अर्थमन्त्री विष्णु पौडेलले नागरिकको कोभिड–१९ को अवस्थालाई विश्लेषण गरी रोजगारी सिर्जना र उत्पादन वृद्धिमा केन्द्रित हुने बताएका छन् । जीवन र जीविका रक्षा सरकारको प्राथमिकता रहेको बताउँदै उनले कोभिडकै प्रभावको बीचमा उत्पादन बढाउदै रोजगारी सिर्जना गर्नुपर्ने र अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने आवश्यकता रहेको बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)का प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पौडेलले कोभिडका कारण रोजगारी, उत्पादन गम्भीर रूपमा प्रभावित हुँदा अर्थतन्त्रमा संकुचन आएको उल्लेख गर्दै हिजोका नीति कार्यान्वयन गर्दै आवश्यक परेको खण्डमा नयाँ नीति बनाएर अघि बढ्ने बताए । “कोभिडको असर कहिलेसम्म रहन्छ भन्न सकिँदैन, यो विश्वको साझा समस्या हो,” उनले भने, “यही असरका बीचमा पनि नीतिका प्रबन्धबाट उत्पादन वृद्धि गर्दै रोजगारी सिर्जना गरेर अर्थतन्त्रलाई गतिशिल बनाउन सरकार प्रतिबद्ध छ ।”

तत्काल र दीर्घकालीन रूपमा अर्थतन्त्रलाई गतिशिल र चलायनमान बनाउन चाल्नुपर्ने कदमबारे भेटमा सेजनको तर्फबाट अध्यक्ष भीम गौतमले सुझावपत्र प्रस्तुत गरेका थिए । चालू आर्थिक बर्षको बजेट निर्माण गर्दा कोरोना महामारी लामो समयसम्म नरहने आंकलनसहित बजेट प्रस्तुत गरिएकोमा हालसम्म पनि कायम रहेको र कहिलेसम्म असर रहिरहने हो भन्ने यसै भन्न नसकिने स्थितिमा चालू वर्षको बजेटलाई संशोधन गरेर पूरक बजेट ल्याउनुपर्ने आवश्यकता देखिएको भन्दै सुझावमा सेजनले कोभिडबाट थलिएका प्रत्येक क्षेत्रहरूको सुक्ष्म अध्ययन गरी यसका पुनरउत्थानका लागि विशेष राहत प्याकेज ल्यनउन भनेको छ ।सुझावमा कृषि, पर्यटन, जलविद्युत÷ऊर्जा, निर्माण÷पूर्वाधार, बैकिङ ÷सहकारी, लगानी (स्वदेशी तथा विदेशी), श्रम ÷रोजगार, यातायात, मिडियाका साथै निजी क्षेत्रलाई केन्द्रित गरी तत्काल राहत कार्यक्रम ल्याउन, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्न, स्रोत व्यवस्थापनलाई दृष्टिगत गरी अनावश्यक खर्च कटौती गर्न तथा स्रोतको अभाव भएको बेला थप स्रोत व्यवस्थापनका लागि कदम चाल्न सुझाव दिइएको छ ।

निजी क्षेत्र, प्रतिपक्ष दलहरू, नागरिक समाज, प्राज्ञिक क्षेत्र लगायत अर्थतन्त्रसँग सम्बन्धित सबै सरोकारावालाहरूसँग सहकार्य गर्दै बढ्न समेत सेजनले सुझाव दिएका सेजनले अर्थतन्त्रका सबै क्षेत्रको सुक्ष्म अध्ययन गरी दीर्घकालीन नीतिगत सुधार र योजना ल्याउन भनेको छ । सेजनले आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि कदम चाल्न पनि सुझाव दिएको छ ।

तपाईको प्रतिक्रिया