काठमाडौं– र्‍यापर समिर घिसिङ भिटेनले गत वर्ष ‘हामी यस्तै त हो नि ब्रो’ नामक र्‍याप सार्वजनिक गरे। अश्लील शब्द प्रयोग भएको भन्दै प्रहरीले पक्राउ गर्‍यो। त्यतिबेला प्रहरीलाई खाश चित्त दुखाइको विषय थियो उनले गीत प्रयोग गरेको ‘डन्ठे’ शब्द।

त्यसबाहेकका नेपाली समाजका लागि सहजै हजम नहुने केही शब्द र सन्दर्भ पनि थिए। प्रहरीले पक्राउ गरेर अनुसन्धान थाले पनि त्यसको सार्वजनिक विरोध भयो। प्रहरीले भिटेनलाई उक्त र्‍याप हटाउन लगायो र रिहा गर्‍यो।

एक साताअघि मात्र सार्वजनिक भयो उनको अर्को र्‍याप ‘पारा’। उक्त गीतमा आपत्तिजनक शब्द प्रयोग भएको भन्दै र्‍यापर भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई पत्र पठायो। बिहीबार यो खबर सार्वजनिक भए लगत्तै भिटेनले युट्युबको एक नम्बर ट्रेन्डिङमा परेको गीत प्राइभेट गरेका छन्।

गीतमा केही नेपाली समाजले नपचाउने शब्द प्रयोग त भएका छन् नै। फेरि प्रहरीमाथि उस्तै हेपाहा शब्द पनि प्रयोग गरिएको छ। समग्र भिडियो हेर्दा उनले यो गीत प्रहरीको अघिल्लो कारबाहीको ‘जवाफ’मा बनाइको जस्तो देखिन्छ।

गीतको भिडियोको सुरुमै हतकडीसहित देखिएका छन्। त्यसपछि प्रहरीको गाडी विस्फोट भएको दृष्य छ। त्यसपछि नेपाली र्‍यापर पक्राउ देखाउने सन्दर्भ छ। त्यसपछि उनी प्रहरीलाई फेरि डन्ठे भनेर सम्बोधन गर्दै र्‍याप गर्दै अघि बढ्छन्।

उनी केही अश्ली शब्दसहित गीत र र्‍याप फरक भएको बुझाउन खोजिरहेका छन्। र्‍यापमा दोहोरिने शब्द छ – घर छोडेर सहर पसेर म छाडा भाको, हान्दै छु र्‍याप … हैन मैले गाना गाको।’

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायत भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचन बोलेर भिडियो सार्वजनिक गरेकाले कारबाही गर्न निर्देशन दिएको बताउँछन्। यसअनुसार पनि प्रहरीले भिटेनको सो र्‍याप आफू लक्षित रहेको बुझेको देखिन्छ।

तपाईको प्रतिक्रिया