पर्साको विन्दवासिनी गाउँपालिका कमिटी सचिव मुकेश चौरसियाको हत्याको न्यायिक निरूपणको लागि प्रहरीले निवेदन दर्ता नमानेपछि बिहीबार अबेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् जाहेरी दर्ता भएको छ । हत्यामा जिल्लाबाट यसअघि संविधानसभामा पुगेका राजकुमार गुप्ताको हात रहेको आरोप लागेपछि सात दिनसम्म शव उठ्न नसकेको हो । प्रहरीले उनी त्यसदिन घटनास्थलमा उपस्थिति नदेखिएको कारण जनाउँदै निवेदन दर्ता गर्न नमानेको बताइन्छ ।

सरकारी वकिलको कार्यालयले पर्सा प्रहरीलाई उक्त जाहेरीबारे जानकारी गराएबमोजिम मुद्दा दर्ता भैसकेको छ । प्रहरीले पनि आफ्नो तर्फबाट घटनाको अनुसन्धान थालेको छ ।

घटना गत बिहीबार नेकपाको गाउँ कमिटीका पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच सांघातिक आक्रमणको परिणाम थियो । उक्त गाउँपालिका राजकुमारले संविधानसभाको चुनाव जितेको क्षेत्रमा पर्छ । उनी त्यहाँ तत्कालीन एमालेको क्षेत्रीय अध्यक्ष थिए । तर,पार्टी जिल्ला अध्यक्ष र राजकुमारलाई सपथ कार्यक्रममा नबोलाइएको मुख्य कारण देखाउँदै हत्याकाण्ड भएको गुप्ता बिरोधीहरूले बताएका छन् ।

नेकपा जिल्ला इञ्चार्ज र जिल्ला सचिवको उपस्थितिमा आयोजित सपथ ग्रहण कार्यक्रम नै हत्याको कारण बनेको बताइन्छ । गुप्ताहरूले जिल्ला अध्यक्ष र त्यो क्षेत्रबाट संविधानसभा सदस्यमा निर्वाचित पूर्व सांसदलाई नबोलाइएकोमा शुरुदेखि नै बिरोध जनाउँदै आएका थिए । उनीहरूलाई नबोलाएको देखेपछि उक्त कार्यक्रममा सहभागी केही गुप्ता पक्षधरले आफ्ना नेतालाई किन नबोलाएको भनेर प्रश्न गर्न थाले । त्यहि बीच कार्यक्रमस्थलमा एकथरिको प्रवेश भयो । त्यसपछि त्यहि प्रश्नले विवादलाई मारपिट र रणसङ्ग्राममा परिणत गराएको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

मारपिटको क्रममा सोही गाउँपालिकाको पार्टी कमिटी सचिव मुकेश चौरसिया गम्भीर घाइते भए । घटना दिउँसो १२ बजेको हाराहारीमा भएपनि चौरसियालाई २ बजे मात्र अस्पताल पुर्याइएको थियो । वीरगञ्जको न्यूरो अस्पताल लगेर भेण्टिलेटरमा राखियो । तर,सोही साँझ उनको प्राण गएको भनिए पनि भोलिपल्ट बिहान मात्र मृत घोषणा गरिएको थियो ।

पर्साका पूराना कम्युनिष्टहरू रामचन्द्र साह,नागेन्द्र चौधरी,जिल्ला सचिव विजय महतो माधव नेपाल समूहको भनेर चिनिन्छन् । उता राजकुमार गुप्ताचाहिँ जनताको काम भन्दै पार्टी पध्दति लाई बाल मतलब नगर्ने खालका भएको अर्को पक्षको आरोप छ । यतिखेर उनी प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली निकट समूहको हस्तीका रूपमा परिचित छन् । पार्टीको काममा समेत गुप्ताले साह,चौधरी र महतोलाई नेता नै नमान्ने गरेको स्थानीय नेता तथा कार्यकर्ता बताउँछन् ।

पर्साको घटनाले नेकपाभित्र चुलिएको गुटगत राजनीति छरपष्ट भएको छ । जिल्लास्थित नेकपाका सबै गुटमा पूर्व एमाओवादीहरूको सहभागिता देखिन्छ । सतहमा पूर्व एमाओवादी र एमालेबीचको संघर्ष भनिएपनि चुरो कुरोचाँहि माधव नेपाल र केपी ओली गुटबीचको लामो समयदेखिको अन्तरसंघर्षको परिणाम रहेको नेकपाका अधिकांश नेता तथा कार्यकर्ता स्वीकार गर्छन् ।

अहिलेको घटनालगायत केपी र माधव समूहको अन्तरसंघर्षमा पर्साका नेकपा नेता तथा कार्यकर्तामध्ये पूर्व एमाओवादीहरूलाई आफू कता लाग्ने भन्ने अप्ठेरो हुँदै आएको छ । उता कर्णाली प्रदेशमा हालै देखिएको तुष र अन्तरबिरोध पनि माधव र केपी समूहकै रहेको बताइन्छ । यसैबीच पर्सा घटनाको निश्पक्ष छानबीन गरी दोषीमाथि आवश्यक कारबाही गर्न ३४ जना केन्द्रीय सदस्यले संयुक्त विज्ञप्ति जारी गरेका छन् । दुई नम्बर प्रदेशमा रहेका कूल केन्द्रीय समिति सदस्यमध्ये दुई तिहाई भन्दा बढीले जारी गरेको संयुक्त विज्ञप्तिले कर्णाली प्रदेशको रोग अब दुई नम्बर प्रदेशमा सर्ने देखाएको छ ।

पर्सा जिल्ला कमिटीमा रहेका १ सय ५१ सदस्यमध्ये माधव नेपाल पक्ष बहुमतमा छ ।

हुन तः गुप्ता विद्यार्थीकालदेखि नै अखिलको राजनीतिमा लागेका थिए । विगतमा नागेन्द्र चौधरी चुनाव लड्दासमेत उनले राम्रै सहयोग गरेको बताइन्छ । बीचमा राजनीति छाडेर केही समय व्यापार व्यवसायतिर व्यस्त भए । तराई र सिमानाको व्यापार व्यवसायलाई राम्रैसँग परिचालन गरेकाले छोटो समयमा कुस्त कमाए । त्यहि पैसाले वीरगञ्जमा महँगो जग्गा किनेर गतिलो बिल्डिङ्गसमेत बनाए । त्यसपछि संविधानसभाको चुनावमा उठेर जिते । त्यसबेला उनैले चौरसियालाई हराएका थिए ।

पर्साको नेकपा राजनीतिमा वार्ड वार्डमा गुटबन्दी फैलिएको छ । कतिपय नेता र कार्यकर्ताबीच गुटको कारण बोलचालसमेत छैन । पर्सा जिल्ला कमिटीमा रहेका १ सय ५१ सदस्यमध्ये माधव नेपाल पक्ष बहुमतमा छ । मध्य तराईका जिल्लामा नेपाल पक्षको राम्रो पकड छ भने पर्सामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरको उपस्थिति मुश्किलले देखिन्छ ।

तपाईको प्रतिक्रिया