अभिनेत्री रेखा थापा र अभिनेता जीवन लुईंटेल स्टारर फिल्म ‘अन्दाज’ बाट अभिनय करिअर सुरु गरेका अभिनेता सविन श्रेष्ठले विगत २ वर्षदेखि नयाँ फिल्ममा काम गरेका छैनन् । मुख्य अभिनेताको रुपमा अभिनय गरेका एकपछि अर्को फिल्म असफल भएका कारण उनलाई निर्माता तथा निर्देशकले फिल्ममा पत्याउन छाडेको चर्चा चलिरहेको छ । तर, यो कुरा नकार्छन्, सविन ।

आफूले विजनेश सुरु गरेका कारण फिल्मलाई समय दिन नसकेको उनको भनाई छ । उनी भन्छन्, ‘फिल्मबाट अफर नआएको होइन । तर, विजनेश सुरु गरेपछि अफर आएका फिल्मलाई समय दिन नसक्ने भएर गरिनँ । दुई वर्ष अगाडि एउटा सप खोलेको थिएँ । त्यसपछि ५० लाखको लगानीमा कार वासिङ सेन्टर खोलेको छु । यही कारण अफर आएका फिल्म गर्न सकिनँ ।’

अब भने उनी विजनेशसँगै फिल्मलाई पनि समय दिने सोचमा छन् । विजनेशका कारण अफर भएका फिल्म नगर्दा धेरै फिल्मकर्मी आफूसँग रिसाएको उनी बताउँछन् । ‘विजनेश गर्ने चक्करमा मोबाइल नै बन्द गरेर राखेँ । अफर आएका फिल्म पनि गरिनँ । त्यसैले मसँग धेरै रिसाउनु भएको छ । अब दुईवटै विजनेश राम्रो चलेकाले फिल्मलाई समय दिने सोचेको छु,’ सविनले भने ।

केही समय अगाडिसम्म आफू फिल्म छनोटमा चुजी नभएको पनि उनी स्वीकार गर्छन् । ‘कसैले पनि फिल्म नराम्रो बनाउँछु भनेर बनाउँदैन । त्यही कारण मैले अफर आएका प्रायः फिल्म गरेँ । बनाउँदै गएपछि विभिन्न समस्या आए,’ उनी अगाडि भन्छन्, ‘गत वर्षसम्म हप्तामा मैले खेलेका दुईवटा फिल्मसम्म एकसाथ हलमा रिलिज हुन्थे । यसले गर्दा पनि फिल्म गर्न कम गरेको हुँ ।’

उनले ‘हिरो रिर्टन्स’ बाट फिल्म निर्माणमा समेत हात हालेका छन् । तर, यो फिल्म निर्माण भएको तीन वर्ष भइसक्दा पनि प्रदर्शन हुन सकेको छैन । अब सविन आफैं फिल्म निर्माण गर्ने सोचमा छैनन् । एकै खालको भूमिकाबाट आजित भएका उनले नयाँ फिल्ममा भिन्न भूमिकामा काम गर्न इच्छा व्यक्त गरेका छन् । उनी अभिनीत नयाँ फिल्म ‘लक्का जवान’ प्रदर्शनको पखाईमा छ ।

तपाईको प्रतिक्रिया