ताउलो र अपाच्य थियो । क्याम्प फायर गरेर केटा र केटीहरू नाचिरहेका थिए । हामीलार्ई देख्ने बित्तिकै सेतो कुर्ता लगाएको एउटा बुढो हिन्दीमा ‘बेठो बेठो’ भन्दै वाइनको गिलास भरेर हाम्रो हातमा थमायो ।

उही बदनाम वाइन ! प्यारी र म मुखामुख गर्‍यौँ र खाए जस्तो गरेर गिलासको वाइन कसैले नदेख्ने गरी फ्यात्त फाल्यौँ । सबै बेहोस जस्ता देखिन्थे । अधेड उमेरको इन्डियनले गिलास खाली देख्नै नहुने । ऊ खाली गिलासमा वाइन भर्दै गयो र हामीले वाइन हुत्त पछाडितिर हुर्याउँदै गयौँ ।

एकछिन त रमाइलो पो भयो । उता डुङ्डुङ् सङ्गीत घन्किने, यता हामी त्यही तालमा वाइन हुर्याउने । हामी हाँसेको देखेर उनीहरूले हामीलाई वाइन लाग्यो भन्ठानेर नजिक आएर बस्न थाले । अब चाहिँ के पो हुने हो भन्ने डर लाग्यो । म बाथरुम जानुपर्यो भनेर प्यारीलाई इशारा गरेँ । उसले बुझी र आफूसँगै ल्याएको गह्रौँ ब्याग भिरी ।

त्यही अधेड उमेरको बुढोसँग लप्पछप्प गरेर बसेकी एकजना केटीले अर्डर गरी, “ब्याग किन लानु पयो ? कसैले खाइदिन्न तिम्रो ब्याग, यहीँ राख ।”

प्यारीलाई झनक्क रिस उठ्यो, “जाँठी ! तँलाई के मतलब !” प्यारीले उसलाई ह्वात्तै धकेल्दिई । रक्सीले टिल्ल मात्तिएकी थिई, त्यो केटी पुक्लुक्क ढली ।

इन्डियन बुढो करायो, “अरे धक्का कौन दिया ?” प्यारी र म पछाडि नफर्की कुद्यौ । हिल जुत्ता हातमा लिएर सासै नफेरी दौडिरह्यौँ । सानेपाको गल्लीबाट निस्किँदा रातीको आठ बजेको रहेछ । जाडोको महिना ! सुनसान बाटो ! डराउँदै डराउँदै कुपुन्डोल पुग्यो ।

साह्रै दिक्क लाग्न थाल्यो । सानेपामा भेटिएका केटीहरू काम पाउनको लागि सधैँ त्यस्तो गर्छन् भन्ने सुनेकी थिएँ । आफ्नै आँखाले देखेपछि कसरी विश्वास नगर्नु ? ती केटीहरू पनि खुसी देखिँदैनथे । बुढोलाई फोहोर फोहोर गाली गर्दै नाच्दै थिए । उता ममी प्रत्येक दिन ‘फिलिम पायो ?’ भनेर फोनमा सोध्नुहुन्थ्यो । म निशब्द हुन्थेँ । पाइनँ कसरी भन्ने र ? वा कसरी पाउँछु भन्ने ?

चलचित्र क्षेत्रमा यस्तै मान्छे रहेछन् भन्ने निश्चित हुँदा हुँदै अरू के काम खोज्ने ? आफूले जानेको काम नै अभिनय थियो । लाग्थ्यो, ‘पक्कै पालो आउँछ । कुर्नुपर्छ ।’

मेरो पालो आयो । तर धेरै समय टिकेन ।

एउटा चलचित्रमा साइन गरेपछि निकालिएँ । त्यसबारे सबै पत्रपत्रिकामा छापियो । तर जे हुन्छ, राम्रोको लागि हुन्छ । चलचित्र नखेल्दै निकालिएको खबरले नै म चलचित्र नगरीमा प्रख्यात भएँ । अचम्मै भयो ! चलचित्रको आफर आउन थाले । पाएका स्क्रिप्टहरूबाट छानेँ मैले मेरो पहिलो चलचित्र, ‘चपली हाइट ।’

सबैका जीवनमा हुन्छन् भन्न मिल्ने कुरा, भन्न नमिल्ने कुरा । ती भन्न मिल्ने र नमिल्ने अनुभवका मिश्रणले नै बन्छ जीवन । भन्न सकिने अनुभव त भनिन्छ । तर भन्न नसकिनेलाई के गर्ने ? गुनगुनाउने ?

कति कुरा नभनेर नै मिठा मिठा हुन्छन्…!

अक्षर क्रियसन्सबाट प्रकाशित, अर्चना थापाबाट सम्पादित ‘स्मृतिकथामा सत्व’ पुस्तकबाट साभार ।

तपाईको प्रतिक्रिया