कोरोना संक्रमित बनेका फिल्मकर्मी प्रदीप कुमार उदयले अस्पतालको शैयाबाट दसैंको शुभकामना दिएका छन् । काठमाडौंको ग्राण्डी अस्पतालको आइसियु कक्षबाटै उनले नेपालीहरुको महान चाड दसैंको शुभकामना दिएका हुन् ।

केहि दिन अघि कोरोना पुष्टि भएसँगै अस्तालत भर्ना भएका थिए । कोरोनाले झन् झन् च्यापेपछि अस्पतालको आइसियुमा उनलाई राखिएको छ । कुराकानीमा उदयले भने, ‘अहिले क्रमिक रुपमा सुधार भइरहेको छ । केहि दिन अघिको जस्तो आत्तिनु भने अवस्था छैन । ’ उनले अस्पतालबाटै आफुले ठुलाबडाबाट टीका ग्रहण गरेको र सानालाई टीका लगाइदिएको सपना देखेका छन् । उनले अस्पतालको शैयाबाट सामाजिक सञ्जालमार्फत लेखेका छन् ,‘आहा आज त दसैं पो । कति हतार हुन्थ्यो बिहानीपख घरमा, पुजा, दसैंको टिका, जमराको तयारी, बिहानै नुवाई धुवाई । नयाँ नाना लगाउने, मिठो खाने, ठुलाबाट आशिर्वाद लिने, सानालाई आशिर्वाद दिँदै जाने तल सानो बच्चासम्मलाई ।’

उनले यति सपना देख्नासाथ झल्याँस्स बिउँझिए । उनले अगाडि लेखेका छन् , ‘ ग्रान्डी अस्पतालको चौधौं तल्लाबाट परबाट झुल्कन लागेको घामको किरण नियालिरहेको छु । आशाको किरणको रूपमा बुझिरहेको छु । तर अचानक च्वास्स नमिठो अनगिन्ती सुईको चुभन । फेरि झल्याँस्स हुन्छु, यहि त हो मेरो लागि यसपटकको दसैंको आशिर्वाद, सुईको पीडादायी चुभनलाई स्वास्थ्य हुनको लागि आशिर्वाद ।’

‘ओहो, आज त दसैं पो । नाना लगाएको छु,अस्पतालबाट उपलव्ध एक सरो, तर पनि सम्झेको छु यसपटक यसै भयो अर्को पटक धुमधाम मनाउँला । चौधौ तल्लाबाट पारी क्षितिजबाट झुल्केको घामले त्यही बुझाउँदै छ, सम्झाउँदै छ, मन बलियो बनाएर सम्झँदै छु, बुझ्दैछु तर पनि एउटा धोको पुरा हुने भएको छ । मासु भात खान पाउने भएको छु । असत्य माथिको विजय होस् । कोरोना कहरबाट मानव जीवनले विजय प्राप्त गरोस्, यसपटकलाई यतैबाट सबैलाई शुभकामना, बिजयादशमीको ।’

तपाईको प्रतिक्रिया