लामो समयदेखि चलचित्र पत्रकारितामा आबद्ध गोकर्ण गौतमको बिहीवार निधन भएको छ । मष्तिष्कको नशामा समस्या आएपछि उनी सोमबार बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल) मा भर्ना भएका थिए । स्वास्थ्य अवस्था गम्भीर भएपछि ३१ वर्षिय गौतमको बिहीवार शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियाको क्रममा रक्तश्राव भइ उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । गत वर्षदेखि कान्तिपुर दैनिकमा कला, साहित्य सम्बन्धी कलम चलाउँदै आएका उनी यसअघि नेपाल साप्ताहिकमा कार्यरत थिए । उनी गहन ढंगले फिल्म समीक्षा गर्ने पत्रकारको रुपमा परिचित थिए । नयाँ फिल्म प्रदर्शनमा आउँदा उनको समीक्षाको फिल्मकर्मी र पाठकलाई प्रतिक्षा रहन्थ्यो ।

गत वर्ष बैबाहिक जीवनमा बाँधिएका गौतमको बिहीवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । करिश्मा मानन्धर, केकी अधिकारी, प्रदीप भट्टराई, मनोज गजुरेल, निश्चल बस्नेत, रमेश उप्रेतीलगायतका फिल्मकर्मीहरुले गौतमको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले पछिल्लो पटक कान्तिपुर दैनिकका लागि बलिउड फिल्म ‘मिर्जापुर २’ को समीक्षा लेखेका थिए ।

तपाईको प्रतिक्रिया